धार्मिक पर्यटकीय स्थल बन्दै दुर्गा मन्दिर
दाङ– बागेश्वरीको दुर्गा कालिकादेवी मन्दिर धार्मिक आस्थाको पर्यटकीय केन्द्र बन्ने भएको छ । पछिल्लो समयमा मन्दिरमा धार्मिक पर्यटकहरूको संख्यामा वृद्धि भएपछि पर्यटकीय केन्द्र बन्ने सम्भावना देखिएको हो । दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिका–१ उझामा करिब दुई सय वर्ष पहिले स्थापना भएको बागेश्वरी दुर्गा कालिकादेवी भगवती मन्दिरमा भाकल गरेको मनोकामना पूरा हुने जनविश्वास छ ।
सोही जन विश्वासका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा मन्दिर भए पनि नियमित पूजापाठ, भाकल र भाकल पूरा भएपछि मन्दिरमा भक्तजन तथा दर्शनार्थी पुग्ने गर्छन् । मन्दिरमा गरेको भाकल पूरा भएपछि बागेश्वरी दुर्गा कालिकादेवी भगवतीको पूजासँगै मन्दिरमा घण्टी चढाउने परम्परा रहेको मन्दिरका पुजारी सन्तराम भण्डारी बताउँछन् ।
सन् १८८६ भन्दाअघि नै स्थापना भएको विश्वास गरिएको धार्मिक एवं ऐतिहासिक मन्दिरको पृष्ठभूमि भने तत्कालीन समयमा स्थानीय सिद्धिराम पाण्डेयकी श्रीमतीलाई सपना भएपछि बागेश्वरी भगवतीको मन्दिर स्थापना गरिएको जनविश्वास रहेको छ ।
उनका अनुसार मन्दिरमा दाङका विभिन्न ठाउँसँगै रोल्पा, प्युठानलगायतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । विशेष गरेर विजया दशमीका अवसरमा मन्दिरमा चहलपहल बढी हुने गरेको मन्दिरका पुजारी भण्डारीले बताए । उनले भने,‘दसैँमा मन्दिरमा बली दिनेदेखि पूजापाठका लागि भक्तजनको भिडभाड हुने गर्दछ ।’ धार्मिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावना बोकेको मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधारहरू हुन आवश्यक रहेको स्थानीयले बताए ।
मन्दिरसम्म पुग्नका लागि राम्रो बाटोसँगै मन्दिरमा खानेपानी र शौचालयको व्यवस्था हुन आवश्यक रहेको स्थानीय हेमन्त खनाल बताउँछन् । मन्दिर पुग्नका १२ महिना गाडी चल्ने बाटोसँगै मन्दिर क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्था गर्न सकिए धेरै सहज हुने उनको भनाइ छ ।
‘धार्मिक एवं ऐतिहासिक दृष्टिले उझामा रहेको बागेश्वरी भगवती मन्दिर चर्चामा रहे पनि यहाँ आउनका लागि राम्रो बाटो छैन । न मन्दिरमा खानेपानीको व्यवस्था छ, न शौचालयको व्यवस्था’ मन्दिरका पुजारी भण्डारीले भने, ‘जसले गर्दा एकपटक घुम्न आएको भक्तजन अर्काे पटक आउन अप्ठेरो मान्ने अवस्था छ । यसतर्फ राज्यको ध्यान जान आवश्यक छ ।’
भक्तजनले मन्दिरमा चढाएको भेटी तथा बली चढाइएका बोकाको टाउको बिक्रीबाट संकलित रकमले मन्दिरको आवश्यक भौतिक सुधारसँगै विकास गर्ने काम गरिए पनि स्थानीय सरकारले मन्दिर क्षेत्रको विकासमा ध्यान नदिएको पुजारी भण्डारी बताउँछन् । धार्मिक आस्था र विश्वाससँगै प्राकृतिक सौन्दर्य र रमणीय वातावरणका कारण भौगोलिक विकटता र स्थानीय सरकारले पर्याप्त ध्यान नदिँदा मन्दिर ओझेलमा परेको स्थानीयको गुनासो छ । मन्दिरका पुजारी भण्डारीका अनुसार धार्मिक पर्यटनको हिसाबले मन्दिरले ठूलो सम्भावना बोकेको छ तर मन्दिरको प्रचारप्रसारसँगै उचित व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको हो ।
मन्दिरसम्म पुग्नका लागि राम्रो बाटोसँगै प्रचारप्रसार गर्ने र पानी, शौचालयलगायतका व्यवस्था गर्न सके धार्मिक पर्यटकीय स्थलका रूपमा राम्रो सम्भावना रहेको पुजारी भण्डारी बताउँछन् । धार्मिक स्थल, रमणीय वातावरण र इतिहास बोकेको मन्दिरको संरक्षण र विकासका लागि काम भइरहेको भए पनि भौगोलिक विकटताका कारण सोचेअनुसार काम गर्न नसकिएको बंगलाचुली गाउँपालिका–१ का अध्यक्ष विष्णु कुँवर बताउँछन् ।
मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधारसँगै १२ महिना गाडी पुग्न सक्ने स्तरीय बाटो निर्माण गर्न सकिए मन्दिरको प्रचारप्रसारसँगै विकासले गति लिने उनको भनाइ छ ।