Logo

हस्तकलाबाट आयआर्जन गर्दै दाङका महिला

दाङ– जिल्लामा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दै आएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल भएका हुन् । पछिल्लो समय महिलाहरु आयआर्जनमा समेत जोडिन थालेका छन् ।

सीपका माध्यमबाट आयआर्जनमा जोडिएपछि घरको दैनिकी चलाउन सहजतासँगै बचत समेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरीले बताइन् । थारु हस्तकला सम्बन्धि हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला संस्कृतिको संरक्षणसँगै आफूहरूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् । हस्तकलाका सामग्री उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएको उनको भनाइ छ । चौधरीले भनिन्, ‘हस्तकला सम्बन्धी काम गर्दा हराउँदै गएका हस्तकला सम्वन्धि सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।’

उनका अनुसार थारु समुदायसँग सम्बन्धित हस्तकलाको खपत समेत राम्रो हुने भएकाले सामग्री बनाउन सके महिनामा १५–२० हजार सजिलै कमाउन सकिने बताइन् । हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरे पनि पछिल्लो समय फुर्सद नहुने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘घरमा काम नहुँदा पहिले दिन भर गफगाफसँगै टिभी मोबाइल हेरेर समय बित्ने गरेको थियो, अहिले कामले गर्दा फुर्सद हुँदैन ।’ उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छिन् । सरिता जस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छिन् ।

तीन वर्षअघि सीप सिकेर हस्तकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा २० हजार रुपैयाँ सम्म कमाउने गरेको बताइन् । घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको उनले बताइन् । भनिन्, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएका कारण धेरै समय मिल्दैन । हस्तकलाका सामग्री उत्पादनमा मात्र लाग्नुभएका महिलाले महिनामै ३० हजारसम्म कमाइ हुने गरेको छ ।’ काठमाडौंमा धेरै बिक्री हुने भएका धेरै सामग्री अर्डर अनुसार उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

हस्तकला उद्योगका माध्यमबाट महिलाले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामान उत्पादन गरेर बजारमा पठाउने गरेका छन् । हस्तकला सामग्री उत्पादनमा समस्या नभए पनि कच्चा पदार्थ भने कपिलवस्तुबाट ल्याउनुपर्ने बाध्यता भएको उनी बताउँछिन् । हस्तकलाका सामग्री बनाउनका लागि पूजा देउखुरीकै राप्ती नदीको बगरलगायतका ठाउँमा पाइने भए पनि मुज भने कपिलवस्तुबाट ल्याउनु पर्ने चौधरी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्