मृत्युमार्ग बनिरहेको छ कर्णालीका सडक
वीरेन्द्रनगर– कर्णालीका सडक सडक होइनन्, मृत्युमार्ग हुन् भन्दै पटकपटक ब्याङ्ग्य हुने गरेको छ । मृत्यु सबैभन्दा ठू्लो भयानक घटना हो । अकालमै मृत्यु हुनु कसैका लागि पनि पाच्य विषय होइन । तर कर्णालीका सडकमा यात्रा गर्ने जो कोहीका लागि मृत्यु सामान्यजस्तै बन्न थालेको छ । राज्यको हेपाह प्रवृत्ति र राज्यकै नियमनकारी निकायको उदासिनताका कारण कर्णालीबासीका लागि मृत्यु रोज्न कर्णालीका सडकमा यात्रा गर्नु भने पुग्छ ।
आफ्नो लक्ष्यअनुसार यात्रा गर्ने कर्णालीबासी कहाँ, कतिखेर ज्यान जान्छ भन्ने कुनै पनि ठेगान नहुने गरेको पाइन्छ । राज्यका निकाय सार्वजनिक रूपमा सञ्चालन हुने यातायातका साधनबाट दैनिक मृत्यु गराउने घुस लिएर बस्दा कर्णालीमा सवारी दुर्घटनाबाट दैनिक मानिसको मृत्यु हुने गरेको आरोप लगाउँछन् । ठूलाबडाहरू सरकारी गाडीमा सवार हुँदा स्यालुट गर्ने प्रहरी सर्वसाधारण चढेका सार्वजनिक यातायातका साधनबाट हप्ता तथा महिनामा रकम असुली गर्ने प्रवृत्तिका कारण कर्णालीमा भारी मात्रामा सवारी दुर्घटना बढेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेश अधिकारीले आरोप लगाए ।
आफूले चढेको गाडीबाट गाडी चालकले सडकमा जाँचका लागि बसेका टा्रफिक प्रहरीलाई रकम दिँदै सडकमा गाडी कुदाएको अधिकारीले बताए । उनले थपे, ‘जसले रकम दिन्छ, उसको गाडी टा्रफिक प्रहरीले नर्हेने गरेको र जसले दिँदैन, उसैको गाडी खोजी, खोजी रोक्ने गरेको थाहा भयो । रुपैयाँ दिन ढिला भएका सवारी साधनलाई हिसाब छिटो मिलाउनु पर्यो भन्दै सम्झाउने गरेको सुनेको छु ।’
कर्णालीका हरेक सडकमा गुडने यातायातका साधन अनुसारको वर्गीकरण गरेर रकम असुल हुने गरेको नाम नबताउने सर्तमा एक चालकले बताए । ‘पैसा नदिए अनेक बहाना बनाएर दु:ख दिन्छन्,’ उनले भने । टा्रफिक प्रहरीले सवारी जाँच गर्नका लागि सधै सिसिटिभीको निगरानी नभएको ठाउँ रोज्ने गरेको उनको आरोप छ । प्रहरी चेक पोष्टमा समेत गाडीलाई इन्ट्री गर्न जाँदा लिइने कागजको बीचमा रुपैयाँ हालेर बुझाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । यता कर्णाली प्रदेश प्रहरीका प्रवक्ता नारायण डाँगीले यस्ता गलत काम भइरहेका भए तुरुन्तै सम्बन्धित ठाउँमा खबर गर्न आग्रह गरे । सार्वजनिक यातायातमा देखिएको समस्या सुधार गर्ने जिम्मेवारी सबैको भएकाले सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
डाँगीका अनुसार कर्णालीमा तीन ठूला पर्वमा मात्र १०५ वटा सडक दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कात्तिक २३ गतेसम्म ३७ दिनमा ती दुर्घटना भएका हुन् । नेपाल प्रहरीका कर्णालीमा रहेका ६५ वटा चेक पोष्टबाट घटाएर हाल ३० वटामात्र सञ्चालनमा ल्याएको छ । ती दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ भने २२५ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए ।
कर्णालीका कुन सडक कहाँ जोडिन्छ ?
अब कर्णाली राजमार्गको शुरुवात विन्दु नेपाल भारत सिमाना जमुनाहबाट सुरु भएर नेपाल–चीन सिमाना हिल्सा पुगेर सकिने भएको छ । बाँकेको जमुनाह–नेपालगन्ज–कोहलपुर–सुर्खेत, दैलेख–कालिकोट (खुुलालु)–बाजुरा, सिमकोट–हिल्सा ५३८ किलोमिटर कायम गरिएको छ ।
जुम्ला सदरमुकाम जोडिएको कर्णाली राजमार्ग हटाएर अब सुर्खेत–तल्लो डुंगेश्वर, सातखम्ब–दुल्लु पिपलकोट, खुलालु–मान्म–नाग्म–जुम्ला सडक कायम गरिएको छ । यो सडकको दुरी १६८ किलोमिटर छ । कर्णाली राजमार्ग राष्ट्रिय राजमार्ग ५८ र भेरी करिडोर ५७ नम्बरमा छ । छिन्चु–जाजरकोट–दुनै–मरिम ३१७ किलोमिटर सडकलाई भेरी करिडोर बनाइएको छ । ‘क’ आधारमा राखिएका यी दुवै सडक कर्णाली प्रदेशका लागि रणनीतिक महत्त्व भएका सडक हुन् । दुवै सडकले सिधा चीन–भारत जोड्छन् । चीनसँग जोडिने तेस्रो सडक मुगुको नाक्चेनाग्ला हो ।
३०२ किलोमिटर सडक सुर्खेतबाट सुरु भएर दैलेख, महावुलेक–गाल्जे, नाग्म–गमगढी हुँदै चाक्चेनाग्ला जोडिन्छ । सल्यानको थारमारे सुरुवाती विन्दु मानिएको रारा राजमार्ग कायम गरिएको छ । २६३ किलोमिटर दुरी रहेको सडक थारमारे–चौरजहारी, जाजरकोट खलंगा–जुम्ला कुडारी हुँदै मुगुको रारा तालसम्म जोडिने छ । मुगुको छायल बजारदेखि अगाडिसम्म ट्रयाक खोलिएको यो सडकको चीन सिमानासम्म जोड्ने सडक अधुरै छ । कर्णालीमा तीन सडक प्रदेश, एक स्थानीय सडक बनाएको छ ।
यी सडकमा उच्च हाइप्रोफाइल भएका व्यक्ति सकेसम्म सरकारी गाडीमा यात्रा गर्छन् यदि भएन भने हवाईसेवा प्रयोग गरेर कर्णालीको यात्रा गरिरहेका छन् । कर्णालीकै नेताले कर्णाली नचिन्दा समस्या भएको सरोकारवाला निकाय बताउँछन् । एक पटक नेताले कर्णलीका ग्रामीण सडकमा यात्रा गर्न यहाँका स्थानीयबासीले माग गरेका छन् ।
प्रदेश सरकारले मात्र ३३ वटा ठूला सडक तथा पुल वषौँदेखि अलपत्र भए पनि निर्माण व्यवसायीलाई ताकेता गर्न नसक्दा अलपत्र हुँदै आएको पाइएको छ । अहिले चालु अवस्थामा रहेका सडकसमेत दोहोरो यातायातका साधन चल्नसक्ने अवस्था नभएको यातायात व्यवसायी बताउँछन् ।