परम्परागत शैलीको ठाउँमा कंक्रिटको बनाइयो खष संग्रहालय
जुम्ला– खष भाषा, साहित्य र परम्परा झल्किने संरचना निर्माण गर्ने लक्ष्यसहित जुम्लाको सिञ्जा गाउँपालिका–२ बिष्टबाडा गाउँमा ‘सिंजा खष संग्रहालय’ शिलान्यास गरी निर्माण थालियो । २०७६ असार ६ गते शिलान्यास गरिएको खष संग्रहालय जुम्लाको परम्परागत घर रातो–सेतो कमेरोले पोतेको, माटोको छानो भएको, ढुंगामाटोको प्रयोग गरिएको बन्ने अपेक्षा थियो ।
सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने, जुम्लाको पहिचान झल्काउने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय बनाउन थालिए पनि उद्देश्यविपरीत कंक्रिट संचरनामात्रै बनेका छन् । निर्माण थालनी भएको ६ वर्षमा वर्षेनि संघ र प्रदेश सरकारले विनियोजन गरेको लाखौं बजेट गलत संरचना निर्माणमा खर्च भइरहेको छ । नाम संग्रहालय भए पनि संरचना सबै आधुनिक बनेका छन् । चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको संग्रहालयमा हालसम्म छड र सिमेन्ट प्रयोग गरिएको पक्की पर्खाल, जस्तापाताले छाएका दुईवटा पक्की भवन र ढलान गरिएको एउटा भवन निर्माण गरिएको छ । झट्ट हेर्दा कुनै पनि दृष्टिले यो संग्रहालय जस्तो देखिँदैन ।
पर्यटकले खष संग्रहालय घुम्न आउँदा परम्परागत भन्दा आधुनिक घरमात्रै देख्ने स्थिति छ । सभ्यता जोगाउने भन्दा मेटाउने कार्यलाई सरकारी पक्षले नै प्रश्रय दिएको देखिन्छ । कर्णाली प्रदेश सरकार र भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा संग्रहालय निर्माण हुन थालेको हो । २०७६ सालमै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख सहयोगमा खष संग्रहालय बनाउने काम सुरु भएको थियो । पछिल्ला वर्षमा सिञ्जा गाउँपालिकाले पनि लगानी गरिरहेको छ । २०७६ सालमा संघीय सरकारबाट विनियोजन भएको ५० लाखमध्ये २० लाख डीपीआरमा खर्च भयो । बचेको ३० लाखमा ४ हजार वर्गमिटर क्षेत्रमा पक्की पर्खाल निर्माण गरिएको छ । गाउँपालिकाको २५ लाख लगानीमा पुस्तकालय भवन निर्माण गरिएको छ । उपभोक्ता समितिकन सचिव महेन्द्रराज तिवारीले पुस्तकालय भवन निर्माणमा २५ लाख विनियोजन भएकोमा खर्च २८ लाख भएको र ३ लाख घाटा भएको बताए ।
गाउँपालिकाकै आठ लाख लगानीमा स्थानीय परम्परागत भवन निर्माण गरिएको छ । उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । साथै ५१ लाख लगानीमा संग्रहालय भवन निर्माण गरिएको छ । कर्णाली सरकारको १० लाख र सिञ्जा गाउँपालिकाको ४१ लाख लागतमा निर्माण गरिएको उपभोक्ता समिति सचिव तिवारीले उल्लेख गरे । हालसम्म विभिन्न संरचना निर्माणका लागि तीनै तहका सरकारको एक करोड ३४ लाखभन्दा बढी बजेट खर्च भइसकेको छ । खष संग्रहालयका नाममा पक्की भवन बन्नु गलत भएको भन्दै तिवारीलगायत केही स्थानीयले सुरुवातदेखि नै आलोचना गर्दै आएका थिए । तर, संघ र प्रदेशबाट आउने बजेट र स्टमेटले नै कंक्रिट संरचना बनेका छन् ।
‘आएको बजेट फिर्ता पठाउनुभन्दा बाध्य भएर कंक्रिट संरचना बनाएका छौं । सुरूदेखि नै संग्रहालयका लागि कंक्रिट संरचना नबनाउँ भनेको हो । तर, हाम्रो भनाइको सुनुवाइ भएन । अहिले हेर्दा पक्की भवनमात्रै देखिन्छ । यहाँका जान्नेसुन्ने व्यक्तिहरु नै चुप लागेपछि बजेट खर्च गर्नका लागिमात्रै संचरना बनाएजस्तो देखियो,’ सचिव तिवारीले भने ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय अभिलेखालयमा जुम्लाका ३३ वटा सम्पदा सूचीकृत छन् । ती सम्पदा झल्किने गरी संचरना बन्नुपर्नेमा हचुवाका भरमा संग्रहालय निर्माण भइरहेको स्पष्ट हुन्छ । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने गाउँपालिकाको लगानीमा कुनै कंक्रिट संरचना निर्माण नभएको दाबी गरे । ‘पालिकाको लगानीबाट स्थानीय सामग्री प्रयोग भएको परम्परागत घर निर्माण गरेका छौं । त्यहाँ बनेका पक्की संचरना संघ र प्रदेशको लगानीमा निर्माण भएका हुन् । उनीहरुको बजेटमै पक्की संचरना बनाउने स्टमेट थियो होला । तर, पालिकाले परम्परागत संरचना नै बनाएको छ । आगामी वैशाखबाट संग्रहालय सञ्चालनमा ल्याउने तयारी छ,’ उनले भने । जसको लगानीमा भए पनि संग्रहालयमा कंक्रिट संरचना बनाइनु उपयुक्त नभएको उनले बताए ।
‘सुरुमा चर्को आलोचना पनि भएन । आएको बजेट फिर्ता नपठाउने मनसायले स्टमेटनुसारकै संरचना बनाइयो । अब सबै संरचनालाई स्थानीयकरण गर्न खष सभ्यता झल्किने गरी रंगरोगन तथा भित्री बाहिरी व्यवस्थापन गर्छौं,’ उनले भने । संग्रहालय निर्माणका लागि बिष्टबाडाका स्थानीय गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारी मिलेर घरनजिकको जिउलो चार हजार वर्गमिटर जमिन दानमा दिएका छन् ।
सिञ्जा क्षेत्रको शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत ढुंगाले कुँदिएका विभिन्न आकृति छन् । संरक्षण नहुँदा यी सम्पदा बेवारिसे अवस्थामा छन् । तत्कालीन सिञ्जाबाट जारी ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेका छन् । संग्रहालय निर्माण गर्न लागिएको बिष्टबाडामा १२ देखि १५ औं शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख छन् ।