बागलुङको छुर्पी अमेरिकातर्फ
पर्वत– पछिल्लो समय बागलुङमा उत्पादित छुर्पी अमेरिका निर्यात हुने थालेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघले जिल्लाभर ताजा दुध संकलन गरी छुर्पी उत्पादन गर्न थालेपछि अमेरिका निर्यात हुन थालेको हो । बागलुङमा उत्पादित छुर्पी काठमाडांै हुँदै सोझै अमेरिका निर्यात हुने गरेको पाइएको छ । ८ करोडको दूध तथा दुग्ध जन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार रुपैयाँको छुर्पी निर्यात गरेको जानकारी दिएको छ ।
‘दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमका अनुसार सहकारीबाट उत्पादन भएको दूध, दही, घिउ, पनिर, छुर्पी र खुवा उत्पादनमध्ये छुर्पीको अन्तर्राष्ट्रिय बजार रहेको छ । ‘दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रिय स्तरको छ,’गौतमले भने,‘काठमाडौंको सप्लार्यसले हाम्रो सहकारीमा उत्पादन भएको सबै छुर्पी खरिद गरेर अमेरिका पठाउँछन् । गत आर्थिक वर्षको तथ्यांक अनुसार साढे ३८ लाखको छुर्पी निर्यात भएको छ ।’
बागलुङ दुग्ध उत्पादक सहकारी संघमा झण्डै एक हजार पाँच किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउने गरेका छन् । संघले दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घिउ, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गर्न सफल भएको छ । अहिले छुर्पीलाई सहकारी संघले प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ ।
सहकारीमा आबद्ध किसानले सहकारीमा आबद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चित भएकोले दूध उत्पादनमा हौसला मिलेको उनीहरुले बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलन भएको दूध बागलुङ बजारको घर–घरमै लगेर बिक्री गरेर सेवा प्रदान गर्दै आएको सहकारीका लेखापाल गणेश खड्काले बताए ।
कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले संकलन गर्ने र सहकारी संघले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियान्ता राम बहादुर जिसीले बताए । उनले सहकारी संघले उत्पादन गरेको छुर्पी काठमाडौं सप्लाई गरेर काठमाडौंबाट अमेरिकामा निर्यात हुने गरेको बताउँदै पछिल्लो समय छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा सहकारीले २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो । विदेशमा कुकुर र बिरालोको दानाको रूपमा छुर्पी निर्यात हुने गरेको छ । नेपालबाट निर्यात हुने छुर्पीमध्ये ४० प्रतिशत छुर्पी अमेरिका निर्यात हुने गर्छ । दैनिक एक हजार पाँच सय कृषकले १४ वटा सहकारीमार्फत काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका भित्रका किसानले संकलन गरेको दूध खरिद गरेर संघले बजारीकरण गर्दै आएको छ ।