दुर्व्यवहार रोक्न १४ हजार किशोरीलाई आत्मरक्षा तालिम
वीरगन्ज– समाजमा हुने विभिन्न खाले महिला हिंसा र दुर्व्यहार रोक्न वीरगन्ज महानगरपालिकाले १२ हजार भन्दा बढी किशोरी महिलालाई आत्मरक्षाको तालिम दिएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा बुधबार तालिमको संघीय खानेपानी मन्त्री प्रदीप यादवले उदघाटन गरे । मन्त्री यादवले आत्मरक्षा तालिमले किशोरीहरूको आत्मबल र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउनुका साथै उनीहरूको व्यक्तिगत सुरक्षामा योगदान दिनुका साथै समाजमा महिला सुरक्षाको सकारात्मक उदाहरण पनि स्थापित गरेको बताए ।
नेपालमा भारतीय प्रशिक्षद्वारा गरिएको प्रशिक्षणले दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाएको मन्त्री यादवले विश्वास व्यक्त गरे । उनले एकै पटक १० हजार किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्दै वीरगञ्ज महानगरपालिकाले विश्व रेकर्ड कायम गर्ने साहसिक प्रयास गर्नु सम्पूर्ण देशकै लागि गौरवको कुरा भएको बताए । वीरगन्ज महानगरपालिका र नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतीय बलिउड र हलिउडका कलाकारहरुलाई समेत प्रशिक्षण दिएका भारतीय प्रशिक्षक डा. यजनेश सेट्टीद्वारा प्रशिक्षण दिइएको छ ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जका छोरीचेली समाजमा कसैसँग डराएर हिड्नुपर्ने अवस्थाको अन्त्य गरी महिला हिंसा र दुर्व्यवहार रोक्न तालिमको आयोजना गरिएको बताए । उनले पहिले महानगर क्षेत्रका सामुदायिक विद्यालय र निजी विद्यालयका किशोरीका लागि आवेदन आह्वान गरिएकोमा पछि महिला र किशोरीहरुका लागि पनि खुला गरेपछि प्रशिक्षणमा सहभागीको संख्या उत्साहजनक बढेको बताए ।
मंगलबार दिउँसो १ बजेसम्ममा १५ हजार १ सय जनाको आवेदन दर्ता भएको र व्यावस्थापनमा समस्या हुन नदिनका लागि आवेदन बन्द गरिएको बताए । उनले सहभागीमध्ये १२ हजार ९७४ जनाको फारामसहित विश्व रेकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइएको पनि जानकारी दिए ।
सम्भवत: नेपालमै पहिलो पटक एकैपटक सामुदायिक र निजी विद्यालयका छात्राहरु तथा अन्य क्षेत्रमा काम गरेका महिलाहरुको लागि लक्षित प्रशिक्षणले महिलाहरुको आत्मबल बढ्ने र आत्मरक्षाका लागि सक्षम हुने विश्वास गरेको प्रमुख सिंहले बताए । अब वीरगन्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धि तालिम दिइने नगर प्रमुख सिंहले बताए । यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४०१ छात्रालाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।