Logo

महिला उद्यम बजार सुरु

धनगढी– धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा शनिवारीय महिला उद्यम बजार सुरु भएको छ । महिला उद्यमीले उत्पादन गरेको सामग्रीको बिक्री प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महिला उद्यम बजार नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले उद्घाटन गरेका हुन् ।

बजारमा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तु तथा खानाका परिकारका ५६ वटा स्टल राखिएका छन् । नगर उपप्रमुख रानाका अनुसार उपमहानगरपालिकाको व्यवस्थापनमा हरेक शनिबार दिउँसो १ देखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुने छ । उनले महिला उद्यमीले उत्पादन गरेका वस्तु बिक्री गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले शनिबारीय बजार व्यवस्थापन गरिएको बताइन् ।

उपमहानगरपालिकाले रंगशालाबाट प्रदेश सभा जाने बाटो ब्लक गरी पार्क मोडमा टेण्टसहितका स्टल बनाएको छ । स्टलहरुमा उद्यमी महिलाले बनाएको अगरवत्ति, झोला, पोतो, चुरा, बेतबाँसका फर्निचर, दुना, पटरी, जुता, चप्पललगायत विभिन्न जातजातिका खानाका परिकार राखिएका छन् ।

नगरप्रमुख गोपाल हमालले अबदेखि हरेक शनिबार सो बजार लाग्ने बताए । उनले उपमहानगरपालिकाले विभिन्न किसिमका सीप तालिम दिँदा सहभागी हुने र काम पनि गर्ने तर बनाएको सामान बजारमा बिक्री नहुने समस्या समाधान गर्न शनिबारीय बजार व्यवस्थापन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्