अन्तर्राष्ट्रिय बेलुन फेष्टिभल पुस ९ देखि
पोखरा– पोखरामा आगामी पुस पुस ९ देखि १७ गतेसम्म हुने अन्तर्राष्ट्रिय बेलुन फेष्टिभलमा १६ देशका खेलाडी सहभागी हुने भएका छन् । बेलुन नेपालले सहासिक खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगितामा हालसम्म अमेरिकासहितका १६ देशका खेलाडीले नाम दर्ता गराएको बलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।
९ दिन चल्ने प्रतियोगितामा अमेरिका, बेलायत, फ्रान्स, जर्मन, स्पेन, अष्ट्रिया, मलेसिया, ब्राजिललगायत १६ देशका खेलाडी सहभागी हुने बताइएको छ । फेष्टिभलमा नेपालबाहेक अन्य देशबाट खेलाडी सहभागी हुने अध्यक्ष बाडेले उल्लेख गरे । नेपालमा व्यावसायिक रुपमा हर्ट बेलुन उडाउने खेलाडीको अभाव भएकाले नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालकै खेलाडी नहुने उनको भनाइ थियो ।
कार्यक्रमले यस क्षेत्रको साहसिक खेल पर्यटनको सम्भावनालाई अझ उजागर गरी पर्यटनको सम्भावना बढाउन मद्दत पुग्ने आयोजककको अपेक्षा छ । ६ करोड ५० लाख बजेट रहेको फेष्टिभलमा स्थानीय उत्पादनदेखि कला संस्कृति र वातावरणमैत्री खानाका परिका समेत उपलब्ध गराउने बताइएको छ ।