माथिल्लो तामाकोसीको आपत्कालीन मर्मतका सामान चोरी
दोलखा– क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आकस्मिक मर्मतकै बेला कवाडी चोरी भएको छ । पहिरोले क्षति गएको भवन र डिस्याण्डर, भूमिगत नहर सफा गर्दा निस्केका फलामका टुक्रा सफा गर्दागर्दै चोरी भएको हो । चोरी भएको कवाडीसहित इलाका प्रहरी कार्यालय सिंगटीले सिंगटीबाट दुई हजार किलोग्राम कवाडीसहित एक व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिंगटीमा व्यापार गर्दै आएका विभिचन भन्ने ४८ वर्षीय रविकृष्ण महतो रहेका छन् । उनका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए । गत असोज १२ गतेको पहिरोले माथिल्लो तामाकोसीको हेडवक्र्समा रहेको डिस्याण्डर, कल्भर्ड र सुरक्षा कक्ष भवनमा क्षति भएको थियो ।
पहिरोपछि विद्युत उत्पादनलाई नियमित गर्न आपत्कालीन रूपमा जम्मा भएको पहिरो पन्छाउने, क्षतिग्रस्त संरचना हटाउने काम जारी छ । क्षतिग्रस्त संरचना हटाउने क्रममा निस्केका रड, फलामका टुक्रा, केबल कवाडीको रूपमा निस्केका थिए । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आकस्मिक रूपमा क्षतिग्रस्त संरचनाको मर्मत र सरसफाइका लागि रोल्वालिङ खोला जलविद्युत आयोजनामा कार्यरत निर्माण व्यवसायी हाई हिमाल कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।
निर्माणको जिम्मा ठेकेदारलाई दिए तापनि त्यहाँबाट निस्केका कवाडी भने अपर तामाकोसीकै सम्पत्ति हुन्छ । हाइ हिमालका साइड इन्चार्ज त्रिरत्न महर्जनले अपर तामाकोसीले दैनिक हिसाबमा सफा गर्ने र मर्मतको काम मात्रै गरेकोे र कवाडी सामान छेउमा स्टोर गरी राखेको बताए । आफ्नो तोकिएको काममात्रै गर्ने तर कवाडी सुरक्षाको काम अपर तामाकोसीकै भएकाले यसबारे आफूलाई थप जानकारी नभएको बताए ।
डिस्याण्डर सफाइ र मर्मतमा खटिएका एक कर्मचारीका अनुसार लक्ष्मी पूजाको दिन राती ११ बजेसम्म काम हुँदा आफूहरू साइडै हुँदा सामान साविककै ठाउँमा रहेको जानकारी दिए । भोलिपल्ट बिहानै साइडमा आउँदा सामान हराएको देखिएकाले सोही राती सामान चोरी भएको हुनसक्ने आशंका गरे । माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले कवाडी चोरी भएको खबर थाहा पाउने बित्तिकै प्रहरीकोमा जाहेरी दिएको बताए । प्रहरी अनुसन्धानबाट चाँडै चोर पहिचान हुनेमा आफूहरू विश्वस्त भएको उनले बताए ।
पहिरोसँगै माथिल्लो तामाकोसीको दुईतले सुरक्षा भवनमा ५६० केभीए क्षमताका ट्रान्सफर्मर, दुईवटा जेनेरेटर, आल्मुनियमका मोटामोटा केबुल तार, केन्ट्रोल केबुल, अर्थिङ कण्डक्टर पुरिएका थिए । माथिल्लो तामाकोसी जलविद्युत केन्द्र लामाबगरमा सशस्त्र प्रहरीको विओपी, सीमा प्रहरी चौकी, गोंगरमा रोल्वालिङ प्रहरी चौकी, सशस्त्र प्रहरीको पोष्ट र नेपाली सेनाको समेत चेक पोष्ट रहेको छ । यसअघि पनि माथिल्लो तामाकोसीकै सुरुङभित्र रहेका क्रेनका करोडौं मूल्यका केबल चोरी भएको थियो । त्यसको पनि चोर पत्ता लाग्न सकेको छैन ।