बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ठेकेदारको आलटाल
सुर्खेत– दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको बड्डीचौर–खम्बागाडे सडकको सम्झौता अवधि गत असार २४ सकिएको छ । तर सम्झौताको पहिलो म्याद सकिँदासम्म सडक निर्माणको भौतिक प्रगति भने जम्मा १८ प्रतिशतमात्रै भएको छ । १३ किलोमिटर सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेत अनक जयदेवीबीच १४ असार २०७९ मा सम्झौता भएको थियो । निर्माण कम्पनीले जम्मा ४२ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
सम्झौता अवधि सकिएर अहिले आउँदो असारसम्मका लागि एक वर्ष समय थप गरिएको छ । निर्माण कम्पनीले भने अझै काम सुरु गर्ने सुरसार गरेको छैन । निर्माणमा ढिलाइ गरेपछि ठेकेदारको चौतर्फी आलोचना भइरहेको छ । निर्माण कार्य चाँडो सक्न दबाब स्वरुप स्थानीयले रुख रुखमा ठेकदारको फोटो टाँसेर खोजीसमेत गरेका थिए । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकमा पश्चिम सुर्खेतको बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकाका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
स्थानीय पञ्चपुरी नगरपालिकाका कृति थापाले पहिले सडक स्तरोन्नतिका लागि बजेट नहुँदा र अहिले निर्माण सम्पन्न नगर्दा झनै सास्ती खेप्नुपरेको दु:खेसो गरे । ‘यही बाटोमा हिँड्न लागेको ३० पैतिस वर्षसम्म पनि अवस्था उस्तै छ,’ मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा भेटिएका थापाले भने, ‘पहिले योजना नपरेर दु:ख थियो अहिले समयमा निर्माण सम्पन्न नगरेर झन दु:ख छ ।’ यात्राकै क्रममा धुलाम्मे अवस्थामा भेटिए पञ्चपुरीकै तिलकराम अधिकारी पनि दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडक ठेकेदारको चरम लापरबाहीका कारण यात्रा गर्न निकै सास्ती खेप्नुपरेको भन्दै अधिकारीले आक्रोश व्यक्त गरे ।
ठेकेदारले राजनीतिक शक्तिका आडमा ठेक्काको म्याद थप्ने तर काम नगर्ने गरेको उनको आरोप थियो । संघीय सरकारले मदन भण्डारी राजमार्गअन्तर्गत राखेको भए पनि स्तरोन्नतिको काममा ढिलाइ भएको भन्दै सोही मापदण्डबमोजिम निर्माण गर्नेगरी कर्णाली प्रदेश सरकारले बड्डीचौर–खम्बागाडेसम्मको सडकखण्डको ठेक्का लगाएको थियो । निर्माणको जिम्मा लिएका दिकपाल शाही हाल दैलेख निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य छन् ।
शाही सांसदमा निर्वाचित भएपछि भने कम्पनीको जिम्मेवारी उनका छोरा सन्देश शाहीले सम्हाल्दै आएका छन् । निर्माण कम्पनीले रुख कटान, जग्गा भोगाधिकार र सरकारी प्रक्रियामा ढिलासुस्तीका कारण नै काममा ढिलाइ भएको देखाउँदै आएको छ । बालुवा गिट्टी संकलनका लागि स्थानीय तहबाट उचित सहयोग नपाएको, रुख कटानको अनुमति नपाएका कारण काम गर्न नसकेको शाहीको भनाइ छ । ‘समयमै काम गर्न खोज्दा रुख कटानको आदेश आएको छैन स्थानीय तहबाट पनि बालुवा गिटी संकलनमा सहयोग भएन,’ शाहीले भने ।
यता स्थानीय तह भने आफूहरूबाट निर्माण कार्यका लागि आवश्यक सबै सहयोग भइरहेको बताउँछन् । रुख कटान बाँकी छोडेर अन्य ठाउँमा काम गर्न सकिने अवस्था भए पनि ठेकेदार कम्पनीले रुखलाई नै देखाएर ढिलासुस्ती गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले निर्माणमा स्थानीय तहबाट आवश्यक सबै सहयोग भइरहेको तर ठेकेदारले समयमै काम नगर्न विभिन्न बहाना बनाइरहेको बताउँछन् ।
आफूहरू सहजीकरण गर्न तयार रहेको तर निर्माण व्यवसाय फिल्डमा आएर काम सुरु गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए । रुख कटानको अनुमतिलाई देखाएर अल्झाउने काममात्रै गरेको उनको भनाइ छ । ‘रुखले मात्रै राकेको भए रुख नभएको ठाउँमा काम गर्नुहुन्थ्यो होला,’ उनले भने, ‘जहाँ रुख छैन त्यहाँ काम गर्नुस्भन्दा पनि काम गर्नुभएको छैन त्यसैले काम अल्झाउने नियत नै देखिन्छ ।’ यता चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक पनि निर्माण व्यवसायीकै बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको बताउँछन् ।
स्थानीयस्तरबाट हुने सहयोग गर्न आफूहरू तयार रहेको भन्दै काम सुरु गर्न निर्माण कम्पनीलाई अध्यक्ष विकले आग्रह गरे । आईईई प्रतिवेदनअनुसार उक्त सडक खण्डमा आठ सय रुख कटान गर्नुपर्नेछ । तर रुख कटान गर्नु नपर्ने करिब आधाभन्दा बढी क्षेत्रफलमा पनि काम नगरेको पूर्वाधार निर्देशनालयको भनाइ छ । सडक निर्माणमा भइरहेको ढिलाइबारे गत साउनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँंडेलले समेत सम्बन्धित कार्यालय निर्माण व्यवसायीलाई राखेर छलफल गरेका थिए ।
छलफलपछि पनि निर्माण व्यवसायीले काम सुरु गरेका छैनन् । थप गरिएको एक वर्षभित्रै निर्माण सम्पन्न गर्नेगरी काम गर्न बारम्बार ताकेता गरिरहेको पूर्वाधार निर्देशनालय सुर्खेतका प्रमुख इन्जिनियर सूर्यबहादुर शाहीले बताए । ‘कार्यालयको तर्फबाट हामीले आवश्यक पहल गरिरहेका छौँ हामीले जति पहल गरेका छाैं त्यो तहमा निर्माण व्यवसायीको सक्रियता देखिएको छैन,’ इन्जिनियर शाहीले भने, ‘अब थप गरिएको म्यादभित्रै निर्माण व्यवसायीले जसरी पनि काम सम्पन्न गर्नुपर्दछ ।’
उक्त खण्डमा खम्बागाडेदेखि पश्चिम भागमा मदन भण्डारी राजमार्ग आयोजनाले ठेक्का लगाएर रफ्तारमा काम भइरहँदा प्रवेशद्वारका रूपमा रहेको बड्डीचौर सडक भने अनिश्चित छ । जसले गर्दा पश्चिम सुर्खेतका नागरिकलाई अझै कतिसमय हिलाम्मे अनि धुलाम्मे सडकमा सकसपूर्ण यात्रा गर्नुपर्ने हो भन्ने चिन्ता छ ।