मर्जरमा गए दुई ब्रोकर एसोसिएसन
काठमाडौं– स्टक ब्रोकर्स एसोसिएसन र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच बुधबार मर्जर सम्झौता भएको छ । सम्झौतापत्रमा स्टक ब्रोकर्सका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्सका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरे ।
दुई संस्था मर्जर भएपछि स्टक ब्रोकर्स एसोसिएसनको नामबाट सञ्चालनमा आउनेछ । पछिल्लो समय सेयर बजारमा देखिएका विकृति–विसंगतिलाई हटाउँदै बजारको विकास र विस्तार गर्न दुई संस्था एक भएर अघि बढ्नुपरेको अध्यक्ष ढकालले जानकारी दिए । ‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रवीकरण नयाँ र पुरानाबीच देखिएको थियो, त्यो धु्रवीकरण यो समझदारीसँगै समाप्त भएको छ,’ उनले भने, ‘यसले पक्कै पनि पुँजी बजारलाई सहयोग गर्नेछ ।’
करिब २३ वर्षपछि धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायीमैत्री बनाउन मर्जरपछि एक भएको संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । उनले नेपालको पुँजी बजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजार लगायतका विषयमा अगामी दिनमा ठोस रुपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटिको डेरिभेटिभ, इण्डेक्स फण्ड लगायतका लगानी औजारहरुको विकास गर्न ढिला भइसकेको बताए । यसैगरी अक्सन मार्केट, मार्केट मेकर, सिसिपिलगायत पूर्वाधारको व्यवस्था गर्नुपर्ने बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाइ छ ।