कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नै भवनमा
जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ । २०६८ सालमा स्थापना भएको प्रतिष्ठान हालसम्म भाडाकै घरमा थियो । झण्डै १३ वर्षपछि प्रतिष्ठानले अध्यापन गर्नका लागि आफ्नो नयाँ शैक्षिक भवन पाएको हो ।
७६ करोड लगानीमा निर्माण भएको प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहका लागि जुम्ला आएका प्रधानमन्त्रीले भवन उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रतिष्ठानको सिनेट बैठक, भवन उद्घाटन र दिक्षान्त कार्यक्रम गरिएको थियो । भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विकासमा सरकार गम्भीर रहेको बताए । दुर्गम कर्णालीसहित पश्चिम नेपालको भरोसा केन्द्र बनेको प्रतिष्ठानको अध्ययन–अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उनको सुझाव छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह गर्न सफल भयौं । यो हाम्रो गौरवको कुरा हो । कुनै बेला डाक्टर नपाइने ठाउँमा अहिले दक्ष जनशक्ति दीक्षित भएका छन् । अब कर्णालीको स्वास्थ्य सेवाले थप गति लिने विश्वास छ । अब कर्णाली बन्दैछ । यहाँका सम्भावनाले कर्णाली दुर्गम रहेन । अब चुनौतीहरु घटेका छन् ।’
कृषि, पर्यटन, भाषा, साहित्यसँगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको उनले बताए । दीक्षित भएका विद्यार्थीलाई अझै इमानदारीका साथ राष्ट्रप्रति कर्तव्यनिष्ट भएर सेवा दिन उनले आग्रह गरे । साथै दैलेखको राकम कर्णालीमा बन्ने एक सय शैय्याको अस्पताल र ट्रमा सेन्टर निर्माणमा समेत सरकारको ध्यान पुगेको उनले उल्लेख गरे ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णाली प्रतिष्ठानलाई दक्ष जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । उनले दीक्षित भएका सबै विद्यार्थीले अनिवार्य कर्णालीमै सेवा गर्नुपर्नेमा जोड दिए । हाल प्रतिष्ठानमा १४ वटा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनमा छन् । त्यसका लागि एक सय प्रोफेसर छन् । प्रतिष्ठानको आफ्नै आवास र शैक्षिक भवन नहुँदा घर भाडामा लिनुपर्ने बाध्यता थियो । यसका लागि वर्षेनि करोडौं खर्च भइरहेको थियो ।
जुम्लामा आउने प्रोफेसरहरुलाई टिकाइराख्न तथा प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरुलाई दिगो रुपमा सञ्चालन गर्न प्रतिष्ठानले आफ्नै शैक्षिक, प्रशासनिक तथा आवास भवन बनाउन थालेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । भौतिक संरचनाका अभावले भाडाका घरमा बस्नुपर्ने बाध्यता अझै रहेकोले सरकारबाट सहयोगको अपेक्षा गरिएको उनले उल्लेख गरे ।
शैक्षिक भवनसहित सिनियर २५ जना प्रोफेसरका लागि सुविधायुक्त भवन पनि बनेको छ । २५ जना जुनियर प्रोफेसरका लागि पनि भवन बनेको छ । दुई क्वाटर ब्लकमा एकलदेखि परिवारसहित बस्नेसम्मको सुविधा छ । चेरे चौरमा निर्माणाधिन संरचना बाहेक अन्य सबै पूर्वाधार निर्माण कार्य सकिएको छ ।
सन् २०२१ मार्च २१ मा सम्झौता भई दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी स्टाफ क्वाटर, शैक्षिक भवन, बेसिक साइन्स ब्लक र एनएलआई ब्लक निर्माण कार्य सुरु भएको थियो । कोरोना, भौगोलिक विकटता, बजेट अभाव, जनशक्ति अभाव लगायतका कारण तीन वर्षमा चेरे बाहेकका सबै संरचना निर्माण गरिएको प्रोजेक्ट इन्जिनियर सुनिलराज आचार्यले बताए । उनले भने, ‘सात तलाको शैक्षिक भवनमा सुविधायुक्त कक्षाकोठा सहितका ७० भन्दा बढी कोठाहरु छन् । त्यस्तै विज्ञान प्रयोगशाला, व्यवस्थित मिटिङ रुम, पदाधिकारीको कार्यकक्ष, प्रशासन विभाग, विभिन्न फ्याकल्टीको कोठा, शौचालय छन् । दुई स्टाफ क्वाटर भवनमा २५-२५ वटा सुविधायुक्त कोठा छन् ।’
भवन निर्माणका लागि भ्याटसहित ७६ करोड लागतमा रसुवा-लामा-क्षमा जेभीले ठेक्का पाएको थियो । निर्माण कम्पनीले कोरोनाको कहरदेखि हरेक कठिनाइको सामना गर्दै साढे तीन वर्षमा भवन चेरेबाहेक अरु सबै भवन सम्पन्न गरेको प्रोजेक्ट इन्जिनियर आचार्यको भनाइ छ ।