Logo

नारायणगढ–बुटवल सडक विस्तार

‘काम सुचारु नगरे ठेक्का तोडिन्छ’

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसँग छलफल गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले यही मंसिरभित्र काम सुरु नभए ठेक्का तोड्नुको विकल्प नरहेको बताएका हुन् । उनले भने, ‘विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर आयोजना होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौं, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्ण रुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ ।’

निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम लक्ष्यअनुसार सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने तयारी गरेको हो । यो सडक विस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम नसकिने र आयोजनाले गति नलिएसँगै सरकार ठेक्का तोड्ने मनस्थितिमा पुगेको हो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५३ प्रतिशत काम भएको जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी दिए । मन्त्री दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताए । नारायणगढ–बुटवल सडक खण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले भने, ‘मन्त्रालयले निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिए पनि काम अहिलेसम्म थालनी भएको छैन । एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर समेत ताकेता गरिएको छ । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छौं । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने एसएमएस पठाएको छ ।’

मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्न निर्देशन दिएको भए पनि काम थालनी भएको छैन । विगत ४ महिनायता काम अगाडि बढ्न सकेको छैन । २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने भए पनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम ५३ प्रतिशतमाथि लान सकेको छैन । दोस्रो पटकका लागि २०८१ साउन ८ गतेसम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । नारायणगढ–बुटवल सडक खण्डको हालसम्म ५३ प्रतिशत कार्य प्रगति भएको छ । नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर कालोपत्र गरिएको छ ।

नारायणगढ–दाउन्ने (६४.५ किलोमिटर) पहिलो खण्ड र दाउन्ने–बुटवल (४८.५ किलोमिटर) दोस्रो खण्डमा वर्गीकरण गरेर काम शुरु गरेको थियो । नारायणगढ–बुटवल चार लेन सडकको स्तरोन्नति गरी २०७९ भदौ ६ गते निर्माण पूरा गर्नुपर्ने थियो । तर, दोश्रो पटक म्याद थप गरेर २०८१ साउन ८ गते बुझाउनुपर्ने सडकको हालसम्म ५३ प्रतिशतमा सीमित छ । नेपालले १५ प्रतिशत र एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा १७ अर्ब रुपैयाँमा यो सडक स्तरोन्नति हुन लागेको हो । आयोजनाको म्याद २०७९ भदौ ६ मा सकिएर कोभिडका कारण एक वर्ष थप भई २०८० साउन ८ कायम भएको थियो । दोश्रो पटकको म्याद २०८१ साउन ८ गतेसम्म थियो ।

आयोजनाका अनुसार ११३ किमी सडकमध्ये ७० किमी ४ लेन र थप दुईतर्फ ६–६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेन, ६४ वटा पुल, ४३२ कल्भर्ट, १२९.१६ किमी नालालगायत संरचना निर्माण गर्नुपर्ने छ ।

सम्झौता अनुसार ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडकनिर्माण गर्नुपर्छ । पछिल्लो समयसम्म भने २७ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र मात्र पूरा भएको छ भने ४२ वटा पुल र ३ सय ८० वटा कल्भर्ट निर्माण पूरा भएको छ । तर निर्माण कम्पनीले ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ  । दैनिक १ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा निर्माण कम्पनीले विगतमा ५ सयदेखि ७ सय मिटरमात्र कालोपत्रे गर्दै आएको थियो भने सेप्टेम्बर दोश्रो हप्ताबाट प्रगति शून्य छ ।

प्रतिक्रिया दिनुहोस्