Logo

खाद्यान्न छाडेर फलफूल खेतीमा थापा

पर्वत– बागलुङको बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले धान, कोदो रोप्ने खेतबारी सुरुवात गरेको फलफूल खेतीबाट मनग्ये आम्दानी गर्दै आएका छन् । जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि दैनिक वडा कार्यालयको कामसँगै व्यावसायिक फलफूल खेतीमा समेत थालेका थापाले किवी, कागती, सुन्तलाखेती गर्दै आएका छन् ।

थापाले लगाएको किबीले तीन वर्षमै उत्पादन दिएको छ । थापाले खेतमा एक सय बोट किबी लगाएका छन् । यस वर्ष ६ क्विन्टल किबीको उत्पादन भएको उनले बताए । यतिबेला किबी टिपेर बजार पठाउन उनलाई भ्याइनभ्याई छ । किबीसँगै कागती र सुन्तला लगाएको बताउँदै थापाले कोदो र धानखेती गर्न समय व्यवस्थापन गर्न नसकेपछि खेतमा किबी र बारीमा सुन्तला र कागती लगाएको जानकारी दिए ।

२०७८ माघमा लगाएको किबीले यस वर्षबाट उत्पादन दिएको बताउँदै बारीमा १५० कागती र ५० सुन्तलाका बोट रहेको बताए । थापा २०७९ वैशाखमा वडाध्यक्षमा निर्वाचित भएका थिए । अन्य किसानलाई कृषि कर्ममा लाग्न प्रेरणा दिनका लागि र आफ्नो खेत बारी सदुपयोग गर्न किबीसँंगै सुन्तला र कागतीखेती गरेको वडाध्यक्ष थापाले बताए ।

‘तित्याङले बागलुङको तरकारीको बजार धान्दै आएको छ, नजिकमा बजार भएपछि यहाँ सयौ किसान व्यावसायिक तरकारी खेतीमा छन्, पछिल्लो समय सुन्तलाको बजार फष्टाउन थालेपछि अन्न फल्ने खेतबारी अहिले फलफूल बगैंचा विस्तार भएका छन्, तित्याङमा व्यावसायिक रूपमा फर्म दर्ता गरेर किबीखेती गर्ने ६ जना किसान रहेका छन्,’ थापाले भने, ‘वडाध्यक्ष भएपछि जनताको सेवामा खटिँदा घरको खेतीपाती गर्न नसक्ने भएपछि चार रोपनी खेतमा एक सय किबीका बिरुवा लगाएको थिएँ, तीन वर्षमै उत्पादन हुँदा दंग परेको छु ।’

दैलेखबाट ३३० मा प्रतिबिरुवा खरिद गरेर किबी लगाएको बताए । बृहत् कृषि उत्पादन गर्ने उद्देश्यले सामूहिक रूपमा भाइभाइ कृषि फर्मसमेत सञ्चालनमा ल्याइएको थापाले बताए । वडाध्यक्ष थापाको बारीमा दुई वर्षअघि १५० कागती र ५० सुन्तलाका बिरुवा रोपेर अहिले हुर्किरहेका छन् । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएका छन् ।

भाइभाई कृषि फर्ममा जेठा नरेन्द्रबहादुर थापा, माइलो धनबहादुर थापा, कान्छो राजु थापा र कुमार थापाले पशुपालन र अन्य कृषि क्षेत्रमा लगानी विस्तार गर्ने सोच बनाएका छन् । वडाध्यक्ष थापाले फलफूल र तरकारी विस्तार र विकासमा नगरपालिका प्रदेश र संघबाट नगरभित्र सबैभन्दा बढी लगानी आफ्नै वडामा भएको बताए ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको लगानीमा तित्याङको खानी गाउँमा दुई हजार ६ सय ओखर १४० रोपनी बाँझो जग्गामा लगाइयो भने अहिले नगरपालिकालेनै पुन किम्बोट क्षेत्रमा ओखर लगाउन १२ लाख बजेट बिनियोजन गरेको छ । आफ्नो वडामा गत वर्ष बेमौसमी तरकारी विकास तथा सुन्तला बगैंचा विस्तार कार्यक्रममा २० लाख लगानी भइसकेको उनले बताए । दैलोमै बागलुङ बजार रहेकाले तरकारी र सुन्तलाका लागि बजारको समस्या नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्