Logo

गौतमबुद्ध विमानस्थलमा पहिलोपटक वाइडबडी अवतरण

विमानस्थल चलेपछि निजी क्षेत्र उत्साहित

मंगलबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोहाबाट आएको कतार एयरवेजको वाइडबडी जहाज । छेवैमा फ्लाई दुबईको जहाज । तस्बिरः मनोरञ्जन

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो पटक वाइडबडी जहाज अवतरण गरेको छ । विमानस्थलमा मंगलबार कतार एयरवेजको ठूलो जहाज अवतरण गरेको हो ।

विमानस्थल निर्माण पूरा भएको लामो समय हुँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा अन्योलको अवस्था सिर्जना भएको थियो । बल्ल यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन थालेको छ । कतार एयरवेजसहित यो विमानस्थलबाट करिब आधा दर्जन विमान कम्पनीले उडान सुरु गरेपछि निजी क्षेत्र उत्साहित बनेको छ ।

यही कात्तिक १८ गते भाइटीकाको दिन थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सिधा उडान सुरु गरेसँगै अन्य विमान कम्पनी थपिँदै आएका छन् । कतारले दोहा–भैरहवा–काठमाडौं–दोहा उडान सुरु गरेपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या ५ पुगेको नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।

उनका अनुसार दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको कतार एयरवेजको वाइडबडी एयरबस ए३३०–३०० विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित विमान काठमाडौं प्रस्थान गरेको थियो । ‘कतार एयरवेजले अब दैनिक दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा एउटा उडान गर्नेछ । नियमित तालिकाअनुसार कतारको विमान दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने र यहाँबाट ४:४५ बजे काठमाडौं प्रस्थान गर्नेछ । काठमाडौंबाट साँझ ६:५५ बजे दोहा जाने तालिका स्वीकृत भएको छ,’ रावतले भने ।

कतारले विन्टर सेड्युलअनुसार भैरहवा विमानस्थलबाट उडानका लागि मंसिर १५ गतेसम्म अनुमति लिएको छ । थाई एयर एसिया र फ्लाई दुबईले हप्ताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई, कतार एयरवेजले हप्ताको सातै दिन दोहा–भैरहवा–काठमाडौं–दोहा, नेपाल एयरलाइन्सले हप्ताको चार दिन काठमाडौं–भैरहवा–दुबईका साथै प्रत्येक मंगलबार मलेसिया–भैरहवा–काठमाडौं, जजिरा एयरवेजले हप्ताको तीन दिन, एयर एसियाले हप्ताको दुई दिन उडान गर्न तालिका स्वीकृत गरेका छन् । सबैले स्वीकृत तालिकाअनुसार उडान सुरु गरेका छन् ।

भैरहवाबाट अब हप्ताको २४ उडान स्वीकृत भएको सूचना अधिकारी राउतले बताए । यहाँबाट धमाधम उडान सुरु हुन थालेपछि यात्रुसँगै निजी क्षेत्रमा पनि उत्साह थपिएको छ । मंगलबार जजिरा एयरवेजमार्फत कुवेतबाट आएका दाङ घोराहीका अर्जुनप्रसाद लामिछानेले घर नजिकैको विमानस्थलमा ओर्लन पाउँदा निकै खुसी लागेको बताए । ‘हामी पश्चिमका लागि त काठमाडौंभन्दा भैरहवा नै सजिलो हुन्छ । निरन्तर उडान होस्, दिगो होस्,’ एक वर्षपछि घर आएका लामिछानेले भने ।

भैरहवाबाट एकपछि अर्को उडान हँुदा उत्साह छाएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ(सिपी)ले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदा पर्यटन व्यवसायी उत्साहित भएको बताए । ‘भैरहवा र वरपरका क्षेत्रका होटल व्यवसायीले दैनिक दुई हजारभन्दा बढीलाई पर्यटकीय स्तरका होटलमा सेवा दिन सक्षम छौं । लुम्बिनी, बुटवल क्षेत्रका होटलसमेत गणना गर्दा दैनिक १० हजार यात्रुलाई आतिथ्यता दिन सक्ने गरी होटल पूर्वाधार तयार गरेका छौं,’ उनले भने । निरन्तर उडानका लागि शंका उब्जाउने काम सरकारले गर्न नहुनेमा उनले जोड दिए । ‘अझै पनि स्वास्थ्य परीक्षण र भिसाका लागि काठमाडौं धाउनैपर्छ । साउन २६ को मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नहुँदा शंका पैदा भएको छ । त्यो निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ, अनिमात्र विमानस्थलबाट दिगो रुपमा उडान हुन्छ,’ श्रेष्ठले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा विमानस्थलबाट उडान हुँदा नारायणी पश्चिमका सर्वसाधारणलाई निकै सजिलो हुने र यसले निजी क्षेत्रसँगै यस क्षेत्रका यात्रु पनि खुसी भएको बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्छ भन्नेदेखि सञ्चालन नहुँदासम्म लबिङ गरिरहेका थियौं । अहिले यसले सार्थकता पाएको छ । पूर्वाधारका बाँकी काम सरकारले छिटोभन्दा सम्पन्न गर्नुपर्छ,’ उनले भने । विमान कम्पनीलाई आकर्षित गर्न दिइएको छुट निरन्तर हुनुपर्ने र यात्रुलाई सहज हुनुपर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायी एवं सोट्टो नेपाल लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष सञ्जय बजिमयले निजी क्षेत्र पूर्ण उत्साहित भएको बताउँदै अब सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । विमान कम्पनीले तत्काल टिकट बिक्री खोल्नुपर्ने, टिकट सहज रुपमा उपलब्ध हुनुपर्ने, महँगो टिकट नियन्त्रण र मौसम प्रतिकूल हुँदा पनि उडान गर्न सक्ने उपकरण जडान गर्नुपर्ने उनले माग गरे ।
ल्याण्डमार्क होटल भैरहवाका अध्यक्ष आशा गुरुङले होटल व्यवसाय क्षेत्रमा विमानस्थल हेरेर गरेको लगानी सुनिश्चित गर्न पनि सरकारले धेरै काम गर्न बाँकी रहेको भन्दै अहिले उडान सुरु हुँदा आश नमरेको बताए । ‘निजी क्षेत्रमा देखिएको उत्साहसँगै शंकालाई चिर्ने काम अब सरकारले गर्नुपर्ने देखिएको छ । भारतसँग कूटनीतिक पहल गरी पश्चिमको नाकाबाट प्रवेश गर्न दिने व्यवस्था र आईएलएस यन्त्र सञ्चालनको सहमति तत्काल आवश्यक छ,’ उनले भने ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै यहाँबाट आन्तरिक क्षेत्रीय उडान पनि सुरु हुनुपर्ने यात्रुको माग छ । भैरहवाबाट बुद्ध एयरले पोखरामा दैनिक २ र यतीले दैनिक १ उडान सुरु गरेका छन् । त्यसैगरी पश्चिममा सुर्खेत, नेपालगन्ज र धनगढी तथा पूर्वमा भद्रपुर, विराटनगर र जनकपुरसम्म उडान गर्नुपर्ने दबाब बढेको छ । ‘यहाँ ओर्लने अथवा उड्ने यात्रुहरु चाहे पूर्वका हुन् या पश्चिमका उनीहरुले सहज रुपमा आन्तरिक र बाह्य यात्रा गर्न पाउनुपर्छ,’ पर्यटन व्यवसायी विष्णु गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्