सम्झौताको चार महिना बित्यो
लुम र न्याउरीघाट पक्की पुल निर्माण सुरु भएन
जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाको लुम र कनकासुन्दरीको गाउँपालिकाको न्याउरीघाटमा निर्माण हुने पक्की पुलको काम अझै सुरु भएको छैन । निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको चार महिना बितिसक्दा पनि काम ठेकेदारले काम सुरु गरेका छैनन् ।
भौगोलिक रूपमा विकट बस्तीलाई सडकमा जोड्न र जोखिमपूर्ण यात्रा गरिरहेका नागरिकको सहजताका लागि करोडौ लगानीमा पक्की पुल निर्माणको ठेक्का सम्झौता भए पनि ठेकेकारले काम सुरु गर्न ढिलाइ गरेका छन् ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा पूर्वाधार विकास कार्यालय जुम्लाअन्तर्गत दुईवटा पक्की पुल निर्माण हुने भएका छन् । जसका लागि पातारासी गाउँपालिका–६ स्थित लुममा पक्की निर्माण गर्न पाँच करोड ६४ लाख लागतमा गत जेठ १३ गते सम्झौता भएको थियो । त्यस्तै कनकासुन्दरी गाउँपालिका–१ को न्याउरीघाटमा बन्ने पक्की पुल निर्माणका लागि पनि गत जेठ १३ गतेकै दिन पाँच करोड ५४ लाख लागतमा ठेक्का सम्झौता भएको हो । दुवै पुल निर्माणको ठेक्का एउटै निर्माण कम्पनीलाई परेको छ ।
कुल ११ करोड १८ लाख लागतमा लुम र न्याउरीघाटको पुल निर्माण गर्ने ठेक्का (एएनसी/एमएनएस/जेएमएस/ जेभी) काठमाडौंले पाएको छ । तर सम्झौता गरेको चार महिना बितिसक्दा पनि कुनै काम अघि नबढेको पूर्वाधार विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख प्रभाकरप्रसाद सिंह भन्छन्, ‘ठेक्का सम्झौता भइसकेपछि निर्माण व्यवसायीले काम गर्नुपर्ने हो । तर हालसम्म कुनै काम सुरु भएको छैन । हिउँदमा सिमेन्टको काम गर्न मिल्दैन । हामीलाई सम्झौता मितिभित्रै काम भएको हुनुपर्छ ।’
पूर्वाधार कार्यालयका प्रशासन प्रमुख धर्मराज रावल सम्झौता बेलैमा गरे पनि निर्माण व्यवसायीले काम गर्न ढिलाइ गरेको बताउँछन् । उनले भने, ‘पुल निर्माणको फाइल सदर गर्नु फलामको चिउरा चपाउनुजस्तै मुस्किल छ । ठेक्का खोलेर सम्झौता भए पनि काम समयमै सुरु हुँदैन । यस्तो प्रवृत्तिले पूर्वाधार विकासले गति लिन सक्दैन ।’
मुख्य ठेकेदारले निर्माण कार्य थालनी गर्नका लागि पेटी ठेकेदारका रूपमा तुलसी रावतलाई जिम्मा दिएका छन् । पेटी ठेकेदार रावतका अनुसार दुवै निर्माणस्थलमा सरिया पुगिसकेको र चाँडै फाउण्डेसनको काम सुरु हुने बताउँछन् । उनी भन्छन्, ‘सम्झौता भएलगत्तै दसैँ तिहारलगायतका बिदाले काम हुन सकेन । अब सरिया आइसकेको छ । अहिले तलको फाउण्डेसन खन्ने काम हुन्छ । तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यअनुसार काम गर्छौं ।’ हिउँदमा चिसोले सिमेन्टको काम नहुने भएकाले बाँकी काम फागुनबाटै द्रुत गतिमा अघि बढाइने उनको भनाइ छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहोराले लुममा पक्की पुल निर्माण हुने भएपछि खुसी व्यक्त गरे । केही महिनाअघि लुमको काठेपुलबाट खसेर एक जनाको मृत्यु भएको थियो । पक्की पुल निर्माणको बहस वर्षौं पहिलेदेखि चलेपछि जग्गा विवादले रोकिएको थियो । जोखिमपूर्ण यात्रा गरिरहेका पातारासीका उपल्लो क्षेत्रका नागरिकलाई सहज यात्रा गराउन लामो समयदेखि गरेको प्रयास सफल भएको अध्यक्ष बोहोराले उल्लेख गरे ।
उनले भने, ‘ठेक्का सम्झौता भएर पनि काम ढिला भएको सुनिएको छ । यस्तो काममा ढिला गर्नु हुँदैन । सम्बन्धित पक्षसंँग बुझेर काम अघि बढाउन सहजीकरण गर्छु । संरचनालाई गुणस्तर र समयमै निर्माण गर्न लगाउन बेलाबेला अनुमगन निरीक्षणसमेत गर्न जरुरी छ ।’
मंसिर लागेसंँगै कर्णालीमा सिमेन्टको काम ठप्प हुन्छ । ठेकेदारले चार महिना कुनै काम नगरेर बिताएका छन् । सम्बन्धित कार्यालय, गाउँपालिकाले निर्माण व्यवसायीलाई ताकेता नगरेको खण्डमा पुल निर्माणकार्य धकेलिने संकेत देखिएको छ ।