Logo

अलैंची मूल्य प्रति मन एक लाख, किसान खुसी

धनकुटा– खोल्साको कालो सुनको नामले परीचित अलैंचीले मूल्य पाएपछि धनकुटाका किसान तथा व्यापारी खुसी भएका छन् । करिब १ दशकपछि अलैंचीको मूल्यमा व्यापक सुधार भई प्रतिमन १ लाख हाराहारीमा मूल्य पुगेसँगै व्यापारी तथा किसान खुसी भएका हुन् । अलैंचीको मूल्यमा आएको निरन्तरको गिरावट र अलैंची बगानमा देखिएको रोग प्रकोपले अत्तालिएर खेती छोड्दै गएका किसान तथा व्यवसाय चौपट हुदाँ घरबारी बेच्ने अवस्थामा पुगेका थिए ।

त्यस्ता व्यापारीलाई अहिले राहत मिलेको अलैंची व्यवसायी इन्द्र तितुंगले बताए । उनले भने,‘ ठूलो र राम्रो दानाको प्रति मन एक लाख, पुच्छार काटेको अलैंचीको प्रतिमन ९८ हजार र चलन चल्तीमा राम्रोसँग सुकाए/ नसुकाएको हेरेर प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा कारोबार भई रहेको छ ।’ विसं २०७० र २०७१ सालमा प्रतिमन एक लाख पाँच हजार रुपैयाँसम्ममा कारोबार भएको अलैंचीको मूल्य त्यसयता निरन्तर ओरालो लाग्दै प्रतिमन २५ हजारसम्म आएको थियो ।

त्यस समय किसान तथा व्यापारीलाई ठूलो समस्यासँगै आर्थिक संकट समेत भएको तितुंग बताउँछन् । अलैंचीको मूल्य लगातार घट्दा र बगानमा देखिएको रोगका कारण कतिपय किसानले अलैंची खेती मासेर अन्य बाली लगाउन थालेका थिए । तर, पछिल्लो वर्षमा अलैंचीको मूल्यमा आएको सुधारले किसानलाई निराशाबाट माथि उठ्न सहयोग गरेको छथर जोरपाटीका कृषक जयबहादुर लिम्बुले बताए ।

लिम्बुले भने,‘अलैंचीको मूल्य घटेर लागत समेत नउठ्ने अवस्था आएपछि कतिपय युवा अलैंची खेती छोडेर विदेश जानु पर्ने वाध्यतामा थिए । कतिपयले खेतीको विकल्प नै खोजेका थिए । तर अहिले मुल्य पाएपछि पुराना बगैंचालाई समेत व्यवस्थापन गर्ने कार्यमा किसान जुट्दै छन् ।’ मसलाजन्य वालीअन्र्तगत पर्ने अलैंची खेती आर्थिक वर्ष २०८० /८१ मा धनकुटाको २ सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । त्यसबाट करिब ३४ हजार ८ सय किलो अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले बताएको छ । धनकुटामा उत्पादन भएको अधिकांश अलैंची जिल्ला बाहिर निकासी हुने गरेको छ ।

पछिल्लो समय अलैंचीको मूल्य बढ्दा किसान समेत बगैंचा व्यवस्थापनमा सक्रिय बन्दै गएका छन् । त्यसले रोग किराबाट सखाप बनेका बगान समेत पुन: उत्पादन दिने अवस्थामा विकास हुँदै गएको केन्द्रका धनकुटा प्रमुख नगेन्द्र रानाले जानकारी दिए । उनले भने,‘ धनकुटामा मासिँदै गएको अलैंची खेती पुन: लयमा फर्किदै छ । विदेशी मुद्रा भित्र्याउने महत्त्वपूर्ण बाली अलैंची भएकोले यसको व्यावसायिक खेती गर्ने किसानलाई बैंकिग ऋण तथा अनुदान र रोगकिरा व्यवस्थापनको कार्य सरकारले गर्नु पर्ने किसानको माग छ ।

प्रतिक्रिया दिनुहोस्