आधुनिक तरकारी बजार स्थापना हुने

हेटौंडा-प्रदेश–३ को राजधानी हेटौंडामा करिब साढे ४२ करोड रुपैयाँ लागतमा आधुनिक तरकारी तथा फलफूल बजार निर्माण हुने भएको छ । हेटौंडा–११ थानाभ-याङमा दुई बिघा क्षेत्रफलमा प्रादेशिक तरकारी तथा फलफूल थोक बजारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको हो ।
प्रदेश ३ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा अबको दुई वर्षभित्र सम्पन्न गर्ने गरी थोक बजार निर्माण गर्न लागिएको हो । थोक बजारको लागि प्रदेश सरकारले ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको छ । किसान तथा उपभोक्ताको हितका लागि आधुनिक तरकारी बजार निर्माण गर्न प्रदेश सरकार लागिपरेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए । तरकारी बजारको डीपीआर स्वीकृत गरी तत्कालै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरिने मन्त्री लामाले बताए । “आईईई रिपोर्टपछि हामी तत्कालै ठेक्का प्रक्रियामा जान्छौं । बढीमा दुई वर्षभित्र हेटौंडामा नमुना तरकारी बजारको निर्माण भइसक्छ,” मन्त्री लामाले भने ।
चितवनको स्वराज कन्सल्टेन्टले निर्माण गरेको डीपीआर अनुसार आधुनिक तरकारी बजार निर्माण सम्पन्न गर्न अनुमानित ४२ करोड ४९ लाख ७० हजार रुपैयाँ खर्च हुनेछ । तरकारी बजारभित्र ४० वटा थोक बिक्री केन्द्र निर्माण हुनेछन् भने ३० वटा खुद्रा बिक्री केन्द्र रहनेछन् । आफ्नो उत्पादन आफैंले खुद्रा बिक्री गर्न चाहने किसानका लागि छुट्टै ब्लक स्थापना गरिनेछ । उक्त ब्लकमा किसान आफैंले निर्धारित मूल्यअनुसार तरकारी तथा फलफूलको खुद्रा बिक्री गर्न सक्नेछन् ।
तरकारी बजारभित्र कोल्डस्टोर, क्यान्टिन, एटीएम सुविधा, व्यवस्थित पार्किङको सुविधा, जेनेरेटर सबस्टेसन, आधुनिक अग्नि नियन्त्रण यन्त्र, व्यवस्थित तौल पुल, शौचालयलगायतका सुविधा हुनेछन् । व्यवस्थित तरकारी बजारमा दैनिक करिब ९ हजार मेट्रिकटन तरकारी तथा फलफूल खरिदबिक्री गर्न सकिने अनुमान गरिएको डीपीआर निर्माण कम्पनी स्वराज कन्सल्टेन्टका प्रतिनिधि सुदर्शन सेढार्इंले बताए । संघीय सरकारले उक्त तरकारी बजारको एक वर्षअघि नै डीपीआर तयार गरेता पनि प्रदेश र स्थानीय तहलाई लगानी गर्न आग्रह गरेसँगै पुनः डीपीआर गरिएको हो । संघीय सरकारले तयार गरेको डीपीआरअनुसार करिब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । उक्त डीपीआरअनुसार लगानी गर्न नसकिने भन्दै प्रदेश सरकारले लागत मूल्य घटाउने गरी पुनः डीपीआर गरेको हो । पुनः डीपीआर गर्दा प्रशासनिक भवन, थोक तथा खुद्रा बिक्री कक्ष, एटीएम ब्लकलगायतमा लगात कट्टा गरी करिब ७० करोडबाट करिब साढे ४२ करोडमा झारिएको हो ।
डीपीआरमाथि मन्त्रालयमा भएको छलफलमा बोल्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रादेशिक कृषि बजार निर्माणपछि प्रदेशको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुग्ने दाबी गरे । तरकारी बजारको स्थापनापछि किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सुलभ मूल्यमा तरकारी तथा फलफूल प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । तरकारी बजार निर्माणका लागि प्रदेशले बहुवर्षीय योजनाअनुसार चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको छ भने हेटौंडा उपमहानगरपालिकाले पनि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
चालू वर्षभित्र ठेक्का सम्झौता गरी काम सुुरु भएमा अर्को वर्ष आवश्यक बजेट जुटाइने प्रदेश कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रदेशको कृषि क्षेत्रको ठूला तीन आयोजनामध्ये आधुनिक तरकारी बजार निर्माण पनि एक भएको भन्दै कार्कीले बजार निर्माणपछि सयौं जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीसमेत पाउने उनले दाबी गरे । कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले ठूलो लगानीमा चितवनमा दुग्ध प्रशोधन प्लान्ट र मकवानपुरमा कृषि औजार कारखाना स्थापनाको तयारी भइसकेको पनि मन्त्रालयका सचिव कार्कीले जानकारी दिए ।