सबैभन्दा बढी कर तिर्ने बैंक नबिल
काठमाडौं– नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदातालाई सम्मान गर्दै आएकोमा नबिल बैंक बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रतर्फ यस पटक पनि सम्मान पाएसँगै आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो ।
यो वर्ष पनि आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । शनिबार आन्तरिक राजस्व विभागमा भएको कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बैंकलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थासहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्दै आएको छ । यस अघि आर्थिक वर्ष २०६७/०६८, २०७०/०७१, २०७१/०७२, २०७३/०७४, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।