सन्धिखर्कका सडक कालोपत्रे
अर्घाखाँची– जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका अन्तर्गत पर्ने बजार क्षेत्रभित्रका मुख्य सडकमा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । नगरपालिकाको आन्तरिक स्रोत व्यवस्थापनमार्फत् नगर क्षेत्र बजारभित्रको झण्डै चार किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने कार्य सुरु भएको हो । नगरभित्रका बजारको मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रे गरी सन्धिखर्क बजारलाई सफा सुन्दर हराभरा बनाउने अभियानअन्तर्गत सडकलाई स्तरोन्नति गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
नगरको मुख्यबजार क्षेत्र सन्धिखर्क नगरपालिकाको सरकारी कार्यालय क्षेत्र जिल्ला प्रशासन कार्यालयदेखि सन्धिखर्क शान्ति बगैंचा, टुँडिखेल लाइन, बैंक रोड, मिडिया चोक, गुन्टेखोला, हललाइन, पेट्रोल पम्प लाइन हुँदै चुत्राबेसी भगवती मन्दिर टोल, मसाल बजार भक्तिटोला मान्द्रेबजार चुत्राबेसी घोचेखोलासम्मका भित्री तथा बाहिरी सडक कालोपत्रे गर्ने काम यसै आर्थिक वर्ष सम्पन्न गर्ने गरी कालोपत्रेको कामलाई तीव्रता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।
बजार क्षेत्रका मुख्य सडक बिग्रिएका, खाल्डाखुल्डी परेका, पोल रहेका सडक, घरधनीले पेटि प्रयोग गरेका ठाउँलाई हटाएर न्यूनतम पुरानो सडकको मापदण्ड अनुसार मुख्य सडक चौडा पारेर कालोपत्रे गरिने छ । सन्धिखर्क नगरपालिकाले नगरपालिकाको आन्तरिक बजेट व्यवस्थापनबाट झण्डै ६ करोडमा ठेक्का लगाएको नगरपालिकाका योजना अधिकृत दिलिप केसीले जानकारी दिए ।
सन्धिखर्कको मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयबासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे गर्ने काम अगाडि बढेसँगै बजारको सौन्दर्यता पनि राम्रो हुने वडाध्यक्ष माधव श्रेष्ठले बताए । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम मापदण्ड अनुसार सडक विस्तारमा नगरपालिका अहिले अगाडि बढेको छ ।
पहिलो चरणमा सन्धिखर्कको मुख्य बजार क्षेत्र कालोपत्रे गरेपछि सन्धिखर्कबाट विभिन्न ठाउँमा जोड्ने वडा जोड्ने राजमार्ग सहायक मार्ग जोड्ने सडकमा रहेका खालडाखुल्डी पुर्ने कालोपत्रे गर्ने काम सुरु गर्ने नगरपालिकाले जनाएको छ । शाखा सडक यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ ।
तर केही पक्की घर पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन सकेको छैन । अहिले खनाल ब्रदर्स अर्घाखाँचीले कालोपत्रेको काम गरिरहेको छ । खनाल बदर्सका सञ्चालक कविराम खनालका अनुसार नगरपालिकाले ठेक्का कबोल अनुसारको रकम भुक्तानी दिनसके मंसिरभरि सन्धिखर्क बजारको कालोपत्रेको काम सकिने छ ।