Logo

गाडापारि गाउँमा बाटो न पानी समस्यामा स्थानीय

जुम्ला– तातोपानी गाउँपालिका–७ स्थित गाडापारी गाउँका स्थानीय वर्षाैंदेखि खानेपानी र बाटोको अभाव झेल्दै आएका छन् । भौगोलिक रूपमा विकट उक्त गाउँमा अहिलेसम्म गोरेटो बाटोसमेत पुग्न सकेको छैन भने पानीको अभाव झेल्न थालेको दशकौं भइसकेको छ । करिब ४० देखि ५० घरधुरी रहेको गाउँमा एउटै धारो छ । त्यो पनि लाइनमा बस्नु पर्ने, कहिले धारो सुकेर रित्तै घर फर्किनु पर्ने बाध्यता छ ।

गाउँभन्दा केही दूरी टाढा पानीको स्रोत भए पनि हालसम्म खानेपानी निर्माणका लागि कतैबाट सहयोग नपाउँदा पानीका अभाव ज्यूँका त्यूँ रहेको तातोपानी–७ का स्थानीय नरबहादुर रावत बताउँछन् । तातोपानी गाउँपालिकामा नन्दप्रसाद चौलागाईं अध्यक्ष नेतृत्वको टिम आएपछि भौगोलिक विकटतालाई मध्यनजर गर्दै गाडापारि गाउँमा कोपिला आधारभूत विद्यालय सञ्चालनको अनुमति पायौं ।

उनी भन्छन्, ‘अनुमति पाएर पालिकाकै लगानीमा विद्यालय भवन पनि बनेको छ । तर आधारभूत तहका साना बालबालिका पुल तरेर डेढ दुई घण्टाको उकालो चढेर विद्यालय पुग्छन् । भिरालो पाखोमा निकै जोखिमयुक्त बाटो छ । हिउँ पानी पर्दा चिप्लिने निकै डर हुन्छ । गोरेटो बाटोसम्म मात्रै बनेको भए सहज हुने थियो ।’

ठाडो उकालो र ओरालो गरेर बालबालिका मात्र विद्यालय आउजाउ गर्दैनन् । गाडापारिका स्थानीय घट्ट पिस्नदेखि दैनिक उपभोग्य सामान ल्याउँदा त्यही जोखिमयुक्त बाटोको प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय तुल रावतले बताए । उनका अनुसार गाउँसम्म गोरेटो बाटोे खानेपानी विकास भए स्थानीय सरकारको अनुभूति हुनेछ । आधारभूत आवश्यकताभित्र पर्ने खानेपानीबाट गाडापारि गाउँका स्थानीय वर्षाैंदेखि वञ्चित छन् ।

स्थानीय सरकारसमक्ष पटकपटक माग गरे पनि हुन्छ भन्ने तर हालसम्म काम नभएको स्थानीयको गुनासो छ । विद्यालय नै भएका ठाउँमा अहिलेका जनप्रतिनिधिले विद्यालय बनाइदिए यसमा आभारी छाैं । स्थानीय कालो रावतले भने, ‘तर उक्त विद्यालयमा पुग्न साँघुरो भिरालो पाखाको बाटोले बालबालिकाले ज्यान दाउमा राख्नुपर्ने स्थिति छ । पानी नहुँदाका दु:ख त भनी साध्य छैन । स्थानीय सरकारप्रति आशावादी छौं ।’

यसै वर्ष बाटो र पानी पुर्‍याउँछौ: अध्यक्ष
तातोपानी गाउँपालिकाले पालिकाको दुर्गम क्षेत्र वडा नं ७ र ८ भेरीखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरेर स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खानेपानी लगायतको विकासमा प्राथमिकता दिँदै आएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

भेरीखोलाको गाडापारि गाउँ दुर्गम गाउँ हो । ‘त्यहाँ बाटो र पानीको समस्या वर्षाैंदेखि रहेको जानकार छौं ।’ अध्यक्ष चौलागाईंले भने, ‘सुरुमा कक्षा २ सम्मको विद्यालय बनायाैं । शिक्षक पठायौं । अब पानी र बाटो बनाउनतर्फ जुटेका छौ । यसै वर्ष पानी र बाटो पुर्‍याउने लक्ष्यका साथ प्रक्रिया अघि बढेको छ ।’

पालिकाको १० लाख लगानीमा कोपिला आधारभूत विद्यालयको पक्की भवन निर्माण गरिएको हो भने अब प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ लाख बढी बजेट लगानीमा नदीछेउबाट गाडापारि पुग्ने बाटो निर्माण गरिने अध्यक्ष चौलागाईंले उल्लेख गरे । गाउँमा खानेपानी पुर्‍याउन पनि बजेट व्यवस्थापन भइसकेको छ । गाउँभन्दा ४/५ किमि टाढा पानीको स्रोत रहेको बुझिएको छ ।

उक्त पानीलाई गाउँमा पुर्‍याउन खानेपानी आयोजना निर्माण प्रक्रिया अघि बढाइने भएको छ । जुम्ला प्रदेश (क) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाहीको पहलमा प्रदेशबाट ३५ लाख बजेट प्राप्त भएको र सोही बजेटले गाडापारि गाउँमा खानेपानी आयोजना बनाइने तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले पालिकाले भेरीखोलालाई प्राथमिकता दिएर काम गरिरहेको बताए । तर स्रोत न्यून भएकाले नागरिकले अपेक्षा गरेजस्तो काम हुन सकेको छैन । आगामी दिनमा पनि आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण आयोजना अघि बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्