विदेशी पर्यटक पनि उडन थाले भैरहवाबाट
भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विदेशमा उडान सञ्चालन सुरु भएसँगै स्वदेशीमात्र नभई विदेशी (तेस्रो) मुलुकका यात्री पनि उडान गर्न थालेका छन् । बिहीबार यो विमानस्थल हुँदै थाइ एयर एशियाको एयरबसमार्फत् ३० जना बिदेशी बैंकक प्रस्थान गरेको अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका अध्यागमन अधिकृत विष्णुप्रसाद ढुंगानाले बताए ।
एयर एशियाले बैन्कक–भैरहवा–बैन्कक हप्ताको दुई उडान बिहीबार र सोमबार गर्दछ । बिहीबार बैंककबाट ४० जना यात्रु आएकोमा विदेशीसहित ७९ जना बैंकक गएको ढुंगानाले उल्लेख गरे । यो विमानस्थल हुँदै जानेले बैंकक दुबई घुम्नमात्र नभई ती सहरलाई ट्रान्जिट बनाएर अर्को देश जाने गरेका छन् । बिहीबार स्विजरल्याण्ड जुरीचका आठजना बैंकक हुँदै त्यसतर्फ जान लागेका थिए । ७६ वर्षीय हान्स एस्योर १९औं पटक नेपाल भ्रमणमा आइसकेका थिए । यस पटक भने उनलाई भैरहवा हुँदै आफ्नो देश फर्किन पाएको बताए ।
‘हामी यहाबाट बैंकक जान्छौं र त्यहाबाट जुरीच हुँदै घर जान्छाैं,’ माउण्ट एभरेष्ट प्रेमिका रूपमा रहेका हान्सले भने । ६७ वर्षीय मार्करे वित्रिक पनि चार पटक नेपाल आइसकेकी छिन् । यस पटक घर फिर्ता जाँदा आफ्नो ट्राभल एजेन्टले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने ब्यवस्था मिलाएको बताइन् । स्विजरल्याण्ड जुरीचकै स्टेफेन क्लोजा तेस्रो पटक नेपाल घुमेर घर फिर्ता जाँदा भैरहवा हुँदै जान लागेको बताए । हाम्रो बैंककको टिकट बिहीबारको थियो ।
‘हामी बैंकक जान बुधबार नै भैरहवा आएका थियाैं । तर मौसम खराब हुँदा हामी समयमा भैरहवा अबेर पुग्यौ, जसले गर्दा हामीसँग रहेको ४/५ घन्टा समय हामीले लुम्बिनी भ्रमण गर्नबाट चुक्यौं,’ उनले भने, ‘हामी यहाबाट बैंकक गएर त्यहाबाट ६ घन्टाको ट्रान्जिट हुँदै जुरीच जान्छाैं,’ उनले भने । स्टेफेनसहितको आठजनाको टोली भैरहवास्थित ल्याण्डमार्क होटलमा बसेका थिए । उनीहरूलाई बिमानस्थलमा ल्याण्डमार्क भैरहवाका अध्यक्ष आशा गुरुङसहितको टोलीले टिका, माला लगाई र सगुनका रूपमा दही खुवाई बिदा गरेका थिए ।
अध्यक्ष गुरुङले रोजगारका लागि मात्र जाने आउने नभई नेपाल घुम्न आउने र घुमेर फिर्ता जाने विदेशी साथै बैंकक, दोहा, दुबई, कुबेतलाई ट्रान्जिट बनाई अन्य देश जाने पर्यटक विस्तारै बढ्ने अपेक्षा रहेको बताए । अब सरकारी र निजी दुवै क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा पनि यो बिमानस्थलबाट उडान सुरु भएको प्रचार गर्न जरुरी रहेको बताए । प्रचारप्रसार उडानबाट जानकारी नहुँदा थाइल्याण्डका कति नागरिक स्थलमार्ग हुँदै लुम्बिनी आइरहेको लुम्बिनीका पर्यटन व्यवसायी प्रवीण शाक्यले बताए ।
दुई दिनअघि २९ जनाको गु्रप आएका थिए, तर उनीहरू कसैलाई बैंकक भैरहवा सिधा उडान छ भनेर थाहा नभएको शाक्यले बताए, अब प्रचारको खाँचो छ, सबै मिलेर विमानस्थल दिगो रूपमा चलाउन लाग्नुपर्छ शाक्यले भने । विस्तारै यो विमानस्थलको प्रयोग स्वदेशी र विदेशीले गर्दैछन्, बिहीबारमात्रै जजिरा एयरवेजमार्फत् कुवेतबाट १७० यात्रु आएका र १६९ जना कुवेत प्रस्थान गरेको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
रावतका अनुसार थाइ एयर एशियाको जहाजमा बैंककबाट ४० यात्रु आएको र ७९ जना भैरहवाबाट बैंकक प्रस्थान गरेका छन् । त्यसैगरी फ्लाई दुबईको जहाजमा आएका १४६ जनामध्ये ११ जना भैरहवा ओर्लेका छन् भने बाँकी १३५ जना काठमाडौं गएका छन् । कतार एयरवेजबाट आएका कोही पनि भैरहवा झरेका छैनन् । दोहाबाट ६७ जना आएकोमा सबै काठमाडौंकै यात्रु हुन् । फ्लाई दुबई र कतारको टिकट अभाव छ ।