पर्सामा बलात्कारका घटना बढ्दो «

पर्सामा बलात्कारका घटना बढ्दो

वीरगञ्ज-पर्सामा बलात्कारको घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को वार्षिक पूर्व समिक्षामा सार्वजनिक ६९ वटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनामध्ये बलात्कार र बलात्कारको प्रयासको घटना सबैभन्दा बढी देखिएको हो ।
इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले बिहीबार तथ्यांक सार्वजनिक गर्दै पर्सामा २०७५ पुस १८ गतेदेखि ०७६ पुष १० गते सम्म पर्सामा बलात्कार सँग सम्बन्धित ४४ वटा, परिवाजनबाट हत्या, ७, एसिड प्रहार १, अपहरण १, प्रहरीको गोलि प्रहार २, मानव वेचबिखन ४, बहुविवाह ६, बालविवाह २ बाल यौन दुव्र्यवहार २ लगायतका ६९ वटा घटनाहरु भएको बताए । यसमध्ये सबैभन्दा बढी बलात्कार र बलात्कारको प्रयासको घटना भएको जानकारी उनले गराए ।
इन्सेक पर्साद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार पाँच बर्षदेखि १८ बर्षमुनिका बालिका बलात्कारको प्रयासका २५ वटा घटना भएको छ । १९ बर्षदेखि माथिका १८ वटा बलात्कारको प्रयासको घटना भएको छ । इन्सेकको अभिलेखमा छुवाछुतको घटना भने अभिलेखिकरण भएको छैन । मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ९४ प्रतिशत अनुसन्धानमा नेपाल प्रहरी सफल भएको दावी गरे । तथापी नियन्त्रण पक्ष बलियो हुनुपर्नेमा उनको जोड थियो ।
अपराधको घटना दर्ता हुँदैमा अपराधमा वृद्धि भएको भन्न नमिल्ने बताउँदै उनले यसमा घटना उजागर भएको हो भन्ने कोणबाट पनि हेर्नुपर्ने बताए । पर्सा जिल्ला खुला सीमाका कारणले अपराध नियन्त्रणमा निकै चुनौती रहेको बताउँदै अपराध गरेर भाग्न र अपराधी लुक्न सजिलो भएकोले नै सीमामा बढी अपराध हुने गरेको बताए । उनले भारतसँग सुपुर्दुगी सन्धी नभएकोले अपराध गरेर फरार रहेकाहरु कारवाहीको दायरामा ल्याउन समस्या हुने गरेको धारणा राखे । तरपनि धेरै पूराना घटनाको पनि अनुसन्धानबाट कारवाही गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेका मुद्दाहरु कार्यान्वयन नहुनु दुखद भएको बताए । समाजमा हुने विभिन्न किसिमका मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेर इन्सेकले राम्रो काम गरेको भन्दै इन्सेकको कामको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्