Logo

दायित्व एक अर्ब ७० करोड, विनियोजन ३२ करोड

हुलाकी सडकको बजेट सकियो

धनगढी– चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसँंगै हुलाकी सडक आयोजनाका लागि विनियोजन गरिएको बजेट सकिएको छ । नेपाल सरकारले हुलाकी सडक निर्देशनालय अन्तर्गत हुलाकी सडक आयोजना कार्यालयका लागि ३२ करोड रुपैयाँ विनियोजन गरेको थियो । कैलाली र कञ्चनपुर जिल्लामा हुलाकी सडकको स्तर वृद्धिका लागि २०७३ सालमा निर्देशनालयले ठेक्का लगाएको थियो । बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा तीन वर्षमा सम्पन्न हुने गरी लगाइएका ठेक्काको काम अझैसम्म अधुरो छ ।

आयोजना कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्षमा ७७ करोडको काम भएको थियो । त्यसमध्ये ५५ करोड रुपैयाँ गतवर्ष नै भुक्तानी भई २२ करोड रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी थियो । ‘यो वर्ष विनियोजना भएको ३२ करोडबाट २२ करोड गतवर्षको बाँकी भुक्तानी गरियो,’ आयोजना कार्यालयका इन्जिनियर रमेश पन्तले भने, ‘बाँकी रहेको १० करोड रुपैयाँ पहिलो चौमासिकमा भएको कामको भुक्तानी गर्दा बजेट सकियो ।’

चालु आर्थिक वर्षमा हुलाकी सडक आयोजना कार्यालयलाई एक अर्ब ७० करोडको हाराहारीमा दायित्व थियो । तर नेपाल सरकारले दायित्वभन्दा निकै कम बजेट विनियोजन गरेपछि हुलाकी सडकको काम प्रभावित भएको छ । बजेट सकिए पनि आयोजना कार्यालयले थप बजेट माग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट माग गरी फाइल पठाएको छ । इन्जिनियर पन्तले एक अर्ब रुपैयाँ माग गरिएको बताए । चालु आर्थिक वर्षमा मात्रै नभई गत आर्थिक वर्षमा पनि हुलाकी सडकका लागि बजेट अभाव थियो ।

गत आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएकोमा दुई पटक थप गरी ५५ करोड रुपैयाँ विनियोजन भएको थियो । बजेट अभावकै कारणले हुलाकी सडक आयोजनाको कामले गति नपाएको इन्जिनियर पन्तले बताए । हुलाकी सडकको स्तर वृद्धि गर्न कैलाली खण्डमा सात, कञ्चनपुर खण्डमा तीनवटा गरी १० सडकको ठेक्का र सातवटा पुलको ठेक्का लगाइएको छ । चालु आर्थिक वर्षमै ती ठेक्काको थपिएको म्याद पनि सकिँदैछ । ठेक्काको म्यादका कारण यसै आर्थिक वर्षभित्रै सबै ठेक्काको काम सक्नुपर्ने दबाब भए पनि बजेट अभावले निर्माणको कामले गति लिन सकेको छैन ।

‘निर्माणको काम यसै वर्षभित्रै काम सक्नुपर्ने दबाब छ । हामीले पनि निर्माण कम्पनीलाई समयमै काम सक्न भनेका छौं,’ इन्जिनियर पन्तले भने, ‘तर काम गरेको भुक्तानी नपाइने अवस्थामा निर्माण कम्पनीले काम गर्न रुचि देखाएका छैनन् ।’ हुलाकी सडक आयोजना कार्यालयका अनुसार कैलालीमा ६९ किलोमिटरको धनगढी (मोहनापुल)–फुलवारी–हसुरिया–भजनी–सत्ति–कर्णाली सडकमा लगाइएको सात वटा ठेक्कामध्ये चारवटा ठेक्काको काम सम्पन्न छ । सत्ति–भजनी, धनगढी (क्याम्पस चोक–मोहना पुल), क्याम्पस चोक–फूलवारी खण्ड कालोपत्रे भएको छ ।

यसैगरी, कैलालीमै २९.७१ किलोमिटरको लम्की–टीकापुर–खक्रौला सडकको लम्कीदेखि आठ किलोमिटर खण्ड कालोपत्रे भएको छ । यसैगरी, हुलाकी सडकअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नतिका लागि तीनवटा ठेक्का लगाइएकोमा एउटामात्रै ठेक्का सम्पन्न भएको छ । लम्की–टीकापुर–खक्रौला सडकको तीनमध्ये दुईवटा ठेक्कामा ७० र ४० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ भने धनगढी (मोहनापुल)–फुलवारी–हसुरिया–भजनी–सत्ति–कर्णाली सडकमा बाँकी तीनवटा ठेक्कामा ४२, ३५ र ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

कञ्चनपुरमा लगाइएको तीनवटै ठेक्काको काम बाँकी छ । कञ्चनपुरमा ६२ किलोमिटरको डोके बजार–बेलौरी–दैजी सडक खण्डको पहिलो २० किलोमिटरको ठेक्कामा ९७, दोस्रो २० किलोमिटर खण्डमा ८०, तेस्रो २२ किलोमिटरको खण्डमा ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सडक निर्माणका लागि चार अर्ब ३२ करोड ६१ लाख रुपैयाँमा ठेक्का लगाइएकोमा तीन अर्ब १६ करोड ८४ लाख भुक्तानी भएको छ । सडकको ठेक्कामा एक अर्ब १२ करोड आठ लाख रुपैयाँ दायित्व रहेको आयोजना कार्यालयले जनाएको छ ।

यसैगरी कैलाली र कञ्चनपुरको हुलाकी सडकमा पुल निर्माणका लागि सातवटा ठेक्का लगाइएकोमा कुनै पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । कान्द्रा नदीमा निर्माण भइरहेको पुलको ९६ प्रतिशत काम भएको छ भने डोडा नदीमा निर्माण भइरहेको पुलको प्रगति १६ प्रतिशतमात्रै भएको छ । पुल निर्माणका लागि चार अर्ब ४० करोड ९५ लाख रुपैयाँमा लगाइएको ठेक्कामा तीन अर्ब ८९ करोड ४५ लाख रुपैयाँ भुक्तानी भएको छ भने ५१ करोड ४९ लाख रुपैयाँ दायित्व बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्