अन्तर्राष्ट्रिय उडान निरन्तरताका लागि निजी क्षेत्रको भूमिका आवश्यक
बुटवल– भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यसको निरन्तरताका लागि निजी क्षेत्रले भूमिका खेल्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । नेपाल टुर एन्ड ट्राभल एशोसिएन नाट्टा लुम्बिनीको १५औं साधारण सभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले अन्तर्राष्ट्रिय उडान निरन्तर हुनुपर्ने धारणा राखे ।
लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान अब रोकिन नहुने उल्लेख गरे । त्यसका लागि आवश्यक पूर्वाधार र पहल आवश्यक रहेको उनको भनाइ छ । गिरीले आफू मुख्यमन्त्री हुँदा पर्यटकीय विकासमा केन्द्रीत भएको भन्दै लुम्बिनीमा अलपत्र परेका विद्युतीय बस चलाउन पहल गरेपनि कार्यान्वयन हुन नसकेको जानकारी दिए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज आएपछि केही आशा जागेको उल्लेख गरे । उनले उडान निरन्तरताका लागि यात्रु आकर्षित गर्ने र पर्यटकीय गन्तव्यको प्रवर्द्धन आवश्यक रहेको बताए ।
कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले विमानस्थल चलाउन ट्राभल एजेन्टका साथै, होटल व्यवसायी, यातायात व्यवसायीलगायतले पनि भूमिका खेल्नुपर्ने बताइन् । नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले विमानस्थलमा यात्रु मैत्री पूर्वाधार तयार नभइसकेको उल्लेख गरे ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले काठमाडौं केन्द्रीत सोचाले नयाँ विमानस्थल सञ्चालन हुन गाह्रो भएको बताए । अधिवेशनले नाट्टा लुम्बिनीको नयाँ नेतृत्व चयन गर्दै छ ।