Logo

तिलिचो आधार शिविरमा होटलको क्षमताभन्दा धेरै पर्यटक

मनाङ– विश्वकै सर्वाधिक उचाइमा रहेको मनाङस्थित तिलिचो ताल आधार शिविरमा होटलको क्षमताभन्दा धेरै पर्यटक पुगेका छन् । आधार शिविरमा रहेका सीमित होटलको क्षमताभन्दा बढी पर्यटक भएपछि बास व्यवस्थापनमा कठिनाइ भएको छ ।

गन्तव्य तिलिचो ताल बनाएर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएसँगै आधार शिविरमा बास व्यवस्थापनमा कठिनाइ भएको हो । केही वर्षअघिसम्म जम्मा तीनवटा होटल रहेको तिलिचो आधार शिविरमा पछिल्लो समय दोब्बर व्यवस्थित होटल बनिसकेका छन् । होटल क्षमता बढेसँगै पर्यटकीय सिजनमा पर्यटकको संख्या पनि अधिक हुँदा अझै पनि बास व्यवस्थापनमा समस्या भएको स्थानीय व्यवसायीले बताएका छन् ।

चाडपर्व बिदाको समयमा अधिकांश आन्तरिक पर्यटक तिलिचो पुग्ने गरेका छन् । पछिल्लो वर्षमा तिलिचो गन्तव्य बनाएर आउने पर्यटकको संख्या बढेसँगै स्थानीय व्यवसायीले होटल क्षमता पनि बढाएका हुन् ।

विदेशी पर्यटक प्राय: गासबासको पूर्व तयारी एवं होटल बुकिङ गरेर मात्रै गन्तव्यमा पुग्ने तर आन्तरिक पर्यटक विना तयारी गन्तव्य पुग्ने गर्दा व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । अधिकांश आन्तरिक पर्यटक मनाङको खाङसारसम्म सवारी साधनमा पुगेर दोस्रो दिन तिलिचो आधार शिविरमा पुग्ने गर्दछन् ।

पर्यटकीय सिजनका बेला पूर्वतयारी तथा सम्पर्क नगरी तिलिचो पुग्ने पर्यटकलाई स्थानीय व्यवसायीले किचन तथा डाइनिङ हलमा समेत सुत्ने व्यवस्था गर्दै आएका छन् । हाल विदेशीभन्दा तिलिचो ताल पुग्ने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेव्रुअरीदेखि अप्रिलसम्म पदयात्राको पिक सिजनको रूपमा लिइन्छ । पछिल्ला वर्षमा पर्यटकको उत्साहजनक आगमन भएसँगै स्थानीय व्यवसायीमा पनि आशा जागेको छ । विदेशीसँगै स्वदेशी पर्यटकको आगमनले लमजुङसहित मनाङको पर्यटन क्षेत्र चलायमान हुने गरेको छ ।

लमजुङ सदरमुकाम बेसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । संसारकै सबैभन्दा उचाइमा रहेको मनाङस्थित तिलिचो तालसम्म पुग्ने पर्यटकहरू पनि अन्नपूर्ण पदमार्ग भएर आउने गरेका छन् ।

पछिल्लो वर्षमा तिलिचो तालसम्म बाह्यभन्दा आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने पर्यटक पनि तिलिचोसम्म पुग्ने गर्दछन् । यात्रा कष्टकर भए पनि मनोरम हिमाली दृष्यसँगै विश्वकै सर्वाधिक उचाइमा रहेको तालसम्म पुगेपछि साहसिक विजयीको रूपमा पनि पर्यटकले लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्