सेयर बजार अझै बढ्ने लयमा छ
तिहारपछि सेयर बजारमा माहोल आउने धेरैको विश्लेषण छ । विगतमा कायम भएको ३२ सय विन्दुको रेकर्ड अब ब्रेक हुने लगानीकर्ताको अपेक्षा छ । ब्याजदर घटिरहँदा सेयर धितो कर्जा लिने क्रम पनि बढ्दै गएको छ । समग्रमा सेयर बजारको विकासका लागि सहज परिस्थिति सिर्जना भइरहेको लगानीकर्ताको बुझाइ छ ।
विगतमा राज्य नै लागेर सेयर बजारको विकास गर्ने बताइरहेको सन्दर्भ, सेयर बजारको अहिलेको अवस्था तथा अबको बाटोलगायत विषयमा नासा सेक्युरिटिज्का प्रबन्ध सञ्चालक एवम् स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मदन पौड्यालसँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश:
सेयर बजारको अहिलेको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
विगतमा पनि चाडपर्वको समयमा सेयर बजार सुस्त हुने गरेको थियो । अहिले पनि त्यही अवस्था रह्यो । बजार घट्यो नै । सँगसँगै त्रैमासिकको अन्त्य हुँदै गर्दाको असर पनि बजारमा देखियो । यी दुवै असर सकिएपछि लगानीकर्ता सक्रिय हुन थालेका छन् । साथै उनीहरूको मानसिकता पनि अब बजार बढ्छ भन्ने अवस्थामा देखिन्छ । अहिले बजार बढ्न पनि थालिसकेको छ । अब बजार बढ्दो क्रममा जान्छ भन्ने लाग्छ ।
अहिलेकै अवस्थामा सेयर बजार बढ्ने कारण के के छन् ?
अहिले बैंकिङ प्रणालीमा तरलता एकदमै फालाफाल भइरहेको अवस्था छ । साथै विगतको इतिहास हेर्दा मंसिरदेखि सेयर बजार बढ्ने मौसम पनि हो । यतिखेर चाडपर्व सकिसकेको र त्रैमास अन्त्यको चाप सकिसकेको अवस्था हुन्छ । त्यसले लगानीकर्तालाई सहज बनाउँछ । यस्तै मौद्रिक नीतिको समीक्षा पनि यही समयमा आउने भएकाले अहिले लगानीकर्ता सकारात्मक छन् । राष्ट्र बैंकले व्यक्तिगत कर्जामा १५ करोड रुपैयाँको सीमा लगाइरहेको अहिलेको अवस्थामा त्यो हट्छ वा सहज हुन्छ भन्ने बुझाई लगानीकर्ताको छ । यसले पनि सेयर बजार बढ्न भूमिका खेल्दछ ।
मौद्रिक नीतिको पहिलो समीक्षा आउँदैछ । धेरै हदसम्म सेयर बजारलाई असर गर्ने नीतिमा लचकता राष्ट्र बैंकले अपनाइसकेको छ । अब बाँकी दुईवटा मात्रै छन् । यसमा पनि लचकता चाहियो भन्नु कत्तिको जायज हो ?
बजारमा कुनै पनि नीति एकैपटक खुकुलो बनाउँदा त्यसले नकारात्मक असर पर्छ । त्यसकारण केन्द्रीय बैंकले विभिन्न चरणमा नीति परिमार्जन गर्दै गइरहेको छ । सुरूमा ४–१२ करोडको नीति संशोधन गर्दै ४ हटाइएको थियो । त्यसपछि १२ करोडलाई १५ करोडमा व्यक्तिगत कर्जाका लागि भनेर लगियो । अब विस्तारै आफ्नो अनुकूल बढाउँदै लैजाने कुरा होला । अहिले त्यो सीमा लगाउन हुँदैन भन्ने लगानीकर्ताको माग भइररहँदा लचक नीति आउँछ कि भन्ने अपेक्षा रहेको देखिन्छ ।
घटेको भए हुन्थ्यो भन्ने हो कि यहाँको चाहना के हो ?
बजारको हामी एक सहभागी नै हो । हामीलाई बजार घटेर लगानीकर्ता दु:खी भएको हेर्न मन कहिल्यै लाग्दैन । त्यसकारण बजार मौन गतिमा आफ्नै लयमा अगाडि बढोस् भन्ने हाम्रो चाहाना हो । बजार घट्दा लगानीकर्ता खुसी हुँदैनन् र अर्थतन्त्र पनि चलायमान हुँदैन । बजार घट्दा लगानी गर्ने मान्छे आउँदैनन् । लगानीकर्ता बढाएर बढीभन्दा बढी पुँजी ल्याउनका लागि बजार बढ्नु नै पर्छ ।
नयाँ सरकार आएपछि उलटपुलट भएर ३२ सयको बिन्दु तोडेर अगाडि बढ्छ भन्ने अपेक्षा थियो । त्यसो देखिएन । तपाईंले यसलाई कसरी लिनुभयो ?
बजारले अलि स्थायित्व खोज्ने रहेछ । भारतको उदाहरण लिने हो भने २१ हजारको बजार बढेर ७८ हजार आसपास पुगेको थियो । नरेन्द्र मोेदी सरकार आइसकेपछि जुन राजनीतिक स्थिरता आयो, त्यो स्थिरताले पनि बजार बढेको जस्तो लाग्छ । अब नेपालमा त्यसलाई जोडेर हेर्दा अर्थमन्त्रीमा वर्षमान पुन आउनुभयो, उहाँले अध्ययन समिति बनाउनुभयो । विभिन्न समितिको सुझाव माग्नुभयो । त्यो सुझाव माग्नेमा मात्रै सीमित भयो, कार्यान्वयन गर्नेतिर उहाँले चासो देखाउनु भएन । त्यसपछि अर्थमन्त्रीमा विष्णु पौडेल आउनुभयो ।
पौडेल आइसकेपछि उहाँको पुरानो रेकर्डले गर्दा ३२ सय बिन्दुमा पुगेको थियो । त्यसै कारण अहिलेको २१ सयको बिन्दुलाई बढाएर तीन हजार बिन्दुमा पुगेको हो । तर उहाँले गरेको त केही छैन अहिले पनि । तर पनि उहाँले चाहनुभयो भने त धेरै कुरा गर्न सक्नुहुन्छ । अब तीन हजार विन्दुबाट बजार घटेर तल किन आयो भन्नुहुन्छ भने उहाँको पुरानो रेकर्डले बजार बढेर तीन हजार पुगेको हो । अनि उहाँ कुर्सीमा बसिसकेपछि लगानीकर्ताले जे अपेक्षा गरेका थिए, त्यो नपाएपछि निराश भएका हुन् । यहाँ पनि स्थिरता कै कुरा आउँछ । जे सोचिएको थियो त्यो भएन ।
अर्थमन्त्री पौडेलले नेप्सेको कार्यालय भ्रमण गर्नुभयो । लगानीकर्ता र यहाँले कसरी हेर्नुभयो ?
यो उहाँले पुँजीबजारप्रति देखाउनुभएको सकारात्मक चासो हो । यसलाई लगानीकर्ताले सकारात्मक रूपमै लिएका छन् । सेयर बजारप्रति उहाँहरूले देखाएको चासो चासोमा मात्रै सीमित हुँदा लगानीकर्ता अलि निरुत्साहित भएको जस्तो लाग्छ । नेपालको सेयर बजारमा अहिले केवल सेयर किन्ने बेच्नेमात्रै भएको छ । यसका लागि विभिन्न उपकरण ल्याउनतर्फ ध्यान दिएको देखिँदैन । हामीलाई पनि बिहान, दिउँसो, साँझ एउटै कुरा खाँदा मात्रै वाक्क भएजस्तै बजारमा पनि त्यस्तै हुन्छ । नयाँ नयाँ प्रडक्ट, अवसर ल्याएर लगानीकर्ता संलग्न गराइरहन सकियो भने मात्रै बजार दिगो हुन्छ । चासोले मात्रै केही हुँदैन ।
ब्रोकर र लगानीकर्ताका लागि नयाँ प्रडक्ट के हुन सक्छन् ?
ब्रोकरका लागि नयाँ प्रडक्ट भनेको मार्जिन लेन्डिङ हो । नेप्सेले मार्जिन लेन्डिङको लाइसेन्स दियो तर त्यो लाइसेन्स नवीकरण गरेर राख्न मै सीमित भएको छ । यति धेरै ब्रोकरले मार्जिन लेन्डिङको लाइसेन्स लिएका छन् । तर नासा सेक्युरिटिज्बाहेक अरु कम्पनीले एक रुपैयाँ पनि लगानी गरेका छैनन् । हामीले यो उपकरण असफल हुन लाग्यो भनेर सक्रिय बनाउन केही समय अघि करिब १०० जना लगानीकर्तालाई मार्जिन लेन्डिङ कर्जा दियौं । तर हाम्रो स्वपुँजीको दायराका कारण हामीले धेरै जनालाई पैसा दिन सकेनौं । यसमा रिफाइनान्सिङ सुविधा छैन । बैंकहरूबाट राम्रो साथ पाएनौं । हामीले कोष जुटाउन सकेनौं ।
सरकारले बजेटमा यति जना ब्रोकरलाई मार्जिन लेन्डिङको लाइसेन्स दियौं भनेर त लेख्यो । तर त्यसलाई सहयोग हुने कुनै पनि किसिमको काम हुन सकेन । यसमा सहयोग भयो भने ब्रोकरले समेत नयाँ प्रडक्ट पाउँछन् । यसबाहेक पोर्टफोलियोको सर्भिस दिन पाउने, कन्सल्टेन्सी सर्भिस दिन पाउने, डिलरसीपको काम गर्न पाउनेलगायतका प्रोडक्ट पनि छन् । तर लगानीकर्ताले किने पनि सेयर र नकिने पनि सेयर नै हुने अवस्था छ । त्यसमा सर्ट सेलिङ, इन्ट्रा डे ट्रेडिङलगायतका सुविधा दिन सकिन्थ्यो । यस्ता प्रोडक्ट बजारमा ल्याउँदै जाने हो भने लगानीकर्ताको चासो पनि बढ्ने र त्यसतर्फ आकर्षण पनि बढ्ने हुन्छ । जसले लगानी बढाउँछ ।
तिहारअघि र अहिले हेर्दा सेयर कारोबारको आकार बढ्दै गएको देखिन्छ । बजारमा संस्थागत लगानीकर्ताको प्रवेश बढ्दै गएको हो ?
चाडपर्व सकिएसँगै व्यक्तिगत लगानीकर्ताले पनि आफ्नो लगानी बढाउँदै लगेको देखिन्छ । त्यस्तै संस्थागत लगानीकर्ताले मुद्दति निक्षेपमा रकम राख्दा ३ प्रतिशत ब्याज पनि नपाउने अवस्था देखिन्छ । जसले सेयर बजारमा आकर्षण र लगानी दुवै बढाएको छ । तर अहिले ३ प्रतिशत ब्याजदरमा पनि लगानी गर्न कतिले पाइरहेका छैनन् ।
सेयर बजारमा केही समयमा ब्याजभन्दा बढी आम्दानी हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि कतिपय संस्थागत लगानीकर्ता तथा बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन लगानी गर्न खोजिरहेको अवस्था देखिँदैन । अहिले बैंक तथा वित्तीय संस्थाले किनेको सेयर एक वर्षभित्र बेच्न नपाउने नियमले यसमा अप्ठ्यारो भएको छ । यो व्यवस्था सच्चिए बजारमा संस्थागत लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाको लगानी अझै बढ्छ । यसले बजारको विकास हुन्छ ।
पछिल्लो समय सेयर धितो कर्जा प्रवाह बढेको बढ्यै छ । यो अवस्था कहिलेसम्म रहला ?
उदाहरणका लागि कुनै लगानीकर्ता एक करोड रुपैयाँ लिएर बजारमा प्रवेश गर्छ । अब उसलाई यति भए पुग्छ भन्ने हुँदैन । उसले लगानी बढाउँदै जान्छ । बजारको उतारचढाव अनुसार लगानी उसले घटबढ गर्दै गएको हुन्छ । बजारमा लागिसकेपछि यत्ति नै पुँजी ठिक हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन ।
अहिलेको सेयर बजार बढेर ६ हजार विन्दुसम्म पुग्ने विभिन्न अनुमान गरिएका थिए । अब कतिसम्म बढ्ला ? बजार बढ्ने श्रृंखला कस्तो देखिन्छ ?
पुरानो रेकर्ड हेर्ने हो भने ११ सय विन्दुमा रहेको बजार बढेर १८ सय विन्दुमा पुग्यो । १८ सय विन्दुबाट फेरि ३२ सय विन्दु पुग्यो । ३२ सय विन्दुबाट घटेर बजार १८ सय विन्दुमा आयो । त्यहाँबाट फेरि बढेर अहिले २४ सय हाराहारीमा छ । यो हेर्ने हो भने पुरानै रेकर्डको आधारमा ३२ सय विन्दुबाट माथि जानुपर्छ भन्ने देखिन्छ । सेयर बजारमा हेर्ने हो भने घट्ने र बढ्ने ट्रेण्डको साइकल चलिरहँदा सोही अनुसार बजार घटबढ हुन्छ । प्रत्येक तीन वर्षमा यो ट्रेण्ड बदलिन्छ । जसअनुसार बजार अहिले बढ्ने ट्रेण्डमा छ । त्यसकारण बजार बढ्छ, तर अंकमा कति पुग्छ भनेर भन्न सकिने अवस्था हुँदैन ।
नयाँ ब्रोकर आएपछि सेयर बजारमा धेरै नयाँ काम हुन्छन् भनिएको थियो । पुराना र नयाँ सेयर बजारको काम फरक छ कि कस्तो देखिन्छ ?
बजारमा नयाँ नयाँ कम्पनी आउनु राम्रो कुरा हो । उनीहरूले पनि नयाँ नयाँ अवधारणा ल्याएर नयाँ तरिकाले बजारमा लगानीकर्ता प्रवेश गराउने, शिक्षित बनाउने र लगानी बढाउने भन्ने सकारात्मक कुरा हो । त्यो आस हुँदै गर्दा नयाँ ब्रोकरले पनि ट्रेडिसनल पारामै कारोबारको आकार बढाउने जस्ता काममा मात्र सीमित भएको देखियो ।
तपाईंहरूको दुई वटा ब्रोकर संगठन एक हुने प्रक्रियामा गएको छ । यो परिस्थिति सिर्जना कसरी भयो ?
समस्या, चुनौती र विभिन्न अप्ठ्यारा दुवै संगठनका एकै हुन् । सबै एउटै भएपछि दुई भएर लाग्नुभन्दा एक भएमा झन् प्रभावकारी हुन्छ भन्ने हामी सबैको निष्कर्ष रह्यो । त्यसपछि दुवै संगठनलाई एउटै बनाएर अगाडि बढाउने भन्ने गरी विभिन्न चरणमा छलफल गरेर यसका लागि सम्झौता पनि भइसकेको छ । अब बाँकी सदस्यलाई पनि आबद्ध गराउने गरी संगठन अगाडि बढ्दै छ ।
ब्रोकरले भुक्तानीका लागि ढिलाइ गर्ने गरेको गुनासो आइरहन्छ । खास किन यस्तो गुनासो आउँछ ?
लगानीकर्ता दुई किसिमका हुन्छन् । कोही सेयर बजारमा नियमित कारोबार गरिरहेका हुन्छन् भने कोहीले आईपीओ मात्रै भर्छन् । नियमित कारोबार गर्नेको कारोबारका लागि आवश्यक बैंक खाता सक्रिय तथा अद्यावधिक नै हुन्छ, त्यसकारण उनीहरूलाई समस्या हुँदैन । तर आईपीओ मात्रै भर्ने कतिपय लगानीकर्ताको बैंक खाता अपडेट भएको पाइँदैन । कतिको केवाईसी अपडेट नभएको, खाता निष्क्रिय भएकोलगायत समस्या देखिन्छ ।
यस्तै कसैले रेमिट्यान्स खाता राख्नुभएको हुन्छ । त्यसले पनि समस्या सिर्जना गर्छ । यी सबै अवस्थामा ब्रोकरले पैसा पठाउन सक्दैन । ठूला आईपीओ सूचीकृत भएको समयमा धेरै गुनासो आउने गरेको छ । यसमा ब्रोकरको पनि सीमित स्रोतसाधन, धेरै लगानीकर्ताले एकैपटक फोन गर्दा फोन नउठ्नेलगायत समस्या सिर्जना भइरहेका हुन्छन् । त्यस्ता गुनासा सम्बोधन गर्न अहिले नासा सेकुरिटिज्मा जनशक्ति व्यवस्थापन, कल सेन्टर स्थापना, वेबसाइटमा च्याटबटलगायतका विकल्प अपनाइएको छ ।
केही ठूला ब्रोकरले ३२ सय विन्दुको उचाइलाई तोडेर प्रधानमन्त्रीद्वारा केक काट्ने हल्ला फिजाइएर सेयर बेचेर सानोलाई भिडाए भन्ने हल्ला रहेको छ । यसमा तपाईंको बुझाइ के छ ?
त्यसमा कसको हात छ भन्ने त ठ्याक्कै थाहा त हुँदैन । तर हामीले हेर्दा कुनै पनि लगानीकर्ता त्यसरी सेयर बेचेर बाहिरिएको अवस्था देखिएन । त्यसैले कसैले कसैलाई सेयर भिडाएर बाहिरिएको जस्तो मलाई लाग्दैन ।
बेलाबखत प्राविधिक विश्लेषकले सेयर बजारलाई बिगारे भन्ने आरोप लाग्ने गरेको छ । त्यस्तो हो र ?
म सेयर बजारमा लागेको करिब २० वर्ष भयो । १२/१५ वर्षअघि फण्डामेन्टल हेरेर लगानी गरिन्थ्यो, त्यतिखेर पनि बजार घटबढ हुन्थ्यो । त्यस्तै अहिले पनि बजार घटबढ भइरहेको छ, चाहे फण्डामेन्टल हेरियोस् वा प्राविधिक विश्लेषण । सबै मानिसले फण्डामेन्टल पनि हेर्दैनन् र सबैले प्राविधिक पनि । सबैले आ–आफ्नो चाहना, रुचीअनुसार हेर्ने हो । त्यसकारण प्राविधिक विश्लेषकले बजार बिगारे भन्ने आरोप मात्रै हो ।
अहिले १५० भन्दा बढी कम्पनीको प्राथमिक सेयर निष्काशन पाइपलाइनमा छ । यदि यो एकैपटक निष्काशन भयो भने हाम्रो संरचनाले धान्ला ?
संरचनाले नधान्ने भन्ने त हुँदैन । सेयर बजारले यतिवटा कम्पनीमात्रै कारोबार गराउन सक्छ भन्ने पनि हुँदैन । त्यसकारण अहिलेकै लगानीकर्ताले लगानी गर्ने र उनीहरूले नै कारोबार गर्ने भएकाले त्यस्तो समस्या हुँदैन ।
मौद्रिक नीतिको समीक्षामा अन्य कुनै अपेक्षा छ ?
व्यक्तिगत र संस्थागत लगानीकर्ताको क्याप खोल्ने विषय अहिलेको महत्त्वपूर्ण हो । यसमा क्याप लगाउनु उचित हुँदैन । आफूले जोखिम कति लिने भन्ने लगानीकर्ताले बुझेका हुन्छन् । आफूलाई आवश्यक पुँजी बैंकबाट ऋण लिएर लगानी गर्न सक्ने क्षमता भएका लगानीकर्ताले ल्याउन सक्ने वातावरण बनाउनु राम्रो हुन्छ । त्यसबाहेक बैंक तथा वित्तीय संस्थाले सेयरमा गरेको लगानी एक वर्षसम्म सेयर बेच्न नपाउने भन्ने छ, त्यसलाई सच्याएर अगाडि बढ्नुपर्छ । यी विषय मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्न सके सेयर बजारको विकासमा थप सहयोग पुग्छ । यस्तै ब्रोकरले लगानी गर्ने मार्जिन लेण्डिङ कर्जालाई बैंकले रिफाइनान्सिङ गर्ने किसिमको नीति आएमा बजारको विकास हुन्छ ।
ब्रोकरले लिने कमिशन तथा आश्वा शुल्क घटाउँदा लगानीकर्तालाई सहज त भएको छ । तपाईंहरूलाई कस्तो असर गरेको छ ?
नियामकले कमिशन घटाउँदै गर्दा तपाईंहरूलाई लगानीका नयाँ नयाँ बाटा दिन्छौं भन्ने गरेको छ । तर त्यो आश्वासन कहिले पनि पूरा भएको छैन । ठूला ब्रोकरलाई पनि गाह्रो परिरहेको अवस्था छ । झन साना ब्रोकरलाई त यसले सञ्चालन खर्च धान्नै नसक्ने अवस्था पनि सिर्जना भएको छ । कमिशन घटाउँदा बजार बढ्छ भन्ने मान्यता छ तर त्यो गलत हो । कमिशन घटाउँदैमा कसैले दोब्बर लगानी बढाउँछन् भन्ने हुँदैन । त्यसकारण कमिसन घट्नु र लगानी बढ्नुमा कुनै सम्बन्ध देखिँदैन । कमिसन बढाउनुपर्छ भन्ने हाम्रो सुझाव होइन । तर लगानीका अन्य नयाँ नयाँ बाटा नियामकले खोज्नुपर्छ ।
धितोपत्र बोर्डको अध्यक्षविहीन अवस्था भएको करिब एक वर्ष भयो । यसले कस्तो असर परेको छ ?
नियामक निकायको अध्यक्ष नहुँदा बजारमा आईपीओ रोकियो । यसभन्दा अगाडि राइट सेयर, बोनसलगायत रोकिएको थियो । नियामकको अध्यक्ष नहुनुले बजारमा धेरै असर गर्छ । बजार चलायमान बनाउनका लागि नियामकले भूमिका खेल्न सक्नुपर्छ । बजारको विकासका लागि अनुसन्धान गर्न, नियमन गर्न, नीति बनाउन र कार्यान्वयन गर्न पनि नियामकको नेतृत्व हुँदा सहज हुन्छ । त्यसकारण धितोपत्र बोर्डमा नेतृत्व चाँडो नियुक्त गर्नका लागि सरकारले तदारुकता देखाउनुपर्छ ।
अन्त्यमा, नेपालको सेयर बजार विकासका लागि कुन कुन पक्षले के के काम गर्नुपर्छ ?
सेयर बजारको सुधारका लागि नियामक, ब्रोकर तथा लगानीकर्ता सबै लाग्नु अहिलेको आवश्यकता हो । नियामकले लगानीका नयाँ बाटो खुलाउँदै जाने, ब्रोकरले नियामकले दिएको दायराभित्र बसेर लगानीकर्तालाई स्वस्फूर्त रूपमा छरितो सेवा दिने र लगानीकर्ताले पनि स्वनियममा बसेर कारोबार गर्नुपर्छ । विभिन्न फ्रडहरू आइरहेका छन्, त्यस्तोलाई सरकारले नियमन गर्नुपर्ने अहिलेको आवश्यकता हो । कुनै पनि हिसाबले बलियो नभएको कम्पनीको केही समूहले सेयर मूल्य बढाइरहेको अवस्था छ, त्यसलाई नीतिगत तहबाटै रोक्नुपर्ने हुन्छ ।