Logo

झापा इनर्जीद्वारा सात करोड बढीको सौर्य विद्युत बिक्री

झापा– झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा रहेको सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले सात करोड ११ लाख ३८ हजार ७ सय १० रुपैयाँ मूल्य बराबरको विद्युत उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ । नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको रूपमा रहेको झापा इनर्जीको सौर्य विद्युत परियोजनाको उद्घाटन गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

गत वर्षको माघ १० गतेदेखि विद्युत उत्पादन सुरु गरेको कम्पनीले गत माघ १० देखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा एक करोड १९ लाख सात हजार ७८१ युनिट विद्युत उत्पादन गरेको कम्पनीका प्रबन्ध सञ्चालक सुवाष भट्टराईले बताए । उनले परियोजनाबाट उत्पादित विद्युतनजिकै रहेको नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमार्फत् राष्ट्रिय ग्रिडमा जोडिएको जानकारी दिए ।

१० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको परियोजनाले हिउँदभन्दा बर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत बढी मात्रामा उत्पादन हुने गरेको जानकारी दिए । उनले हिउँदमा अधिकतम् दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको र बर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत उत्पादन हुने गरेको जानकारी दिए ।

झापा इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता भएको र सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने जनाए अनुसार हालसम्म नौ महिनामा सात करोड ११ लाख ३८ हजार ७१० रुपैयाँ मूल्य बराबरको विद्युत उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिणमा २२ बिगाह क्षेत्रफलमा झापा इनर्जी सौर्य विद्युत परियोजना सञ्चालनमा रहेको र सोही स्थानमा सौर्य प्यानल राखेर विद्युत उत्पादन भइरहेको जनाइएको छ । झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु गरिएको थियो । परियोजनाको शिलान्यास प्रतिनिधि सभाका तत्कालीन सभामुख सुवाषचन्द्र नेम्बाङले गरेका थिए ।

जनस्तरबाट पुँजी संकलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेड झापामा विद्युत उत्पादन गर्ने एकमात्र परियोजना भएको र यसमा आठ सय सर्वसाधारणको ५० हजारदेखि ५० लाखसम्म सेयर लगानी रहेको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिए । परियोजनामा दुई इन्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् ।

विद्युत उत्पादन प्रणाली स्वचालित भए तापनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारीहरू दिनरात खटिने गरेको भट्टराईले बताए । परियोजनास्थलबाट प्राधिकरणको बोलोचोक सबस्टेसन एक किलोमिटरको दूरीमा छ । सबस्टेशनसम्म विद्युत पुर्‍याउन कम्पनी आफैले ९६० मिटर प्रसारणलाइन निर्माण गरेको थियो ।

१० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने महत्त्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिगाह जग्गा खरिद गरेको छ । झापालीका लागि झापालीद्वारा भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको उनको भनाइ छ । माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीयको सेयर रहेको परियोजनामा ८७ करोड लगानी भएको र जसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले ६२ करोड ऋण लगानी गरेको उनले बताए ।

बोलोचोकबाट सौर्य विद्युत उत्पादन भएसँगै त्यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सौर्य विद्युत परियोजनाले त्यस क्षेत्रमा पर्यटक आउने सम्भावना बढेको बोलोचोकका स्थानीय डा. धर्मेन्द्रकुमार साह बताउँछन् । परियोजनाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक जाने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्