वैदेशिक लगानी प्रवर्द्धनका लागि नेपाली राजदुतले अग्रसरता लिनुपर्छ: ढकाल
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदुत र तीन महावाणिज्यदुतहरुसँग आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ढकालले राजदुतहरुलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन महासंघले सहयोग गर्ने बताएका हुन् ।
उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । उनले महासंघको संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कुटनीति बिस्तार गर्न राजदुतहरुलाई आग्रह गरे । उनले राजदुतहरुले वैदेशिक लगानी मुलुकमा भित्र्याउनको लागि अग्रसरता लिइदिनुपर्ने बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै नवनियुक्त राजदुतहरुले आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्नुपर्ने बताए ।
अध्यक्ष ढकालले महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमुलक संस्था एवं चेम्बरहरुसँग सहकार्य गरिरहेको बताए । उनले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे । नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा उनले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । ढकालले पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सिमित भएको बताए ।
अध्यक्ष ढकालले नेपालमा लगानीकर्ता आकर्षित गर्न सकिने बताए । उनले नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गर्न सकिनेतर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । अन्तरक्रियामा सहभागि नवनियुक्त राजदुतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताए । यसैगरी निजी क्षेत्रको विश्वास आर्जन हुनसके विदेशी लगानी आकर्षित हुने भन्दै सहकार्य गरिने बताएका छन् ।