३० करोडको लागतमा निजगढमा आँखा अस्पताल
वीरगन्ज– बाराको निजगढमा मधेश प्रदेशको पहिलो सामुदायिक आँखा उपचार केन्द्र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल सुरु भएको छ । ३० करोडको लागतमा स्थापना गरिएको निजगढ सामुदायिक आँखा अस्पतालको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बुधबार उदघाटन गरे ।
तिलगंगा आँखा प्रतिष्ठान (टाआईओ) ले फ्रेड होलोज फाउन्डेसनसँगको साझेदारीमा निजगढमा सञ्चालनमा ल्याइएको अस्पतालमा वार्षिक ५५ हजार बिरामीलाई उपचार गर्ने क्षमता रहेको अस्पतालले स्थानीय समुदायलाई किफायती, पहुँचयोग्य आँखा हेरचाह प्रदान गर्दै आएको तिलगंगा सामुदायिक आँखा अस्पतालको स्थापनाले सपना साकार भएको संस्थापक तथा निर्देशक प्रा.डा.सन्दुक रुइतले बताए ।
उनले भने, ‘स्थानीय स्तरमा दिगो उच्च गुणस्तरको आँखा हेरचाह प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को लक्ष्य र उद्देश्य हो । अस्पताल आशा र समर्पणको प्रतीक हो, जसले सबै आँखाका बिरामीहरूको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउँछ ।’
फ्रेड होलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने, ‘यसले द फ्रेड होलोज फाउन्डेशनको लागि एउटा नयाँ अध्यायको रूपमा चिनाएको छ, जसले नेपालमा तिलगंगा सामुदायिक आँखा अस्पताल र स्थानीय साझेदारहरू र समुदायहरूसँग एक ठोस दिगो सम्बन्ध स्थापना गरेको छ । एकीकृत जन–केन्द्रित आँखा हेरचाह दृष्टिकोण हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हो, र हामी निजगढ र वरपरका धेरै आवश्यकतामा परेकालाई सुरक्षा र दृष्टि पुनर्स्थापना गर्न तत्पर छौं ।’
हाल नेपालमा १० लाख भन्दा बढी मानिसहरु कुनै न कुनै रूप दृष्टिविहीन भएर बाँचिरहेका अवस्था रहेको र मधेश प्रदेशमा अन्धोपनको दोस्रो उच्च प्रकोप रहेपनि ८० प्रतिशत दृष्टि हानिबाट बच्न सकिने र विद्यमान, उच्च लागत प्रभावी हस्तक्षेपमार्फत उपचार गर्न सकिने जनाएको छ ।
उनका अनुसार अस्पतालले मोतियाविन्दु, अपवर्तक त्रुटी, मधुमेह रेटिनोप्याथी र आँखाका अन्य रोगको उन्नत उपचार विकल्प र व्यापक हेरचाहमार्फत उपचारमा ध्यान केन्द्रित गर्नेछ । नेपालमा अन्धोपन र गम्भीर र मध्यम दृष्टि कमजोरीको प्रमुख कारण मोतियाबिन्दु रहेको र लगभग ३७ प्रतिशत मानिस मोतियाविन्दुका कारण दृष्टिविहीन रहेका छन् ।
२३ हजार वर्ग फुटमा फैलिएको ४ तलाको अस्पताल आँखाको हेरचाहका लागि समर्पित रहेको र दुई अपरेटिङ थिएटरहरू, लेजर कोठाहरू, बाहिरी बिरामी र इनपेशेन्ट विभाग, एक रिकभरी वार्ड, र एक इन–हाउस फार्मेसी र अप्टिकल स्टोरहरू रहने छ । तिलगंगा सामुदायिक आँखा अस्पतालका स्थानीय विज्ञहरूले मधेश प्रदेशमा उच्च गुणस्तरीय उपचारमा पहुँच बढाउँदै १० उप–विशेषतामा विशेष आँखा हेरचाह सहितको सेवा प्रदान गर्नेछ ।
आगामी पाँच वर्षमा अस्पतालले मधेस प्रदेशबाट २ लाख ७४ हजार आँखाका बिरामी ल्याउने र नेपाल र भारतका ३० लाख मानिसलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । विशार्टले नेपालमा आँखाको स्वास्थ्य सेवा प्रदान गर्न तिलगंगा सामुदायिक आँखा अस्पतालसँग साझेदारीमा काम गर्न पाउँदा फाउन्डेशनलाई गर्व लागेको बताए ।
अस्पतालले दीर्घकालीन, स्थानीय नेतृत्वमा आँखा हेरचाह समाधान गर्ने वातवरण निर्माण गर्ने फाउण्डेशनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने र तिलगंगा सामुदायिक आँखा अस्पताललाई फाउण्डेशनको कार्यान्वयन साझेदारको रूपमा परिवर्तनकारी र दिगो समाधान सुनिश्चित गरिरहेको र यसले लैंगिक असमानतासहित नेपालमा आँखा स्वास्थ्यका प्रमुख चुनौती सम्बोधन गर्ने पनि विशार्टले बताए ।
नेपालमा पुरुषको तुलनामा महिलामा दृष्टि गुम्ने सम्भावना दुई तिहाइ बढी छ । नयाँ अस्पतालले लैंगिक असमानता सम्बोधन गर्न पहल गर्नेछ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको अनुमानित ४–५ प्रतिशत स्वास्थ्य सेवा क्षेत्रले ओगट्ने भएकाले अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गर्नेछ । सौर्य प्यानलहरू स्थापना गरिएको र दक्ष तताउने र वातानुकूलित प्रणाली प्रयोगमा रहेका छन् ।