Logo

पर्वत अस्पतलामा लिफ्टिङ योजनाबाट पानी

पर्वत– निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत् पानीको आपूर्ति सुरु भएको छ । अस्पतालमा पानीको आवश्यकता धेरै हुने भए पनि शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आपूर्ति गरेको सीमित समयमा पानीले अस्पतालले समस्या भोग्दै आएको थियो । संस्थाले बिहान र बेलुकाको समयमा मात्रै पानी छाड्ने तर अस्पतालमा भने २४ सै घण्टा धेरै पानी चाहिने अवस्था थियो ।

पानीको अभावमा शौचालयदेखि लुगा धुन र अन्य प्रयोजनका लागि पानीको पिर हुने गरेको थियो । अस्पताल सञ्चालक समितिका अध्यक्ष शंकर गिरिका अनुसार कुश्मा नगरपालिका–५ गोपाङघाटमा रहेको मूलबाट ‘लिफ्ट’ प्रणालीबाट पानी ताने अस्पतालको ट्यांकीमा खसालिएको छ । कालिगण्डकी नदी किनाराभन्दा केही माथि गोपाङघाटमा रहेको पानीको मूलबाट निस्कने पानीलाई करिब सात हजार लिटर बराबरको ट्यांकीमा संकलन गरिएको छ ।

संकलित पानी करिब आठ सय मिटर लम्बाइको पाइपमार्फत् मोटरले तानेर अस्पतालको ट्यांकीमा खसालिएको छ । अस्पताल परिसरमा रहेको एक लाख ५० हजार लिटर क्षमताको ट्यांकी जम्मा भएको पानीले अस्पतालका सबै कामका लागि सुविधा भएको छ । गण्डकी प्रदेश सरकारले अस्पतालको आफ्नै पानीको स्रोत निर्माण गर्न ५० लाख रुपैयाँ बजेट दिएपछि गत वर्षको चैतबाट योजना निर्माणको काम सुरु भएको थियो । निर्माण सुरु भएको चार महिनामा नै त्यो पनि २७ लाखमा नै पूरा भएको हो ।

‘हामीले ध्यानपूर्वक काम गर्दा ५० लाखको बजेटमा २३ लाख रुपैयाँ बचत गर्न सक्यौँ । असारबाटै अस्पतालमा गोपाङको पानी खसालेका थियौँ,’ उनले भने, ‘अहिलेसम्म परीक्षणको रूपमा हेरियो । लिफ्टमा केही समस्या आउँछ कि भनेको त्यस्तो केही भएन । अब अस्पताललाई आवश्यकता अनुसारको पानी खर्च गर्न सकिने भएको छ ।’ १५ शैया क्षमतामा सञ्चालनमा रहेको बेलामा आपूर्ति हुने गरेको पानी अहिले ६० शैयामा चलिरहेको अस्पताललाई यसै पनि कम भएको थियो । अस्पतालमा बनेका नयाँ भवनमा बनेका आधुनिक शौचालयको लागि पनि पानीको आवश्यकता बढेको थियो ।

यो योजना आएसँगै अस्पतालको सेवा पनि झनै प्रभावकारी बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए । अस्पतालमा आवश्यक सरसफाइ नहुँदा बिरामीको अवस्थामा झनै समस्या आउने तथा बिरामीका आफन्तमा समेत संक्रमण फैलिने जोखिम हुने भएकोले पानीको आपूर्ति २४ सै घण्टा हुनुपर्ने उनको भनाइ छ । पानीको सुविधा राम्रो भएसँगै डायलिसिस सेवा लिने बिरामीका लागिसमेत धेरै सुविधा भएको छ । अस्पतालमा डायलिसिस गर्ने बिरामीको संख्या अहिले २६ जना रहेको छ ।

डायालाइसिसका लागि चाहिने शुद्ध पानी निकाल्ने रीआरओ प्लान्टका लागि मात्रै दैनिक आठ देखि १० हजार लिटरको आवश्यकता पनि पूरा भएको छ । पानीको आपूर्ति नियमित भएसँगै अस्पताल सञ्चालक समितिका अध्यक्ष शंकर गिरि र अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सोही अवसरमा योजना निर्माणमा सघाएका तथा जग्गादाता रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्