सिद्धार्थ केबलकारले आईपीओ र हकप्रद सेयर निश्कासन गर्ने
बुटवल– सिद्धार्थ केबलकार लिमिटेडले आईपीओ र हकप्रद शेयर निस्कासनको तयारी गरेको छ । त्यसका लागि कम्पनीले यही मंसिर १४ गते विशेष साधारणसभा आह्वान गरेको छ । गएको कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निश्कासन, प्रबन्धपत्रमा केही नियमावलीका केही बुँदामा संशोधन लगायतका विषयमा निर्णय लिनका लागि विशेष साधारणसभा आह्वान गरेको हो ।
सिद्धार्थ केबलकार लिमिटेडले कम्पनीको शेयरधनीलाई एक सेयर बराबर १.१२५ को अनुपातमा हकप्रद सेयर निश्कासनको तयारी गरेको छ । हकप्रद सेयर निश्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २७ करोड ५० लाख पुग्ने छ । यो कम्पनीलाई १५० करोडको बनाइँदै छ । बाँकी २२ करोड ५० लाख रुपैयाँका लागि प्रचलित कानुनअनुसार सार्वजनिक सेयर (आईपीओ) निस्कासन गरिने कम्पनीका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताए ।
बुटवल उपमहानगरपालिका–१ बाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केबलकारको बटम स्टेसन र टप स्टेसनमा पूर्वाधार निर्माण भइरहेको छ । बुटवल मास्थिरको नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउने गरी काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इन्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी दिए ।
निर्माणकै क्रममा रहेको यो केबलकार गएको दसैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७५ हजारभन्दा बढी पर्यटकले केबलकारको यात्रागरी नुवाकोट अवलोकन गरेका छन् । यो केवलकारको दुरी दुई किलोमिटरको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा आठजना यात्रु क्षमता रहेको छ । बटम स्टेसनबाट टप स्टेसनमा पुग्न नौ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुनेगरी केबलकारको एकतर्फी र दुईतर्फी भाडा निर्धारण गरेको छ । जसमा एकजनाको दुईतर्फी भाडा शुल्क सात सय रुपैंयाँ र एकतर्फी चार सय रुपैंयाँ निर्धारण गरिएको छ । २०८१ चैत मसान्तसम्म विशेष छुटसहित ३५० रुपैंयाँमा दुईतर्फी यात्रा गर्न सकिने छ ।
त्यसैगरी नेपालबाहेक सार्क राष्ट्रबाट आएका पर्यटकका लागि एक हजार रुपैयाँ र अन्य देशबाट आएका पर्यटकका लागि १५ डलर लाग्ने छ । त्यसमा पनि सार्क राष्ट्रकालाई यो अवधिका लागि एक जना पर्यटकको दुईतर्फी भाडा ५५० रुपैंया र सार्कबाहेकका राष्ट्रबाट आएका पर्यटकका लागि सात डलर कायम गरिएको कम्पनीले जनाएको छ ।