केरामा विषादी प्रयोग
भरतपुर २, क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा विषादी प्रयोग गरिएको केरा पाइएको छ । पदमपुरको एक बगानबाट ल्याइएको मालभोग केरामा बढी विषादी भएको भेटिएको हो ।
कृषि ज्ञान केन्द्र चितवनले स्थापना गरेको ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’मा नमुना जाँच गर्ने क्रममा केरामा विषादीको मात्रा बढी देखिएको हो । ल्यावमा ३ जना प्राविधिक कार्यरत छन् । बिहान ६ बजेदेखि १० बजेसम्म प्रयोगशालामा समय दिएपछि उनीहरु ज्ञान केन्द्र कार्यालयको जिम्मेवारी लिन पुग्छन् ।
“मालभोग केरामा ४५ प्रतिशत बढी विषादी भेटिएको छ”, ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले भनिन्, “त्यो ‘लट’ को सबै केरा बिक्री नगर्न सुझाएका छौं ।” प्रयोगशालामार्फत अर्गानोफस्फेट र कार्वामेट्स समूहका विषादीको परीक्षण हुँदै आएको छ । यही पुस १ गतेदेखि नियमित सञ्चालनमा आएको प्रयोगशालामा दैनिक ५ नमुना परीक्षण गर्दै आएको छ । यी दुई समूहका विषादीको मापन गर्दा ३५ प्रतिशतसम्म भेटिएमा खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भेटिए कोल्ड स्टोरमा राखेर वा केही दिन पर्खेर पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेमा खान सकिन्छ । तर, ४५ प्रतिशत बढी विषादीको मात्रा देखिएमा खान अयोग्य मानिन्छ ।
महानगर फलफूल तथा तरकारी बजारमा २ सय २३ स्टलहरु छन् । धेरैजसो तरकारी बेच्ने पसल छन् । कृषि प्रवद्र्धन बजार विकास प्रालिद्वारा सञ्चालित यो बजार चितवनकै ठूलो तरकारी तथा फलफूल बजार हो । बजार विकास प्रालिका अध्यक्ष शालिकराम घिमिरेले केरामा विषादी भेटिएपछि सम्बन्धित घरिलाई ‘सिलबन्दी’ गरेर राखिएको बताए । “बेच्ने किसानकै रोहबरमा नष्ट गर्न सुरक्षित गरेर राखेका छौं”, उनले भने, “अन्य पसलका केरामा विषादी भेटिएको छैन, विषादीको मात्रा बढी भएको भेटिएको केरा बेच्न नदिन सचेत छौं ।” उनका अनुसार करिव २५ हजार बराबरका केरामात्रै खान अयोग्य भेटिएको हो ।
सानो आकारका ती केरा काँचो अवस्थामै विषादी देखिएको हो । जग्गा भाडामा लिएका ती किसानले सम्झौता अवधि सकिन लागेकाले जग्गा खाली गराउन छिटो उत्पादन लिन खोज्दा विषादी प्रयोग गरेलगत्तै बजारमा ल्याएको अनुमान गरिएको छ ।
बजार विकास प्रालिका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले कृषि उपजमा विषादी प्रयोग न्यूनिकरण गर्नुपर्ने बताए । “नमूना जाँच गर्दा खान आयोग्य मात्राको विषादी भेटिएमा किनबेच रोक्न समिति तयार छ”, उनले भने, “किसान, व्यवसायी, उपभोक्ता सबै सजग हुनुपर्छ ।” उनका अनुसार हाल महानगरको फलफूल तथा तरकारी बजारमार्फत हाल दैनिक ३० हजार कोसा केरा बिक्री हुँदै आएको छ ।
पुस महिना केरा कम खपत हुने समय हो । माघदेखि दैनिक १ लाख कोसा केरा बिक्री हुने गर्छ । यो बजारबाट दैनिक १ सय ५० टन तरकारी बिक्री हुन्छ । यस्तै सुन्तला हाल ३० टन, स्याउ अनारलगायतका अन्य फलफूल १० टनसम्म दैनिक बिक्री हुने गरेको छ । बढी उत्पादन लिन जथाभावी विषादी प्रयोगको अवस्था हटाउन प्रयोगशालाले सघाउने अपेक्षा लिइएको छ । भिन्टी, बोडी, गोलभेडा र क्याप्सियममा बढी विषादी प्रयोग हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रले विषादी प्रयोगमुक्त सप्ताह यही पुस २३ गतेबाट चलाउँदै छ । विषादी न्यूनिकरण गोष्ठ, विषादी सचेतना कार्यक्रम हुने गरेका छन् । प्रतिबन्धित विषादी प्रयोग नगर्न किसानलाई सुझाउँदै आएको छ । जैविक विषादी, वानस्पतिक विषादी प्रयोग गर्न अनुरोध गरेको छ ।