Logo

कुश्मामा सुविधा सम्पन्न बसपार्क सञ्चालनको तयारी

पर्वत– निर्माण सम्पन्न भएको पाँच महिनापछि पर्वत सदरमुकाम कुश्मामा बनेको सुविधा सम्पन्न बसपार्क सञ्चालनको तयारी भएको छ । सडकमार्ग खुलेको ३३ वर्षपछि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले निर्माण गरेको बसपार्क एक कार्यक्रमको आयोजना गरी कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेसँगै सञ्चालनको तयारी गरिएको हो ।

आयोजना प्रमुख कृष्णकुमार महर्जनले कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीलाई भवनका सबै कागजात र चाबी हस्तान्तण गरेका हुन् । गत असार महिनामै निर्माण सम्पन्न भए पनि हस्तान्तरण प्रकृया लम्बिँदा सञ्चालनमा आउन ढिलाइ भएको थियो । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं. २०७९ साल कात्तिक १६ गतेदेखि बसपार्क निर्माण थालिएकोमा विसं. २०८१ असार १५ गते सम्पन्न भएको थियो ।

सात करोड १० लाख रुपैयाँमा सम्पन्न गर्ने गरी विजय राङखोला सिद्धबाबा जेभी कम्पनीले निर्माणको जिम्मा लिएकोमा सम्पन्न भइसकेपछिको अन्तिम भुक्तानी अनुसार ६ करोड ६६ लाख रुपैयाँमात्र खर्च भएको छ । कुश्मा नगरपालिकाको आवश्यक तयारी नहुँदा भवन हस्तान्तरण प्रकृया लम्बिएको आयोजना कार्यालयका इन्जिनियर योगेन्द्र बस्ताकोटीले जानकारी दिए ।

इन्जिनियर बस्ताकोटीका अनुसार बसपार्क करिब १२ रोपनीमा फैलिएको छ । बसपार्कभित्र टर्मिनल भवन, यात्रु कक्ष र पसलका लागि सटर, टिकट काउण्टर, चमेना गृह, साना सवारीलाई अलग्गै र ठूला सवारीलाई अलग्गै पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल लगायतका संरचना निर्माण गरिएको छ । बसपार्कमा एकैपटक दर्जनौ ठूला तथा साना सवारीसाधन पार्किङ गर्न मिल्नुका साथै यात्रुहरू उकाल्न र ओराल्न मिल्ने बस्ताकोटीले बताए ।

११ महिनाको निर्माण अवधि रहेको भए पनि विभिन्न बाधा अवरोधका कारण नौ महिना ढिलोगरी बसपार्क सम्पन्न भएको हो । समयमै पर्याप्त बजेट निकासा नहुँदा पनि केही ढिलाइ भएको सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले जनाएको छ । निर्माण सम्पन्न भएको बसपार्क ग्रहण गर्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिकाको बैठबाट बसपार्क सञ्चालनसम्बन्धी नीति बनाएर तत्काल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए ।

उनले टेण्डर प्रकृयामार्फत् यातायात सञ्चालन समितिलाई जिम्मेवारी दिनेगरी नगरले नीति बनाउन लागेको बताउँदै अब केही हप्तामै नियमित सञ्चालनमा ल्याउने जानकारी दिए । उनले बसपार्क अभावले कुश्माबजार र मध्यपहाडी लोकमार्गमा हुने सवारी साधनको समस्या अब समाधान हुने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले बसपार्क जति छिटो सञ्चालनमा ल्याउन सकियो त्यति नै छिटो ट्राफिक समस्या हल हुने बताए ।

ओझाका अनुसार पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभित्ता लगायतका सहरमा सार्वजनिक सवारीसाधन छुट्ने गर्छन् भने दैनिक हजाराैंको संख्यामा सवारी साधनहरु बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् । तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन असुरक्षित ढंगले सडकमै पार्किङ गर्नुपरेको छ । बसपार्क सञ्चालनमा आएपछि सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थित रूपमा सवारीसाधन राख्नुपर्ने र अन्य खालका दुर्घटनाका जोखिम न्यूनीकरण हुने ट्राफिक प्रमुख ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्