Logo

कोप–२९ मा सहभागी भई राष्ट्रपति स्वदेश फिर्ता

कोप-२९ मा नेपालद्वारा जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा जोड

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२९) मा सहभागी भएर शुक्रबार बिहान स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गरेका थिए । राष्ट्रपतिको स्वागतका लागि मन्त्री, सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित थिए ।

नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो । राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।

त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्र संघका महासचिवले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए ।

यस्तै, अजरबैजानको बाकुमा आयोजित कोप- २९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप-२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्किए पश्चात सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले नेपालले कोप-२९ मा राष्ट्रपति पौडेलले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई विशेष जोड दिएको बताए ।

उनकाअनुसा राष्ट्रपति पौडेलले जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्शानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउएका छन् । जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिएको पनि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहसचिव राईले बताए ।

अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गरेका थिए । जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवले राखेको बताए ।

त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबको भेटमा अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने कुरा गरेको जानकारी गराए । उनले नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रश्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको कुरा पनि राष्ट्रपति अलियबले बताएको सहसचिव राईले जानकारी दिए ।

सहसचिव राईकाअनुसार राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको र सगरमाथा संवादमा उपस्थित हुन आह्वान गरेका बताए ।

प्रतिक्रिया दिनुहोस्