Logo

पर्यटकीयस्थलमा तीन करोड बढीका पूर्वाधार थपिँदै

पर्वत– पर्वतमा चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीका पर्यटन पूर्वाधार निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्लाका सातवटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा तीन करोड २० लाख रुपैयाँ बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो । जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न लागेको कार्यालयले जनाएको छ ।

जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी १३ वटा, मोदी गाउँपालिकामा नौ, जलजला गाउँपलिकामा सात, फलेवास नगरपालिकामा ६, पैंयुँ गाउँपालिकामा तीन, विहादी र महाशिलामा दुई, दुईवटा योजना कार्यान्वयन गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोक नेपालीले जानकारी दिए ।

पर्यटकीय संरचनामा मन्दिर निर्माण, तथा जीर्णोद्धार र रंगरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैंचा तथा पार्क निर्माण, घरबास सुधारलगायतका संरचना बनाइने भएको छ । पछिल्लो समय शाहसिक पर्यटनको हब बन्दै गएको पर्वत सदरमुकाम कुश्माबजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा समेत पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गर्न लागिएको हो ।

नेपालीका अनुसार कुश्मा नगरपालिकामा एक करोड पाँच लाख, मोदीमा ८० लाख, जलजलामा ५० लाख, फलेवासमा ३५ लाख, पैंयुँ गाउँपालिकामा २० लाख, महाशिलामा २० लाख र विहादी गाउँपालिकामा ३२ लाख बजेट विनियोजन भएको छ । सबै योजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्यान्वयनको तयारी भइरहेको कार्यालय प्रमुख नेपालीले वताए । पर्वतका सातवटै पालिकामा गरी ६२ वटा घरबास सेवासमेत सञ्चालनमा रहेका छन् ।

कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा ६, महाशिला गाउँपालिकामा ९, पैंयुँमा तीन र विहादीमा सातवटा होम–स्टे सेवा सञ्चालनमा रहेका छन् । यी सामुदायिक होम–स्टे हुन् भने दुईवटा निजी होम–स्टेसमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख नेपालीले बताए ।

पर्यटकीय पूर्वाधारले होम–स्टेमा आउने पर्यटकलाई समेत सुविधा पुग्नुका साथै थप आकर्षणसमेत थप्ने विश्वास कार्यालयले लिएको छ । पछिल्ला केही वर्षयता पर्वत शाहसिक पर्यटकको गन्तव्यको रूपमा समेत विकास भएको छ । सदरमुकाम कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जि, स्वीङ, विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन, र्‍याफ्टीङ, क्यानोनिङ लगायतमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र र घरबाससम्म पुर्‍याउनका लागि पनि नयाँ थपिने पूर्वाधारले आकर्षित गर्ने कार्यालय प्रमुख नेपालीले बताए ।

जिल्लामा पर्यटकीय सिजनमा दैनिक सयौंको संख्यामा बाह्य पर्यटक र दैनिकजसो भित्रिने आन्तरिक पर्यटकको संख्या उल्लेख्य मात्रामा रहे पनि पर्यटन सूचना केन्द्र नहुँदा तथ्यांक राख्न समस्या भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । जिल्लामा भित्रिने पर्यटकको वार्षिक तथ्यांक नहुँदा थप योजना निर्माणमा समस्या भएको कार्यालय प्रमुख नेपालीले बताए । गण्डकी प्रदेश सरकारमार्फत् गत आर्थिक वर्ष विसं २०८०/०८१ मा तीन करोड ९० लाख रुपैयाँ बराबरका ५५ वटा पर्यटन पूर्वाधार निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्