बजार सुनसान भएपछि व्यापारी पलायन
जनकपुरधाम– मधेश प्रदेशको राजधानी जनकपुरधाम बजारको व्यापार चलायमान हुन नसक्दा व्यापारीहरु पलायन हुन थालेका छन् । व्यापारीहरु धमाधम सटर बन्द गरी अन्यत्र जान थालेका हुन् । बजार चलायमान बनाउन जनकपुर उद्योग वाणिज्य संघले अथक प्रयास गरे पनि भाडा दर चर्को भएकाले यो सफल हुन सकेन । सरोकारवालाहरुले बजार जोगाउन घरभाडा दरमा एकरुपता हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले प्रभावकारी भूमिका खेल्न नसक्दा घरधनीहरुले मनपरी भाडादर कायम गरेको र व्यापारीहरु यहाँबाट सटर बन्द गरी अन्यत्र पलायन हुन थालेका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘बैंकको चर्काे ब्याजदर, आर्थिक मन्दी र मिटर व्याजीहरुको कारण रकमको अभाव तथा नेपाल भारत सीमा क्षेत्रमा हुने तस्करी जस्ता कारणले व्यापारीहरु आर्थिक संकटमा झेल्दै गरेकाले जनकपुरधाम बजारको अवस्था दयनीय रहेको छ ।’
उनका अनुसार अहिलेको आर्थिक संकटको समयमा आफूखुशी घरधनीले भाडा बढाउँदा बजार जोगाउन नसकिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिडअघि जनकपुरधाम बजारमा १० हजारभन्दा बढी व्यापारी रहेकोमा अहिले १५० सटर खाली भई व्यापारीहरु अन्यत्र पयालयन भइसकेका छन् भने बाँकी रहेका पसलहरु क्रमिक रुपमा खाली हुँदै गएका छन् ।
चेम्बर अफ कमर्स धनुषाका अध्यक्ष विजय साह भन्छन्, ‘आर्थिक मन्दी र खुला सीमाको कारण तस्करी बढेकाले जनकपुरधामको बजार व्यापार प्रभावित भएको छ ।’ मिटरब्याजीको कारण साहु महाजनहरुले सर्वसाधारणलाई ऋण दिन नमानेकोले पैसाको अभावमा बजारमा ग्राहकको चहलपहल नभएको र घरधनीहरुले चर्को भाडा लिने गरेकोले बजार चलायमान हुन नसकेको भन्दै शिवचौकका युवा व्यापारी जानी खानले भने, ‘बजार जोगाउन घरधनीले चासो नदिएकाले भोलिका दिनमा घर कुर्ने मान्छे खोज्नुपर्ने आवस्था नआउला भन्न सकिँदैन ।’
बजार बचाउने हो भने घरधनीले चर्को घरभाडा नलिएर घटाउनुपर्ने व्यापारीहरुको माग छ । कोभिड महामारी, रुस-युक्रेन युद्धका कारण विश्वको आर्थिक अवस्थामा आएको गिरावट लगायतका कारणले जनकपुरधामको व्यापार घटेको हो । पीडित व्यापारीहरु भन्छन्, ‘घरधनीहरु घरभाडा समायोजन गर्न तयार नहुने हो भने व्यापार व्यवसाय स्थानान्तरण भई घर खाली रहने अवस्था आउने छन् । जनकपुरधाम बजार सेलाउँदै जाने भएकोले यसप्रति घरधनीहरुले सोच्नैपर्ने अवस्था आएको छ ।’