Logo

श्रमदानमार्फत् पालिकाको विकास गर्दै जलजला

पर्वत– पछिल्लो केही वर्षयता ग्रामीण क्षेत्रमा जनशक्ति अभाव हुँदै गएको छ । सामाजिक काम होस् वा कुनै विकास निर्माणका काममा समेत राज्यको बजेट ठेक्कापट्टा मार्फत् काम गर्नुपर्ने अवस्था छ । तर पर्वतको जलजला गाउँपालिकामा भने विभिन्न सामाजिक कार्य र विकास निर्माणका काम श्रमदानमार्फत् गर्न थालिएको छ । गाउँ, टोलमा हुने बाटोघाटो सरसफाइ, मर्मत, चौतारी, पोखरी निर्माण, सामुदायिक भवन, विद्यालय, सडकजस्ता पूर्वाधारको मर्मत र निर्माण श्रमदानबाटै गर्न थालिएको हो ।

हरेक सामाजिक काममा परिवारको एक जना सदस्य पुगेर सामूहिक रूपमा काम गर्दा गुणस्तर कायम हुने, बजेटको पर्खाइमा बस्नु नपर्ने र राज्यको मुख ताकेर बस्नु नपर्ने विगतको परम्परालाई उजागर गर्दै स्थानीय जलजला गाउँपालिकाले नै जनश्रमदानतर्फ नागरिकलाई आकर्षण गरेको हो ।

राज्यबाट विकास निर्माणका लागि गाउँगाउँमा आउने बजेट कार्यान्वयनका लागि केही प्रतिशत जनश्रमदान गरिएको हुनुपर्ने सर्तहरू राखिने भए पनि ती सर्तलाई कागजी रूपमा मिलाइने गरिएको अवस्थामा जलजला गाउँपालिकाले हरेक वडाका टोलटोलमा टोल विकास समूह गठन गरेर जनश्रमदानमा लगाउने गरेको जलजलाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले बताए ।

गाउँका सबैजना भेला भएर सडक, चौतारी, बस्ती, पानीका मुहान, कुलोलगायतमा काम गर्ने चलनलाई निरन्तरता दिन टोल विकास संस्थामार्फत् यही अभ्यासलाई निरन्तरता दिइरहेको उनले बताए । सामाजिक विकास अधिकृत आचार्यका अनुसार गाउँपालिकामा गठन भएका १३९ वटा टोल विकास संस्थामध्ये १११ वटा टोल विकास संस्थाले झण्डै आठ लाख रुपैयाँभन्दा बढीको विकास निर्माणको काम गरेका छन् । ती संस्थामा आबद्ध रहेका एक हजार ९९८ जनाबाट सात हजार ९९२ घण्टा काम गर्दा गाउँपालिकाका लागि उक्त योगदान मिलेको आचार्यले बताए ।

चाडबाडका बेला होस् वा अन्य समयमा पनि बस्ती वरिपरिको वातावरण सरसफाइ नियमित गर्ने गरेका छन् । ‘सहज यात्रा र स्वच्छ वातावरण’ भन्ने नारासहित गत असोज १ गतेदेखि ७ गतेसम्म एक हप्ते अभियान चलाएका थिए । ‘जे काम गर्दा पनि राज्यकै भर पर्नुपर्छ भन्ने मानसिकताका लागि यो अभ्यास राम्रो हो,’ आचार्यले भने, ‘हामीले गरेको मूल्यांकनमा आठ लाख रुपैयाँभन्दा बढीको काम भएको छ ।’ यसले समूहमा मिलेर काम गर्ने बानीको विकास गर्दै बस्तीको एकता पनि कायम हुने पालिकाको विश्वास छ ।

जलजलामा अधिकांश मगर समुदायको बाहुल्य छ । उक्त समुदायमा सामाजिक कामका लागि जनश्रमदान गर्ने प्रचलन कायमै रहेको भए पनि अन्य समुदायले समेत यसलाई पालना गरेर सक्रिय सहभागिता जनाउने गरेका छन् । चाडबाडको बेलामा गाउँका सबै जना भेला भएर सडक, चौतारी, बस्ती, पानीका मुहान, कुलोलगायतको मर्मत सम्भार, पुनर्निर्माण र सरसफाइमा उनीहरूले काम गरेको सामाजिक विकास अधिकृत आचार्यले बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले सडक र बस्ती सरसफाइ मात्रै नभएर कृषि उत्पादन, आर्थिक अवस्था कमजोर भएको परिवारमा समस्या आउँदा, कासैको घरमा मृत्यु पर्दा, विवाह हुँदालगायतका हरेक गतिविधिमा टोल विकास संस्थामार्फत् नै सामूहिक रूपमा काम गर्ने बानीको विकास गर्दै लगिएको जानकारी दिए । टोल विकास संस्थाको बैठक मासिक रूपमा बसेपछि टोलमा आवश्यक भएका काम गर्ने, टोलमा आवश्यक पर्ने सामग्रीको माग वडा र स्थानीय तहमा गर्ने, स्थानीय तहको पहुँचमा जान नसक्ने अवस्थामा रहेकाको माग पनि संस्थाले नै लैजाने लगायतका असल अभ्यास भइरहेको उनको भनाइ छ ।

गाउँको विकासमा प्रत्यक्ष श्रमदान, विविध भइपरि कोष निर्माण, आनीबानी परिवर्तन, बचत गर्ने बानीको विकास लगायतका असल, अनुकरणीय र उदाहरणीय कामहरू निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको बताउँदै अध्यक्ष आचार्यले उत्कृष्ट समूहलाई पुरस्कृत र उनीहरुले गरेको अन्य खर्चमा पालिकाले अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्