स्याङ्जामा २० करोडको सुन्तलामा क्षति
स्याङ्जा– स्याङ्जामा २० करोड रुपैयाँबराबरको सुन्तलामा क्षति पुगेको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तालमा २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका अनुसार पतेरोको आक्रमण, फल कुहाउँने औंसा किरा र असिनाका कारण सुन्तलामा ठूलो क्षति भएको बागवानी विकास अधिकृत विकाश विकले बताए । उनले साउनदेखि नै पतेरोलागयतका रोगकिराका कारण नोक्सानी भोगेका किसानले पछिल्लो ४ कात्तिकमा परेको असिना पानीले झनै क्षति बेहोर्नु परेको बताए ।
असिना ठूला नपरेको भए पनि सानो असिना बाक्लो परेको र त्यसले चोट लागेको सुन्तला विस्तारै संक्रमित भएर झरेको कार्यालयका प्रवक्ता समेत रहेका बागवानी विकास अधिकृत विकले जानकारी दिए । पछिल्लो असिना पानीका कारण स्याङ्जाको पुतलीबजार नगरपालिका–१० देखि १३ का साथै भीरकोट नगरपालिकाको– ७ मा धेरै क्षति पुगेको छ । असिना पानीकै कारण त्यस क्षेत्रका किसानको ५० लाखको हाराहारीमा सुन्तला झरेर नष्ट भएको उनले बताए । स्याङ्जामा यो वर्ष साउनदेखि पतेरो, फल कुहाउने औंसा किरा र असिना पानीले गर्दा फलमा चोट लागेर भएको संक्रमणका कारण समग्रमा २० करोड रुपैयाँभन्दा धेरैको क्षति भएको उनले बताए ।
किसानले सुन्तला टिप्ने समय आउन अझै झण्डै एक महिना बाँकी छ । मंसिर अन्तिमदेखि पुस महिनाभर बारीमा पुगेर व्यवसायीहरूले सुन्तला लैजाने गर्छन् । पुतली बजार ११ का किसान चित्रबहादुर थापाले सुन्तला दिन प्रतिदिन झर्दै गएको र अहिले बोटमा भन्दा धेरै भुइँमा झरेको बताए ।
उनले सुन्तला टिप्न नै नपाइने होकी भन्ने चिन्ता लागेको सुनाए । ‘सुन्तला फूल खेल्दैदेखि झर्न थालेको हो,’ उनले भने,‘अहिले जति टिप्ने बेला भयो त्यति धेरै झर्दै गएको छ ।’ सबै झरेर टिप्न नै नपाइने हो की भन्ने चिन्ताले सताएको थापाले बताए ।
स्याङ्जामा एक हजार पाँच सय हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । प्रति हेक्टर १६ मेट्रिक टनका दरले उत्पादन हुने गरेको छ । यस वर्ष एक अर्ब ४४ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन हुने र एक अर्ब रुपैयाँ बराबरको सुन्तला निर्यात गरिने हमालले जानकारी दिए ।
जिल्लाका किसानहरू सुन्तला खेतीतर्फ आकर्षित हुने क्रम बढ्दो छ । विगतका वर्ष र चालु वर्षमा लगाइएको सुन्तलाले आगामी वर्षहरूमा उत्पादन दिँदै जाँदा बढ्दै जाने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा उत्पादित सुन्तला निर्यात हुनुका साथै चालु वर्षदेखि सुन्तलाबाट वाइन बनाउने उद्योग समेत सञ्चालनमा आएका छन् ।