दोर्दीका ३ वडामा करिब पाँच सय घरमा धारा «

दोर्दीका ३ वडामा करिब पाँच सय घरमा धारा

लमजुङको दोर्दी गाउँपालिकाको विभिन्न वडामा गरी करिब पाँच सय घरमा धारा निर्माण भएको छ । स्थानीय गाउँपालिकाको समन्वय र विभिन्न गैरसकारी संस्थाको साझेदारीमा प्रत्येक घरमा धारा निर्माण भएको हो ।
गाउँपालिकाको एक घर एक धारा अभियान अन्तर्गत वडा नम्बर ४, ५ र ८ का चार सय ७८ घरमा खानेपानी धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ । बेलायत सरकार (यूकेएड)को सहयोग र डान चर्च एड (डीसीए)को साझेदारीमा जिल्लामा क्रियाशील गैरसरकारी संस्था महिला आपसी सहयोग केन्द्रले खानेपानी आयोजना निर्माण गरेको हो । विभिन्न गैरसरकारी निकायको सहयोगमा ६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न हुँदै गर्दा गाउँपालिकाले लिएको एकघर एकधारा अभियानमा ठूलो सहयोग पुगेको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । प्रत्येक घरसँगै प्रत्येक गाउँका विद्यालय, आमासमूह लगायतका सार्वजनिक स्थलमा छुट्टाछुट्टै धारा निर्माण भएको पनि अध्यक्ष गुरुङले बताए ।
अभियान अन्तर्गत दोर्दी–४, साविक नौथरका सिस्नेरी अन्तर्गत ३ टोलका ७९ घरधुरीमा प्रत्येक घरमा खानेपानी आयोजना निर्माण गरेको जनाएको छ । यस्तै दोर्दी वडा नम्बर ५ अन्तर्गत तीनवटा आयोजना निर्माण सम्पन्न भएका छन् । जसमध्ये पातलेमुल खानेपानी आयोजना अन्तर्गत ५३ घरधुरी लाभान्वित भएका छन् भने च्यार्बो खोला खानेपानी आयोजनाबाट ७४ घरधुरी लाभान्वित भएका छन् । यसैगरी वडा नम्बर ५ अन्तर्गतकै ल्यांङकोमूल खानेपानी आयोजनाबाट ६६ घरपरिवार लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै वडा नम्बर ८ अन्तर्गत दुईवटा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जसमध्ये हिलेबजार खानेपानी आयोजनाबाट एक सय आठ घरधुरी लाभान्वित भएका छन भने दुवार खानेपानी आयोजनाबाट ९८ घरधुरी लाभान्वित भएको अध्यक्ष गुरुङले बताए । करिब २० महिनाको अवधिमा निर्माण सम्पन्न भएका सबै आयोजनाका लागि एक करोड ३६ लाख ७२ हजार पाँच सय ३० रुपैयाँ लागत परेको संस्थाले जनाएको छ । जसमध्ये गाउँपालिकाको १४ लाख लगानी परेको छ भने स्थानीय समुदायले श्रमदानसहित ५४ लाख ७७ हजार, पाँच सय ९५ रुपैयाँ लगानी गरेका छन् । सो बाहेकको ६७ लाख ९४ हजार नौ सय ३४ रुपैयाँ डीसीए तथा महिला आपसी सहयोग केन्द्रको तर्फबाट लगानी भएको महिला आपसी सहयोग केन्द्र लमजुङका कार्यक्रम संयोजक योगेश घिमिरेले बताए ।
गैरसरकारी संस्थाको साझेदारीमा खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै विकट बस्तीमा धेरै सहज भएको गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए । विकास निर्माणको अभियानमा थप कार्यक्रम लिएर अझै सहकार्य गर्न सम्बन्धित संस्थालाई घलेले आग्रह गरे । निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीय सरकारलाई हस्तान्तरण भएको छ । विभिन्न सरोकारवाला निकायको समन्वय र साझेदारीमा निर्माण भएको खानेपानी आयोजना स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्