‘जनकपुर उपमहानगरपालिकाले गरेको छात्रवृत्ति सम्झौता षड्यन्त्रपूर्ण’
काठमाडौं- निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धि सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन् । निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पार्टीको भ्रातृ संगठनको दबाबमा आइ छात्रवृत्ति सम्बन्धि उपमहानगरले गरेको निर्णयबाट षड्यन्त्रको गन्ध आइरहेको आरोप लगाएका हुन् ।
हिसानका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेविसंघ बीच भएको सम्झौता आफूहरुलाई मान्य नरहेको बताए । आफूहरु उपमहानगरको निर्णय मान्न तयार हुँदाहुँदै पनि उपमहानगरले आफूहरुसँग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गरे । ठाकुरले नेविसंघले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान जनकपुरधामबाहेकका शहरमा किन नचलाइएको भन्दै प्रश्न गरे ।
मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले छात्रवृत्ति वितरण कार्यविधि, २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको बताए । उनले उपमहानगरले सबै पक्षसँग छलफल गरेर आफ्नै कार्यविधि बनाउनुपर्ने माग समेत गरे । उपमहानगरले सबै पक्षसँग छलफल गरी बनाएको कार्यविधिलाई टेकेर अगाडी बढ्न हामी तयार रहेको उनको भनाइ थियो ।
तर जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धाराशायी बनाउने गरी गरिएको निर्णय आफूहरु मान्न तयार नरहेको उनको भनाइ थियो । एनप्याब्सन जनकपुर उपमहानगरपालिकाका इकाईका अध्यक्ष दीपककुमार ठाकुरले समयमा आफूहरुका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए ।
यता निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णयअनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजी विद्यालयहरु अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी समेत दिएका छन् । निजी विद्यालयका संगठनहरुले पुरानै निर्णयअनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजी विद्यालयहरुमा पठनपाठन अनिश्चिकालकालागि ठप्प पार्ने चेतावनी दिएको हो ।