अपर तामाकोसी मंसिर पहिलो साता सञ्चालनमा आउने
दोलखा– सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र (४५६ मेगावाट) मंसिर पहिलो साता पुन: सञ्चालनमा आउने भएको छ । असोज १२ गतेको पहिरोले क्षतिग्रस्त संरक्षण मर्मतको काम जारी रहेकाले अब १० दिनमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो ।
जलविद्युत केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रेभीरमा सडकसमेत क्षति भएपछि माथिल्लो तामाकोसी पुन: सञ्चालनमा ढिलाइ भएको हो । माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितका अनुसार क्षतिग्रस्त बालुवा थिग्राउने पोखरी र बक्स कल्भर्टमा क्षति पुगेको छ । अहिले क्षति भएको संरक्षणको सफा गर्ने काम चलिरहेको छ । अब कम क्षति भएको बायाँतर्फको पोखरी र कल्भर्टमा कंक्रेटिङको काम सुरु हुन्छ । यो कंक्रिटको काम पूरा भएपछि विद्युत उत्पादन सुचारु गर्ने लक्ष्य भएको उनले भने ।
बालुवा थिग्राउने पाखरीको पानी भरिने सतह १९८७ मिटर उचाइसम्म हो । तर माथिबाट ठूलो ढुंगा आएर पोखरीमा खस्दा १९८३ मिटरसम्म क्षति भयो कि भन्ने प्रारम्भिक अनुमान थियो । तर सफा गरेर भित्र हेर्दा १९७६ मिटरसम्म क्षति भएको पाइएकाले सफा गर्न नै समय लागेको हो । माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति छ । अहिले तत्कालका लागि कम क्षति भएकोलाई मर्मत गरी विद्युत उत्पादन सुचारु हुन्छ ।
आपत्कालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाई हिमालमार्फत् सफा गर्ने र मर्मतको काम जारी छ । बढी क्षति भएको र सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐनअन्तर्गत नयाँ ठेक्का लगाउने तयारी छ । नयाँ ठेक्का लगाउँदा पनि वर्षात् अघि काम पूरा गर्ने गरी तयारी भएको उनले बताए । बायाँ पोखरी ममर्तपछि नदी प्रवाह (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी छ ।
दुईवटै पोखरी सञ्चालनमा आउँदा बाँधमा पानी जम्मा गरेर आवश्यक समय साँझ र बिहान ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो । तर एउटामात्रै पोखरी चल्ने हुँदा अधिकतम दुई सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने अनुमान रहेको प्रबन्धक रञ्जितले बताए । नदीमा आएको पानी सिधै पोखरीमा हाल्दा अहिले १७० मेगावाट र अति सुक्खा समयमा ९० मेगावाटसम्म मात्रै उत्पादन हुने अुनमान छ । पहिरोले माथिबाट १० मिटर अग्लो ढुंगो झरेर बसेको थियो । ढुंगा र लेदो सबै सफा भइसकेको छ ।
पहिरो र बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरणअनुसार एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सीईओ मोहन गौतमले बताए । माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ । कम्पनीले पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत सुरु गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरवेक्षणका लागि एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुन: निर्माणको काम गर्नेछ ।