सुदूरपश्चिम सरकारको एक सय दिनको उपलब्धि
१८ किलोमिटर सडक कालोपत्रे
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले गठन भएको एक सय दिनमा साढे १८ किलोमिटर सडक कालोपत्रे गरेको दाबी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको एक सय दिन पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै १८.५ किलोमिटर सडक कालोपत्रे र २७ किलोमिटर सडक ग्राभेल गरेको दाबी गरेको छ ।
मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै १५ किलोमिटरको सहजपुर–निगाली सडक र १३ किलोमिटरको चान्देव–लालझाडी–पुनर्वास सडक निर्माणका लागि एक अर्ब पाँच करोड रुपैयाँको लागतमा खरिद प्रक्रिया भइरहेको बताए । उनले दुईवटा पुलको निर्माण सम्पन्न भएको र एउटा पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको जनाएका छन् ।
उनले झोलुंगे पुलका १६ हजार मिटर लठ्ठा खरिद गरिएको बताए । उनले ३० वटा झोलुंगे पुल निर्माणका लागि स्थानीय तहलाई परामर्श सेवा दिइएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा १८ अर्ब ७६ करोड २४ लाख पुँजीगत बजेट विनियोजन गरिएकोमा ५.९७ प्रतिशत खर्च भएको प्रदेश सरकारको एक सय दिने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख बजेट रहेकोमा ११ प्रतिशत खर्च भएको उल्लेख छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको हालसम्म आठ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ६० करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २४ प्रतिशत (३८ करोड ४५ लाख ३० हजार रुपैयाँं) संकलन गरेको मुख्यमन्त्री शाहले बताए । स्थानीय तहका लागि विनियोजित तीन अर्ब ३८ करोड १७ लाख रुपैयाँ वित्तीय हस्तान्तरणमध्ये प्रदेश सरकारले हस्तान्तरण गर्न सकेको छैन ।
प्रदेश सरकारले एक सय दिनमै बडिमालिका, साँफेबगर र गोदावरी नगरपालिकामा एक/एक वटा कोल्ड च्याम्बर बनाएको दाबी गरेको छ । मुख्यमन्त्री शाहले ५६५ हेक्टर जमिनमा व्यावसायिक आलुखेती विस्तार गरेको जनाएको छ । गेटामा रहेका प्लान्टबाट २५ सय लिटर तरल नाइट्रोजन उत्पादन गरी चार हजार २५० भैंसी, गाई र बाख्रामा कृत्रिम गर्भाधान गरेको, २० हजार पशुपन्छीलाई उपचार सेवा दिएको लगायत प्रदेश सरकारको कृषि तथा पशु विकासतर्फ उपलब्धि गरेको जनाएको छ ।
यसैगरी उद्योग, पर्यटन, वन तथा ऊर्जातर्फ १०.५ हेक्टर जमिनमा टिमुरलगायतका जडिबुटीको विरुवा रोपिएको, ७०८ वटा उद्योग अनुगमन गरिएको, ११६ वटा सामुदायिक वन व्यवस्थापन कार्ययोजना नवीकरण गरिएको, वन पैदावार बिक्रीबाट एक करोड ६० लाख ६३ हजार रुपैयाँ आम्दानी गरिएको लगायतका उपलब्धि प्रदेश सरकारले सार्वजनिक गरेको छ । मुख्यमन्त्री शाहले सेती प्रादेशिक अस्पताललाई संघीय सरकारलाई हस्तान्तरण गरी गेटा अस्पतालमा शैक्षिक गतिविधि अगाडि बढाउने तयारी भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली समेत सो विषयमा सकारात्मक भएपछि मन्त्रिपरिषद्को निर्णयबाट संघीय सरकारलाई सेती प्रादेशिक अस्पताल संघलाई हस्तान्तरण गर्ने तयारी थालिएको बताए । उनले सुदूरपश्चिम प्रदेशको आफ्नै विश्वविद्यालय सञ्चालन गर्नका लागि टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकको मस्यौदा बनाइरहेको बताए । प्रदेश सरकारले सुदूरपश्चिमको प्रदेश राजधानी घोषणा भएको ठाउँमै राजधानी बनाउन संघीय सरकारले छिट्टै अनुमति नदिएमा प्रदेश सरकारले आगामी हिउँदे अधिवेशनबाट विकल्प खोज्ने बताए ।
उनले विगतमा जस्तै समयमा बजेट खर्च नहुने प्रवृत्ति हटाउनका लागि प्रत्येक मन्त्री र मन्त्रालयका सचिवसँग कार्ययोजना बनाएर काम गर्न र मुख्यमन्त्री कार्यालयमा सो कार्ययोजना पेस गर्न अनुरोध गरेको बताए । उनले यस वर्ष असारमा गएर बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गरिनुका साथै सेवा प्रवाहका लागि आवश्यक कानुन निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गरिएको बताए ।