सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएन: मन्त्री गुरुङ
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४ को उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
उनले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शुन्य रहेको बताए । मन्त्री गुरुङले कृषिमा प्रविधिको दशक सुरु भएको घोषण गरेको तर बजेट शून्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरुले युवाहरु विदेश पलायन भइरहेको बताए । मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताए ।
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताए । त्यसको लागि विशेष व्यवसथा गरेर भएपनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको बताए । त्यसको लाग सरकारी क्षेत्रबाट नै आफूले शुरुवात गर्न चाहेको बताए । मन्त्री गुरुङले ०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गरे ।
यस्तै, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् । साेही कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए । मन्त्री सिंहले उत्पादनको क्षेत्रले नेपालको जिडीपीमा पुर्याएको योगदानमा कमी आइरहेको बताए । मन्त्री सिंहले उत्पादन क्षेत्रले जिडीपीमा पुर्याएको योगदानमा वृद्धि गर्न उत्पादनमुलक उद्योगहरुमा जोड दिनुपर्ने बताए ।
उनले ऊर्जा उत्पादनमा लागेर उत्पादनमुलक क्षेत्रमा आवश्यक विद्युत सप्लाई गर्नुसक्नुपर्ने बताए । मन्त्री सिंहले विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्नसके राम्रो परिणाम दिने बताए । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको बताए । उनले सरकारले अर्थतन्त्र सुधारको लागि गरिरहेको कामको परिणाम केही समयमा देखिने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने इन्जिन भएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको भन्दै गुनासो गरे । उनले सरकारले निजी क्षेत्रलाई प्राथमिकता राखेर काम गर्यो भने मात्रै समग्र रुपमा आर्थिक समृद्धि प्राप्त हुने उल्लेख गरे ।
उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको छाता संस्थाहरुले खेलेको भूमिकाको मूल्यांकन हुनुपर्ने बताए । उनले सरकारको नेतृत्वदायी निकायमा बसेका प्रधानमन्त्री,मन्त्री,सचिव र निजी क्षेत्रका संस्थाका अध्यक्षहरुको रिपोर्ट कार्ड बनाउन सक्दा नतिजा आफैं आउने बताए । उनले उद्योग वाणिज्य महासंघले मुलुकका वैदेशिक लगानी प्रवर्द्धनको लागि निरन्तर रुपमा काम गरिरहेको बताए ।