Logo

द्विपक्षीय व्यापार समस्या समाधान गर्न संघको सुझाव

काठमाडौं– नेपाल भारत उद्योग वाणिज्य संघले दुई देशबीचको वाणिज्यसम्बन्धी समाधाका उपायसहित भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रस्तावित राजदूत शर्मासँग अन्तरक्रिया गरी संघले समस्या समाधानका उपायसहित ध्यानाकर्षणसहितको दस्तावेज हस्तान्तरण गरेको हो । शर्माको अघिल्लो कार्यकालमा सकारात्मक पहलकदमी भए पनि द्विपक्षीय व्यापार क्षेत्रमा समस्या विद्यमान रहेको भन्दै संघले ध्यानाकर्षण गराएको हो । दोस्रो कार्यकालका लागि प्रस्तावित शर्माको संसदीय सुनुवाइ सकिए पनि नियुक्ति हुन बाँकी छ ।

कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले द्विपक्षीय समस्या समाधानका लागि प्रभावकारी प्रयास गर्न शर्मालाई आग्रह गरे । दुई देशबीचको व्यापार तथा पारबहनका क्षेत्रमा चुनौती रहेको अध्यक्ष केसीको भनाइ थियो । दुई देशबीचको भन्सार जाँचपास, दुई देशका भन्सारमा हार्मोनाइज्ड कोडको मिलान, भारतीय पोर्टहरुमा प्रस्तुत गर्नुपर्ने वस्तु आयातसम्बन्धी कागजात, कन्टेनरको अतिरिक्त शुल्कलगायतका समस्या रहेको संघले जनाएको छ ।

थप ड्रइपोर्ट तथा आइसीपीको निर्माण तथा सञ्चालनका लागि पहल, भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि सहजीकरण, कृषिजन्य नेपाली उत्पादको निकासीका लागि क्वारेन्टाइन चेकपोस्टको सहज व्यवस्थालगायतमा पहल गर्न पनि संघले प्रस्तावित राजदूत शर्मालाई आग्रह गरेको छ ।

संघले व्यापार प्रक्रिया सहजीकरणमा पनि ध्यानकर्षण गराएको छ । व्यापार प्रक्रिया सरल बनाउने र पारस्पारिक मान्यता सम्झौता कार्यान्वयन गर्नुपर्नेजस्ता विषय पहल गर्न पनि संघको आग्रह छ ।

छलफलमा प्रस्तावित राजदूत शर्माले संघले बिगतदेखि नै नेपाल–भारतबीच द्विपक्षीय वाणिज्य तथा आर्थिक सम्बन्ध प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए । संघले उपलब्ध गराएका सूझाव नेपाली प्रतिनिधिको रुपमा कार्यान्वयका लागि आफूले भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए ।

संघका निवर्तमान अध्यक्ष सिर्जना राणाले संघले वितरमा नेपालमा भारतीय पर्यटक प्रवर्द्धनका लागि प्रयास गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्