Logo

अलैंचीको मूल्य चार वर्षयताकै उच्च

अलैंचीको मूल्य प्रतिमन (४० केजी) ९५ हजारदेखि एक लाख रुपैयाँसम्म कारोबार हुन थालेपछि किसान उत्साहित भएका छन् ।

बिर्तामोड– अलैंचीको मूल्य अकाशिएसँगै खेती गर्ने किसान उत्साहित भएका छन् । पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोतको रुपमा रहेको अलैंची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेपछि अलैंची खेती गर्ने किसान उत्साहित भएका हुन् । अलैंचीको मूल्य प्रतिमन (४० केजी) ९५ हजारदेखि एक लाख रुपैयाँसम्म कारोबार हुन थालेसँगै किसानमा उत्साह बढेको नेपाल अलैंची व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए ।

यस वर्षको शुरुवातमै अलैंचीको मूल्य किसानले राम्रो पाएको बताउँदै उनले त्यसले किसानलाई अलैंची खेती गर्न आकर्षित गराउने जनाए । उनले भने, ‘अलैंचीको बढेको मूल्य किसानले पाएका छन् । यसअघि अलैंची बिक्री गरिसकेपछि मात्र अलैंचीको भाउ आउँथ्यो । यस पटक भने किसानको घरमै अलैंची हुँदा मूल्य पाएकाले उनीहरुमा उत्साह थपिएको छ ।’

एक दशकदेखि ओरालो लागेको अलैंचीको मूल्य अहिले उच्च विन्दुमा पुगेको बताउँदै उनले झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैंचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको र अहिले गत वर्षभन्दा झण्डै तीन गुणाले बढेको जनाए । यो सिजनको शुरुवातमै अलैंचीको मूल्य ९५ हजारदेखि एक लाख रुपैयाँ प्रतिमनसम्म कारोबार भइरहेको बताउँदै उनले भने, ‘सिजनको शुरुवातमै अलैंचीको मूल्य प्रतिमन ९५ हजारदेखि एक लाखसम्म पुगेको छ । यो एक दशकपछिको बढी मूल्य हो । यसले किसानमा उत्साह थपेको छ ।’

भारत र भुटानमा अलैंचीको उत्पादन घटेका कारण मूल्यवृद्धि भएको उनको भनाइ छ । नेपालमा पनि अलैंचीको उत्पादन क्रमश: घट्दो अवस्थामा रहेको बताउँदै उनले गत वर्ष अघिल्लो वर्षको भन्दा ५० प्रतिशत उत्पादन घटेर देशभर करिब पाँच हजार मेट्रिक टन मात्रै उत्पादन भएको जनाए । यसपटक पनि गत वर्षभन्दा २० देखि २५ प्रतिशत अलैंचीको उत्पादन घट्ने उनको भनाइ छ । जलवायु परिवर्तनले रोग देखा पर्दा अलैंचीको उत्पादन घट्दो क्रममा रहेको बताउँदै उनले किसानले अलैंचीको बोट मर्न थालेपछि त्यसलाई निकालेर पुन: अलैंची रोपण गरेको जानकारी दिए ।

नेपालको ५३ जिल्लामा अलैंचीको खेती विस्तार भइसकेको बताउँदै अध्यक्ष भट्टराईले अलैंची उत्पादन भदौदेखि कात्तिक अन्तिमसम्म हुने जनाए । झापाको बिर्तामोड अलैंचीको कारोबार गर्ने मुख्य केन्द्र रहेको बताउँदै उनले नेपालमा उत्पादन हुने करिब ९९ प्रतिशत अलैंची बिर्तामोड हुँदै पूर्वीनाका काँकरभिट्टाबाट भारतीय बजारसम्म पुग्ने गरेको जनाए । यस वर्ष अलैंचीको मूल्यवृद्धि भए पनि यसको उत्पादन घटेको किसानहरु बताउँछन् ।

अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको बताउँदै अध्यक्ष भट्टराईले ठूलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैंची उक्त मूल्यमा खरिद–बिक्री हुन थालेको जनाए । ठूला र राम्रो दानाको प्रतिमन एक लाख, पुच्छर काटेको (कैँची कट भनिन्छ) लाई ९८ हजार र चलनचल्तीको (सुकाएर निकालेको) लाई ९५ हजारका दरले कारोबार भइरहेको छ । भोलि भाउ बढ्न सक्ने अनुमानमा कसले कति रिस्स मोलेर किन्ने भन्ने आफैंमा निर्भर हुने बताउँदै भट्टराईले अहिलेकै बजार मूल्य चाँहि झापा बिर्तामोडमा यही अनुसार हुने जानकारी दिए ।

स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैंचीको मूल्यमा सुधार आएपछि नेपालमा अलैंचीको मूल्य बढेको बताउँदै भट्टराईले यसलाई अलैंचीको बजारमा देखिएको सुधारको संकेत मान्नु पर्ने जनाए । नेपालमा उत्पादित ९० प्रतिशत बढी अलैंची झापाको काँकरभिट्टा नाका भएर भारत निर्यात हुने गरेको बताउँदै उनले जिल्ला र गाउँका व्यापारीले बिर्तामोडको दरभाउमा भाडा जोडेर खरिद गर्ने गरेको जानकारी दिए ।

पूर्वीनाका काँकरभिट्टाबाट निर्यात हुनेमध्ये सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने अलैंचीले पछिल्लो पाँच वर्षमा ३२ अर्ब विदेशी मुद्रा आर्जन गरिसकेको छ । चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब ८९ करोड ७६ लाख ६ हजार रुपैयाँ विदेशी मुद्रा नेपाल भित्र्याइसकेको छ । असोज मसान्तसम्मको तीन महिनामा १५ लाख २५ हजार नौ सय ६० केजी अलैंची निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार काँकरभिट्टा नाकाबाट चालु वर्षको पहिलो तीन महिनामा ७ सय ८३ ट्रन भारत निर्यात भएको छ । पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभालगायतका जिल्लामा अलैंची खेती हुने गरेको छ । मेची भन्सार कार्यालयका अनुसार काँकरभिट्टा नाकाबाट चालू वर्षको साउन १ गते यता असोज मसान्तसम्मको तीन महिनामा ७८३ टन अलैंची भारत निर्यात भएको छ । अलैंची संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ ।

पछिल्लो समय नेपालका ५३ जिल्लामा अलैंची उत्पादन हुने गरेको पाइन्छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेको व्यवसायी बताउँछन् । अन्ठान्नब्बे प्रतिशत अलैंची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्यांक छ । रोगले हराउँदै गएको अलैंचीलाई किसानले अलैंचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउन अलैंची पुन:रोपण गर्न थालेका छन् ।

अलैंचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले बताए । यस वर्ष शुरूमा आएको अलैंचीको मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको बताउँदै उनले हाल बजारमा कारोबार हुन थालेको अलैंचीको मूल्य राम्रो भएकाले अलैंची खेती गर्ने किसान तथा अलैंची व्यवसायी दुवैलाई यसले उत्साहित बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्