नुवाकोटमा रहेको सेरा दरबारको स्वामित्व खोज्दै संघीय सरकार
धादिङ– वि.सं १९९९ मा जुद्धशमशेर दौडाहामा नुवाकोट आउँदा तादी नदीमा अस्थायी शिविर खडा गरी वास बसेका थिए । यस क्षेत्रकोे हावापानीबाट प्रभावित भई दुई वर्ष लगाएर सेरा दरबार निर्माण गर्न लगाएको थियो । दरबार साढे तीन फिट मोटाइको गारो भएको मुख्य भवनको लम्बाइ ६५ फिट र चौडाइ ४० फिटको निर्माण गरिएको थियो । निकै आकर्षक भवनसहित दरबारको स्वामित्वमा २१५ रोपनी उर्भरभूमि रहेको स्थानीय पुराना र पाकाहरू बताउँछन् ।
सेरा दरबारको स्वामित्व खोज्नका लागि वर्तमान सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री वलराम अधिकारीले जिल्लाका सरोकार निकाय, मालपोत र नापी कार्यालयसंँग भेटघाट र अन्तरक्रिया गरेका छन् । मालपोत र नापी कार्यालयसँग भएका दरबारसंँग सम्बन्धित जग्गाको कागजपत्र मन्त्री अधिकारीले लगेको मालपोत कार्यालयले जनाएको छ ।
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्ष सशस्त्र द्वन्द्वका क्रममा जलेको नुवाकोट, विदुर–२ को सेरा दरबारसहित तत्कालीन राजपरिवारका नाममा रहेको उक्त स्थलको जग्गा संघीय सरकारले खोजी गर्न थालेको छ । सेरा दरबार माओवादीका कार्यकर्ताले २०५९ पुस १२ गते बिहान आगो लगाएका थिए । उक्त आगलागीबाट ५० प्रतिशत जलेको दरबार पछि भत्काएर खाली गरिएको थियो । वि.सं १९९९ मा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले बनाउन लगाएको दरबारको स्वामित्व पछिल्लो समय काठमाडौंंका बागबहादुर श्रेष्ठ र नरेन्द्र प्रधानले पाँच करोडमा तत्कालीन अधिराजकुमार हेलेन शाहसँग खरिद गरेका थिए । जग्गा खरिद बिक्रीपछि केही समय सो दरबार क्षेत्रभित्र कुखुरापालन र गैरसरकारी संस्थाको अनुसन्धान तथा सेवा केन्द्रसमेत सञ्चालन गरेको थियो
विसं २०६२/०६३ को जनान्दोलनपछि उक्त दरबार र नुवाकोटमा रहेका तत्कालीन राजा र राजपरिवारका नामको जग्गा बेला बेला चर्चामा आउने गरेको छ । पुन: दरबार, नुवाकोटमा रहेका तत्कालीन राजा र राजपरिवारको खोजी गरी राष्ट्रियकरण गर्ने चर्चा सुरू भएको छ । चर्चामा आउनाको कारण दरबारको सम्पत्ति हडप्ने वा कब्जा गर्ने होडबाजी हो । अहिले यहाँ दरबार छैन, त्यसका नाममा जग्गा र त्यस जमिनमा आँखा गाड्नेको लडाइँ चलिरहेको छ । अहिले बलशाली समूहको पैसा र पहुँचका कारण सो सार्वजनिक सम्पत्ति मान्छेका नाममा लालपुर्जा बनेर खल्तीमा पुगेको छ ।
हिजोआज कतिपयले यहाँ सेरा दरबार बन्नुअघि माडी दरबार नै थिएन भन्छन् । सो दरबारलाई कतिपयले माडी दरबार पनि भन्ने गरेका छन् । नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक अध्ययनले नुवाकोटका धामीको टिपोट रहेको र त्यसमा नेपाल भाषामा सेराब्यांसी लायकु भन्ने शब्द उल्लेख गरेको पाइएको छ । लायकु भनेको शाही दरबार हो । राजा पृथ्वीनारायण शाहको पत्र र लिखतमा मुकाम नुवाकोट माडी लेखिएको छ । ऐतिहासिक दस्तावेजमा असली किल्ला नुवाकोट दरबार हो र माडी दरबारलाई आरामदायी क्षेत्रका रूपमा उल्लेख गरिएको छ । शिलालेखमा ‘सद्गवक्षदि चित्रम्’ भनेर उल्लेख गरिएका शब्दले उक्त क्षेत्रमा सुगन्धितबाटिका, कुसुमबाटिका, सेरा बगैंचा, हिती (धारा) आदि रहेको संकेत गर्छ ।
राजा पृथ्वीनारायण शाहको जीवनको अन्तिम समय त्यही माडी दरबारमा बित्यो । राजा राजेन्द्रविक्रम १८७३ देखि १९०४ सम्म त्यहाँ बसेका थिए । वि.सं १९०३ मा माडी दरबार भत्किएको आधिकारिक तथ्य पाइन्छ । यसपछि राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले ‘दुर्गारत्न’ नुवाकोट साततले दरबारको जीर्णोद्धार गर्नाका साथै सेराको माडी दरबारलाई आधुनिक पुनर्जन्म पनि दिए । श्री ३ जुद्धशमशेरले बनाएको त्यही दरबार नै ‘सेरा दरबार’ हो ।
एक अध्ययनअनुसार तादी (सूर्यमती) नदी किनार लिच्छविकालमा नै ओगटेको क्षेत्र हो । सेरा दरबार नजिकैको दोलखादेवी पूर्वको धामीचौर र अहिले नारायणदेवी माध्यमिक विद्यालय चौरमा संवत् ४८५ को शिलालेख, इस्वी संवत् ७६४ को शिलालेख, सेरा दरबारमा रहेको पृथ्वीनारायणको १८२२ को शिलालेख प्रमाणका रूपमा रहेको छ । मल्लकालमा त्यहाँ राजभवन थियो भने पृथ्वीनारायणले १८२२ मा यहाँ दरबार बनाउन लगाएका थिए । राजा सधैंँ युद्धमा व्यस्त हुने भएकाले यो दरबार बनाउने जिम्मा युवराज प्रतापसिंहलाई दिइएको थियो ।
नेपाल–तिब्बत युद्धमा बहादुर शाहले सेरा दरबारमा रहेर युद्ध मोर्चा सम्हालेको तथ्यबारे बेलायती कम्पनी सरकारका प्रतिनिधि कर्नल कर्क प्याट्रिकले एकाउन्ट अफ द किङडम अफ नेपाल, १८११ (पृष्ठ ११६–१७) मा लेखेका छन् । विसं १८३३ मा नुवाकोट भैरवीका धामी नानदेवलाई प्रतापसिंह शाहले लेखेको पत्रमा दरबारमा खरको छाना रहेको उल्लेख छ । राणाकालका पछिल्ला लिखत प्रमाणमा राणा प्रधानमन्त्री चन्द्रशमशेर (१९५८–१९८६) को भन्सार अड्डा रहेको र भोटबाट आएका मालसमान र मधेसतिरका व्यापारीको जमघट हुने उल्लेख छ । माडी दरबारको जग २५ मिटर लामो, २० मिटर चौडाइ र १.५ मिटर मोटो थियो । त्यहाँ पर्खाल, ढोका, इनार, देवस्थल, बन्दीखाना, कमलपोखरी, रङ्ग बैठक र अन्य भग्नावशेष भेटिएको थियो । अहिले यहाँ प्राचीन पक्षको अध्ययन भइरहेको छ । अध्ययनावलोकनका क्रममा फेला परेका सामग्रीमध्ये केही लिच्छविकालीन ढुंगाका प्रस्तरमूर्ति पनि फेला परेका छन् ।
राणाको पतनपछि देशमा राजपरिवारको हालिमुहाली चल्यो । दरबारको शक्तिका आडमा शाहपरिवारले सो भूमिमा राज गर्यो । पञ्चायती भूमिसुधारलाई अवरूद्ध गर्दै राजा महेन्द्रका जेठा दाजु वसुन्धरा र हेलेन शाहले सो जग्गालाई गौरीशंकर फार्मिङका नाममा लगे । नापीपूर्व सो ऐलानी बगैँचा पोखरी थियो । विसं २०३६ को नापीले सो जग्गा शाहका नाममा दर्ता गरिदिएको हो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएको छ । नेपालमा भएको बृहत् शान्ति सम्झौता २०६३ मा राजपरिवार र राजदरबारको सम्पत्ति नेपाल ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।
नेपालको संविधानबमोजिम प्रतिनिधिसभाले नेपाल ट्रस्ट ऐन, २०६४ जारी गरी सम्बन्धित काम अगाडि बढाएको छ । राजा स्वयंले छाडेको नारायणहिटी राजदरबार सङ्ग्रहालय बनिसकेको छ तर सत्ता र पैसाका आडमा पृथ्वीनारायणको माडी दरबारको सम्पत्ति किन्न, बेचबिखन गर्न र व्यक्तिले कब्जा गर्न कसरी पाइन्छ भन्ने स्थानीयको भनाइ छ । नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले प्राचीन क्षेत्रको संरक्षणको व्यवस्था गरेको छ । ऐनअनुसार माडी दरबार क्षेत्रको उत्खनन र संरक्षणका लागि पहल आवश्यक छ । अब यो सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवाज जिल्लामा उठिरहेको छ ।
नेपाली शब्दकोशानुसार सेरा भनेको ठूलो खेत वा राजा आफैंले खेती गरेको खेतलाई बुझाउँछ । नदीका किनारमा रहेको एउटा फरक ठाउँलाई माडी भन्ने गरिन्छ । त्यसैले यसबेला राजाको दरबार माडी दरबार र राणाले बनाएको दरबार सेरा दरबार हो ।