Logo

जुम्लाको त्रिवेणी–टोप्ला सडक अस्तव्यस्त

जुम्ला– तातोपानी गाउँपालिकाको वडा नं. ७ र ८ दुर्गम भेरीखोलाई जोड्ने एकमात्र माध्यम हो त्रिवेणी–टोप्ला सडक । उक्त सडक सञचालन भएको वर्षाैं बित्दा पनि सामान्य ग्राभेलसमेत नहुँदा नागरिकले सास्ती पाएका छन् । छिमेकी जिल्ला जाजरकोटसँंग जोड्ने एकमात्र मार्ग भए पनि स्तरोन्नतिमा त्यस क्षेत्रका नेतादेखि सम्बन्धित निकाय सडक डिभिजनले समेत बेवास्ता गर्दा त्रिवेणी–टोप्ला सडक अस्तव्यस्त बनेको हो ।

नेतृत्वकै हिसाबले हेर्दा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर शाही, माओवादी केन्द्रका महिला नेतृ तथा पूर्वराज्यमन्त्री गोमा कुँवर गौतम, नेकपा एमालेबाट दुई पटक पालिका अध्यक्ष उम्मेदवार बनेका र केन्द्रमा राम्रो पकट भएका सुरतबहादुर शाही भेरीखोलाकै स्थानीयबासी हुन् । जिल्लादेखि राष्ट्र हाक्न सक्ने नेता जन्माएको भेरीखोलाले हालसम्म त्रिवेणी–टोप्ला सडक स्तरोन्नति गर्ने पर्याप्त बजेट पाउन सकेको छैन ।

पालिकाको बजेट बर्खाको पहिरो पन्छाउन ठिक्क छ भने सडक डिभिजनले सधै बजेट अभावले काम गर्न नसकेको बताउँदै आएको छ । आफ्नै दुनो सोझ्याउन व्यस्त नेताले जनताको जनजीवनसँंग जोडिएको सडक सुधारमा ध्यान दिन नसकेको भेरीखोलाका नागरिकको गुनासो छ । भेरीखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी विकास गर्ने भने पनि सडकको दुरावस्थाले पालिकाका जनप्रतिनिधिदेखि सांसदलाई सडकले गिज्याइरहेको भेरीखोलाका नागरिकले गुनासो पोखेका छन् ।

त्रिवेणी–टोप्ला सडक हेर्ने निकाय सडक डिभिजन जुम्लाले त्यस क्षेत्रको सडक स्तरोन्नतिमा गम्भीरता देखाएको छैन । दैनिक रूपमा त्रिवेणी–टोप्ला सडक खण्डमा ४/५ वटा डबल क्याप बोलेरो जीप गुड्छन् । ५/६ जनाको मात्रै सिट क्षमता भएको जीपमा झण्डै २५/३० जनासम्म यात्रु हालेको समेत भेटिएको छ । एक लेनको साँघुरो, खाल्डाखुल्डी भएको, हिलो धुलो भएको सडकमा जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् ।

स्थानीय जनप्रतिनिधिदेखि सांसदले ज्यान दाउमा लगाएर यात्रा गर्न बाध्य नागरिकको समस्या बुझ्न नसकेको टोप्लाका स्थानीय प्रेमबहादुर शाहीले बताए । भेरीखोला क्षेत्रले पार्टी सभापतिदेखि पूर्वमन्त्री, देशकै चर्चित सांसद ज्ञानेन्द्रबहादुर शाहीसमेत पाएका छाैं । उनले भने, ‘नेतै नेता जन्माएको भेरीखोलाले दैनिक जनजीवनसँंग जोडिएको सडकको दुरावस्था हुँदासमेत कसैले ध्यान दिएका छैनन् । स्थानीय सरकार आफ्नो कार्यक्षेत्रमा पर्दैन भनेर पन्छिने । बर्खाको समयमा बाढी आएर कति बाइक बगेका छन् । हिउँदमा धुलो बर्खामा हिलोको सास्ती उस्तै छ । नेताहरू चासो नदिने, कहिलेसम्म ज्यान दाउमा राखेर यात्रा गर्ने ?’

बर्खाको समयमा हुने अवरुद्ध हटाउन तातोपानी गाउँपालिकाले आफ्नो लगानी अवरुद्ध खुलाउने काम गर्दै आएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इं बताउँछन् । सडक डिभिजनले काम गर्छौं भन्दै टार्ने गरेको छ । उनले भने, ‘यस क्षेत्रका नेतामात्रै जुटेर संघ प्रदेश धाएको खण्डमा त्रिवेणी–टोप्ला सडकका लागि पर्याप्त बजेट आउने सम्भावना छ । तर आजसम्म पहल भएको देखिएन । अब सबै नेतालाई लिएर बजेट माग्न जाने सोचमा छु ।’

विगतका वर्षमा बाढीपहिरो आएका बेला अवरुद्ध सडक खुलाउन पालिकाले गरेको खर्चलाई मलेपले बेरुजु देखाएको छ । जनताको हितका लागि काम गर्दा बेरुजु देखाए पनि पालिकाको सानो लगानीले सडक ग्राभेल हुने स्थिति छैन । त्यसैले ठूलो बजेट जुटाउन साझा पहल जरुरी रहेको अध्यक्ष चौलागाईंको भनाइ छ । माओवादी नेतृ तथा पूर्वराज्यमन्त्री गोमा कुँवर गौतमले चुनाव हारे पनि हाम्रै पहलमा गत वर्ष त्रिवेणी–टोप्ला सडक स्तरोन्नतिका लागि पाँच करोड बजेट विनियोजन गर्न लगाएको दाबी गरिन् ।

त्रिवेणी–टोप्ला सडकको त्रिवेणीदेखि नुवाकोटसम्म ग्राभेल भएको हाम्रो पहलमा भएको हो । उनले भनिन्, ‘गत वर्ष हाम्रो पहलमा बजेट आयो काम पनि भयो । तर त्यतिबेला जस लिन निकै होडबाजी चल्यो । मैले गर्दा भयो भनेर भन्दिन । विकासमा राजनीति गर्नु उचित पनि होइन । अहिले पनि बजेट नहाल्ने र तर जस लिन होडबाजी गर्ने सांसदको लहर छ । तर निर्वाचनमा पराजय भए पनि मैले त्रिवेणी–टोप्ला सडकको विकासका लागि सकेजति पहल गरेकी हुँ ।’

‘अन्य पार्टीका नेताले के गरे भन्ने मलाई थाहा भएन । हाल बहाल रहेका सांसदहरूले कहाँ बजेट हाल्न उपयुक्त छ भनेर सोध्दैनन् । गत वर्ष हाम्रै पहलमा हाल्दा हामीले गरेको भनेर अरुले जस लिन खोजे । तर सडकको स्तरवृद्धिका लागि पहल गरिरहेकै छाैं,’ उनले भनिन् । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले उक्त त्रिवेणी–टोप्ला सडकको सुरु विन्दुबाट नुवाकोटसम्मको ग्राभेल गर्ने काम भएको बताए ।

सडककै दुरावस्थाका कारण जनताले सास्ती पाए पनि बजेट अभावका कारण काम गर्न नसकिएको उनको भनाइ छ । उक्त सडक स्तरोन्नतिको लागि भने दुई वटा ठेक्का लगाएर काम भइरहेको छ । यद्यपि उक्त सडक स्तरोन्नतिका लागि चालु आवमा थप बजेट नभएको प्रमुख चौधरीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्