सखरखण्ड र जलफलको व्यापार बढ्यो
भैरहवा– एकादशीले सखरखण्ड र जल फलको व्यापार बढेको छ । मंगलबार हरिबोधनी एकादशी परेकोले कन्दमूलका रूपमा रहेको सखरखण्ड र तलाउ– पोखरीमा फल्ने जल फलको व्यापार बढेको हो । छठदेखिनै जल फल सिँगडा र सखरखण्डको व्यापार सुरु भए पनि ठूलो एकादशीमा अझ बढेको व्यवसायीको भनाइ छ । रुपन्देहीको भैरहवा, बुटवल, मणिग्राम, देबदह, सैनामैना, धकधई ठुटिपिपल, लुम्बिनी, रुद्रपुर, गैडहवा, सूर्यपूरामा रहेका हाटबजारका साथै चोक चोकमा एकादशीको एक दिन अगाडिदेखि व्यापार बढेको हो ।
हाट बजारमाभन्दा पनि बजारका चोकहरुमा यस्तो व्यवसाय गर्ने बढी छन् । रुपन्देहीका विभिन्न साप्ताहिक तथा दैनिक हाटबजारमा कन्दमूल बिक्रीका लागी व्यापारीले यस्ता सामान ल्याएका हुन् । एकादशी अगाडि नै सखरखण्डको मूल्य प्रतिकेजी १०० देखि १६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । भैरहवा मैत्रीपथमा जस्सी फलफूल पसल सञ्चालन गर्दै आएका जस्सी मल्लाहले रातो सखरखण्ड १२० रुपैयाँ र सेता सखरखण्ड १६० रुपैयाँमा बिक्री भइरहेको बताए ।
पर्वका सिजनमा मात्र बिक्री हुने भएकाले ग्राहकहरू खोजी खोजी आउने गरेको उनको भनाइ छ । अन्य समयमा निकै कम खपत हुने र कम मूल्यमा बिक्री हुने सिँगडा अहिले प्रतिकिलो एक सय रुपैयाँमा किनवेच भइरहेको जस्सीले बताए । सिँगडा र सखरखण्डको बिक्री बढेको सिद्धार्थनगर ६ गल्लामण्डी व्यवसायी पवन कुमार कहारले बताए । उनकाअनुसार स्थानीय किसानले उत्पादन गरेका सिँगडा र सखरखण्ड भारतबाट पनि आउने गरेको छ ।
सोमबारका तुलनामा एकादशीको दिन अझै बढी बिक्री हुने अनुमान गरिएको छ । सिँगडा नजिकैको तलाउबाट ल्याएर बिक्रीका लागी राखेको भैरहवा बैंक कलोनीका व्यवसायी रामकुमार कहारले बताए । थोक बिक्रेताबाट ल्याएर सखरखण्ड बिक्री गर्ने गरेको उनले जानकारी दिए । एकादशी पर्वमा सखरखण्ड, सिँगडा, तरुल, पिडालुलगायतका कन्दमूल र फल व्रत बस्नेहरूले उसिनेर खाने चलन रहि आएको छ । बजार आउने सखरखण्ड मध्ये केही जिल्लामै र केही पहाडी जिल्लाबाट आयात हुन्छ ।
७५ प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेको छ । व्यवसायीहरूले भारतको मुजफ्फरपुर, बनारसलगायतका स्थानबाट सखरखण्ड आयात गरी बिक्री गर्ने गरेका छन् । जिल्लामा व्यावसायिक खेती नहुँदा सखरखण्ड आयातका लागी लाखौं रुपैयाँ विदेशिने गरेको कृषकहरू बताउँछन् । रुपन्देहीमा मात्रै एकादशीमा करिब १५ टनभन्दा बढी सखरखण्ड बिक्री हुने अनुमान गरिएको छ । एकादशीका लागि उखुको बिक्री पनि बढेको छ । मर्चवार, बनगाई, लुम्बिनी परासी, कपिलवस्तुलगायतका क्षेत्रबाट उखु आयात गरी बिक्री भइरहेको छ ।