एक लाख घट्यो सक्रिय बीमालेख
काठमाडौं– पछिल्लो समय आर्थिक क्षेत्रमा आएको सुस्तताको असर बीमा क्षेत्रमा देखिएको छ । बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमासमा सक्रिय जीवन बीमालेखको संख्या घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा अहिले एक लाख एक हजार एक सय ३३ वटा बीमालेख घटेको तथ्यांकमा देखिन्छ । गत आवको पहिलो त्रैमासमा एक करोड ३८ लाख ६७ हजार पाँच सय ८१ सक्रिय बीमालेख रहेकोमा यस वर्ष पहिलो त्रैमासमा घटेर एक करोड ३७ लाख ६६ हजार चार सय ४८ मा झरेको छ ।
चालु आवको असोज मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ८७ हजार सात सय २३ छ भने कुल बीमाशुल्क एक अर्ब ४० करोड रुपैयाँ छ । चालु आवको पहिलो त्रैमासिकमा म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ह्वात्तै घटेपछि कुल सक्रिय जीवन बीमालेखको संख्यामा कमी आएको हो । यो अवधिमा बीमालेखको संख्या ७ लाख १५ हजार ७८४ (१०.६७ प्रतिशत)ले घटेको छ ।
गत आवको पहिलो त्रैमासमा ६७ लाख ५ हजार ४८९ रहेको यस्तो बीमालेख चालु आवको सोही अवधिमा घटेर ५९ लाख ८९ हजार ७०५ कायम भएको छ । यो अवधिमा जीवन बीमालेख (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक)को संख्या ७० हजार ९२३ (१.२५ प्रतिशत)ले घटेको छ । गत आवको असोज मसान्तसम्म ५६ लाख ६१ हजार १०९ रहेको यस्तो बीमालेख चालु आवको सोही अवधिसम्म घटेर ५५ लाख ९० हजार १८६ कायम भएको छ ।
चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगार बीमालेखको संख्या भने ६ लाख ८५ हजार ५७४ (४५.६८ प्रतिशत)ले बढेको छ । गत आवको पहिलो त्रैमासमा १५ लाख ९८३ रहेको यस्तो बीमालेख चालु आवको सोही अवधिमा बढेर २१ लाख ८६ हजार ५५७ कायम भएको छ । चालु आवको पहिलो त्रैमासमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय जीवन बीमालेखको संंख्या १५ लाख ८८ हजार एक सय ८८ रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ९० करोड रुपैयाँ छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि चालु आवको असोज मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या १६ लाख ४४ हजार दुई सय १९ रहेकोमा कुल बीमाशुल्क आर्जन ११ अर्ब ९१ करोड रुपैयाँ छ । यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा सक्रिय बीमालेखको संख्या ६ लाख ८७ हजार चार सय २८ रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ५७ करोड रुपैयाँ छ । मेटलाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय बीमालेखको संख्या सात लाख ४४ हजार तीन सय ४८ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ४४ करोड रुपैयाँ छ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९१ हजार तीन सय ८८ रहेकोमा कुल बीमाशुल्क आर्जन दुई अर्ब तीन करोड रुपैयाँ छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय बीमालेखको संंख्या पाँच लाख ६२ हजार दुई सय ८२ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब २१ करोड रुपैयाँ छ । यसैगरी सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीको सक्रिय बीमालेखको संख्या आठ लाख ३४ हजार ३३ रहेकोमा कुल बीमाशुल्क आर्जन ९३ करोड २७ लाख रुपैयाँ छ ।
रिलावयल नेपाल लााइफ इन्स्योरेन्सको सक्रिय बीमालेखको संख्या २५ लाख १४ हजार एक सय ८७ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब २० करोड रुपैैयाँ छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख १० हजार सात सय आठ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ७४ करोड रुपैयाँ छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पनि नौ लाख सात हजार ४५ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन दुई अर्ब ४९ करोड रुपैयाँ छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आठ लाख ८० हजार ४१ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ५७ करोड रुपैयाँ छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको तीन लाख ९८ हजार नौ सय ३० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ३१ करोड रुपैयाँ छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक लाख ८५ हजार चार सय ७८ वटा बीमालेख सक्रिय रहंँदा कुल बीमाशुल्क आर्जन एक अर्ब २४ करोड रुपैयाँ छ ।
प्राधिकरणका अनुसार लघु जीवन बीमातर्फ चालु आवको पहिलो त्रैमासमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको दुई लाख ९९ हजार चार सय ५७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन आठ करोड ७१ लाख रुपैयाँ छ । यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ८५ हजार आठ सय ३६ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन सात करोड ९७ लाख रुपैयाँ छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ४५ हजार एक सय ५७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन पाँच करोड ४४ लाख रुपैयाँ छ ।